स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा गरीबी मापन सूचकांक विधि प्रयोग गर्न प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

स्वावलम्बन विकास केन्द्रले लघुवित्तमा गरीबी मापन विधि (प्रोग्रेस आउट अफ पोभर्टी इन्डेक्स, पीपीआई) विधि प्रयोग गरी लघुवित्तका सदस्यको जीवनस्तर सर्वेक्षण गर्ने काममा सहजीकरण गर्नको लागि २०७९ माघ ३ देखि ५ सम्म तीन दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । यो कार्यक्रमबाट ११ वटा लघुवित्त संस्थाका २३ वटा शाखाका प्रबन्धकहरू दीक्षित भएका छन् ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको समन्वयमा विराटनगरमा सम्पन्न यस कार्यक्रमको उद्देश्य लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूलाई गरीबी मापन सूचकांक विधि (पीपीआई)को महत्वबारे परिचित गराउनुको साथै पीपीआई ढाँचाको प्रयोग तथा विभिन्न मापदण्डहरूको आधारमा सदस्यहरूको जीवनस्तर मापन गर्ने तरिकाहरू बारे जानकारी गराउनु भएको थियो ।

गरीबी मापन सूचकांक (पीपीआई) विधि गरीबीको स्तर पहिचान गर्न प्रयोगमा आएको एक अन्तर्राष्ट्रिय स्तरको सहज र सरल विधि हो । यसले समग्र मानिसको गरीबीको अवस्था कस्तो छ भन्ने कुरा थाहा हुनुको साथै गरीबी निवारण गर्न सकिने सम्भावनाहरू बारे पनि अनुमान गर्दछ । साथै यसले सरकार तथा सामाजिक रूपमा सम्बद्ध संस्थाहरूलाई गरिबीको रेखामुनि रहेका मानिसहरूलाई सहयोग गर्ने रणनीति र कार्यक्रम तयार गर्न पनि मद्दत गर्छ ।
यस तालिममा सिकाईको लागि सहभागीहरूको अनुभव आदान प्रदान, समूह छलफल, कक्षा शिक्षण तथा फिल्ड अभ्यास जस्ता सिकाई विधिहरु अपनाइएका थिए । जसबाट सहभागीहरु पीपीआईको उद्देश्य, विशेषताहरू, यसको विकासक्रम र कार्यान्वयनबारे बुझ्न सक्षम भएका थिए । साथै उनीहरुले यो विधिको प्रयोग कसरी गर्ने भन्ने बारे तथ्यांक संकलन तथा विश्लेषणका तरिकाहरू पनि अभ्यास गर्नु भएको थियो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डल, मानव श्रोत विभाग प्रमुख सुदीप कुमार मण्डल र सूचना प्रविधि विभाग प्रमुख  रमेश रायले सहजीकरण गर्नु भएको थियो ।

तालिम कार्यक्रमको उद्घाटन समारोहमा स्वावलम्बन विकास केन्द्रको तर्फबाट बरिष्ठ अधिकृत रेणु प्रजापतिले सबै सहभागीहरूलाई स्वागत गर्दै तालिमको महत्व र यसको प्रकृयाबारे जानकारी गराउनु भयो । उक्त अवसरमा उहाँले स्वावलम्बन विकास केन्द्रले आफ्ना सदस्य र गैर सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्न छाता संस्थाको रूपमा आफ्नो भूमिका खेलिरहेको पनि उल्लेख गर्नु भयो । साथै उहाँले सहभागीहरूलाई तालिमको अवसर सदुपयोग गर्दै आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन आग्रह गर्नु भयो ।
तालिमका सहजकर्ता मध्येका एक सुदीप कुमार मण्डलले पीपीआईको महत्वबारे जानकारी दिनुको साथै तालिमबाट सिकेको सिकाईलाई आ–आफ्नो संस्थामा लागू गर्न सहभागीहरूलाई प्रोत्साहन गर्नुभयो ।
तालिमको सिकाईलाई थप प्रभावकारी बनाउन जीवन विकास लघुवित्त वित्तीय संस्थाको विराटनगर स्थित रानी शाखामा पुगेर सदस्यहरुको घरपरिवार तथा उद्यमहरुको स्थलगत भ्रमण गरी तथ्यांक संकलन गरेका थिए । सहभागीहरूलाई पीपीआई ढाँचा अनुसार तथ्यांक संकलन गर्न चार समूहमा विभाजन गरिएको थियो । सहभागीहरूले पीपीआई प्रतिवेदन तयारीको लागि एक्सेल मार्फत आफूले संकलन गरेका तथ्याङ्कको प्रशोधन र विश्लेषण गर्नु भएको थियो । यसको सहजीकरण तथा प्रतिवेदनको प्रमाणीकरण सुदीप कुमार मण्डलले गर्नु भएको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलको अध्यक्षतामा सम्पन्न समापन सत्रमा उहाँले तालिममा सिकेको सीप र ज्ञानलाई आफ्नो संस्थामा प्रयोग गर्न सहभागी सबैलाई अनुरोध गर्नु भयो ।
सहभागीहरूले गरीबी मापन सूचकांक विधिको प्रयोग नेपालको लघुवित्तमा अपरिहार्य भएको बताउँदै तालिमको क्रममा सिकेको सीप र तालिमको अनुभवलाई आ–आफ्नो संस्थामा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समाचार

सुचना