स्वावलम्बन विकास केन्द्र

डिजिटल साक्षरता मार्फत महिला उद्यमी सदस्यलाई सशक्तिकरण

विश्व बजारमा पछिल्लो समय डिजिटल साक्षरता आवश्यकता र महत्व दिनदिनै बड्दो छ । विक्रेता र उपभोक्ता दुबै पक्षको लागि डिजिटल संसारमा धेरै थरी विकल्प र सम्भावनाहरु पनि छन् । साथै लघुउद्यमी देखि ठूला औद्योगिक घराना तथा विपन्न देखि सम्पन्न उपभोक्तहरु पनि डिजिटल बजारको पहुँचमा छन् । जस कारण डिजिटल संसार हरेक मानिसको जीवनको अभिन्न हिस्सा बनेको छ ।
पछिल्लो समय स्वावलम्बन विकास केन्द्रले लघुवित्तका महिला उद्यमी सदस्यलाई अनलाईन बजारका सम्भावनाहरु सँग जोडेर उनीहरुको व्यावसायिक उन्नती र आर्थिक सामाजिक रुपमा सशक्तिकरण गर्न सघाइ रहेको छ । हाल सम्म करिब ६० जना लघुवित्तका सदस्यलाई डिजिटल साक्षरता तालिम मार्फत अनलाईन बजारमा व्यावसायिक सम्भावनाहरु उजागर गर्न तालिम कार्यक्रम सञ्चालन गरेको छ ।

यसै सन्दर्भमा पछिल्लो समय झापा जिल्लाको चारपानेमा रहेको सहारा नेपाल साकोसका ३९ जना लघुवित्त सदस्यहरु डिजिटल साक्षरता तालिमबाट लाभान्वित भएका छन् ।
तालिमको उद्देश्य लघुउद्यमीहरुलाई अनलाईन बजारका व्यावहारिक ज्ञान र सीपहरू बारे जानकारी गराई उनीहरुको व्यवसाय प्रवद्र्धनमा सघाउने रहेको छ । २०८१ साउन ३१ देखि भाद्र १ सम्म सञ्चालन भएको तीन दिने तालिममा डिजिटल उपकरणहरूको सुरक्षित र प्रभावकारी प्रयोग, सदस्यहरुलाई अनलाईन तथा डिजिटल बजारमा उपस्थिती, अनलाईन व्यवसाय सञ्चालन, अनलाईन व्यवसाय व्यवस्थापन तथा प्रवद्र्धनका लागि प्रचलित र प्रभावकारी डिजिटल माध्यमहरूको प्रयोग, विभिन्न प्रचलित सामाजिक सञ्जालमार्फत धेरै भन्दा धेरै ग्राहकहरू सम्म पुग्ने उपाय, अनलाईन वित्तीय कारोवारबारको फाइदा तथा जोखिम आदि विषयहरु समेटिएका थिए । यसको साथै तालिममा सहभागिहरुलाई इमेल तथा युटुव, फेसबुक लगायतका अनलाईन माध्यम प्रयोगको लागि खाता सिर्जना गर्न अभ्यास गराइएको थियो । 
तालिमको सहजिकरण स्वावलम्बन विकास केन्द्रका तालिम विभागका विज्ञहरु, निर्देशक सतिश श्रेष्ठ, बरिष्ठ अधिकृत रेणु प्रजापति एवं बरिष्ठ सहायक सरु मगर र माइक्रोसेभ कन्सल्टिङ सिंगापुरका सहायक व्यवस्थापक अंकुर श्रेष्ठले गर्नु भएको थियो ।

तालिम सत्रहरुमा प्रशिक्षण समाग्रीको रुपमा सैद्धान्तिक अवधारणाको साथै, भिडियो क्लिप, छलफल र धेरै जसो अभ्यासहरु समाबेश गरिएको थियो । तालिमको महत्वपूर्ण सत्रको रुपमा निर्देशक सतिश श्रेष्ठले डिजिटल साक्षरताको अवधारणा वारे जानकारी गराउँदै वर्तमान परिवेशमा अनलाईन माध्यमबाट व्यवसाय गर्नको लागि डिजिटल साक्षरताको भूमिकाबारे प्रकाश पार्नु भएको थियो ।

तालिममा सहारा नेपाल साकोसका सदस्य तथा ‟पवित्रा गार्डेनˮ नामक लोकपृय युटुव च्यानलका सञ्चालक पवित्रा क्षेत्रीले आफ्नो अनलाईन व्यवसाय अनुभव प्रस्तुत गर्नु भएको थियो । नर्सरि व्यवसायमा संलग्न क्षेत्रीले युटुव च्यानलमा व्यवसाय प्रवद्र्धन गर्दै आउनु भएको छ । उहाँलको च्यानलमा ६५ हजार दर्शक रहेका छन । नर्सरी विक्रि वाहेक युटुव च्यानलवाट मात्रै उहाँले मासिक २५ देखि ४५ हजार रुपैयाँ सम्म आम्दानी गर्दै आउनु भएको छ ।
तालिमको अर्को सत्रमा रेणु प्रजापतिले सहभागीहरुलाई उत्पादनको प्याकेजिङका नमुना देखाउँदै राम्रो र आकर्षक प्याकेजिङले उत्पादनको गुणस्तर, पहिचान र ब्राण्ड निर्माणमा कसरी सघाउछ भन्ने विषय समेटनु भएको थियो ।
माइक्रोसेभका अंकुर श्रेष्ठले डिजिटल लेनदेन सम्बन्धी जोखिम र सुरक्षाका उपायवारे जानकारी गराउनु भएको थियो भने सरु मगरले अनलाईन व्यवसाय प्रवद्र्धन र अनलाईन कारोबार सम्बन्धी विषयहरु समेटनु भएको थियो ।
तालिमको अवसरमा सहभागीहरूलाई नेपालको सबै भन्दा ठूलो अनलाईन बजार (ई–कमर्स एजेन्सी) दराजमा आफ्नो व्यवसाय दर्ता गर्न तथा अनलाईन बजारका लागि आफ्ना उत्पादनको उच्च गुणस्तरको फोटो खिच्न सिकाउने जस्ता व्यावहारिक अभ्यासहरू पनि गराइएको थियो । यसको साथै तालिमले उपभोक्तालाई आकर्षित गर्न ब्रान्डिङ र प्याकेजिङलाई कसरी प्रभावकारी बनाउने भन्ने उपायहरु पनि समेटेको थियो ।
केन्द्रका निर्देशक सतीश श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन सत्रमा सहारा नेपाल साकोसका प्रमुख पदाधिकारीहरू, कोषाध्यक्ष डम्बरबहादुर देउजा, बोर्ड सदस्यहरू, भोला धिताल र पार्वता गिरी भारती र निर्देशक लक्ष्मण खतिवडाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले तालिममा प्रशिक्षणको व्यावहारिक अभ्यासको पक्ष राम्रो हूँदा तालिम निकै फलदायी र उपलब्धिपूर्ण रहेको उल्लेख गर्दै आफ्नो उत्पादन तथा व्यवसाय प्रवद्र्धनको लागि डिजिटल माध्यमको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा निर्देशक श्रेष्ठले सहभागिहरुको उत्साहजनक सहभागीताको प्रसंशा गर्दै व्यवसाय लगायत दैनिक जीवनमा डिजिटल माध्यमको निरन्तर प्रयोगमा जोड दिनुभयो । सो अवसरमा सहारा साकोसका कोषाध्यक्ष डम्बरबहादुर देउजाले सदस्यहरुलाई डिजिटल साक्षरता मार्फत क्षमता विकास गर्ने केन्द्रको अभियानको प्रशंसा गर्दै भविष्यका दिनमा आफ्नो संस्थाले पनि  डिजिटल साक्षरताको पहललाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वावलम्बन विकास केन्द्रले डिजिटल साक्षरता तालिमलाई हाल मानिसको लागि अपरिहार्य भै सकेको डिजिटल संसारमा उपलब्ध अवसरहरु प्राप्त गर्न लघुउद्यमी सदस्यलाई आवश्यक पर्ने सीप सहित सशक्तिकरण गर्ने महत्वपूर्ण खुड्किलोका रुपमा लिएको छ ।

समाचार