स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्र ३२औँ बर्षमा प्रवेश

वित्तीय पहुँचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरीबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्र ३२औँ बर्षमा प्रवेश गरेको छ ।

विगत ३१ बर्षको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः विपन्न महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना संचालन गरेर कामको सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुर जिल्लामा स्वावलम्बन बैकीङ कार्यक्रम सुरुवात गरेकोे थियो । विपन्न र पिछडिएका महिलाहरुमा वित्तीय पहुच पुर्याउने लक्षका साथ परीक्षणको रुपमा सुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा सुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम विक्रम संवत २०५८मा ८ जिल्लाका ३५ हजार भन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.) प्रवद्र्धन गरी कर्जा संग सम्वन्धित सम्पति दायित्व एवं जनशक्ति हस्तान्तरण गरियो । यसको करिब एक दशक पछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा जनशक्ति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो । स्वावलम्बन विकास केन्द्र नेपालमा आत्मनिर्भर समूह गठन गरी लघुवित्त सुरु गर्ने पहिलो संस्था हो । केन्द्रको पहलमा वि.सं.२०४९ सालमा जुम्लामा ६१ वटा आत्मनिर्भर समूह गठन भएका थिए । त्यस पछि ओखलढुङ्गा, कालिकोट, दाङ र सल्यान जिल्लामा पनि कार्यक्रम विस्तार गरिएको थियो ।

लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरे पछि केन्द्रले आफ्नो कार्यदिशा परिवर्तन गरेको छ । यसले लघुवित्त संस्थाहरुमा स्वच्छ लघुवित्त प्रवद्र्धन र शुद्धिकरणको लागि सक्षम र सकारात्मक जनशक्ति निर्माणमा लागेको छ । यस उद्देश्यले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने ‛घ’ वर्गका लघुवित्त संस्था र सहकारी संस्थाहरुका पदाधिकारी र कर्मचारीहरुको दक्षता र सीप अभिबृद्धि गर्न तालिम,  सभा, गोष्ठि, सम्मेलन एवं स्वदेश तथा विदेशमा रहेका सफल लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रमको संयोजन तथा आयोजना गर्ने गरेको छ । यस्तै लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा लघुवित्त तथा सहकारीमा संलग्न सदस्यहरुको सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम सञ्चालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी आफ्नो संजालमा व्यापकता दिदै आएको छ । हाल केन्द्रका संस्थापक सदस्य सहित १२ जना व्यक्ति सदस्य तथा देशभरी गरी ४५ वटा संस्थाहरु सदस्यको रुपमा आवद्ध छन् ।

लघुवित्त तथा सहकारी संस्थाहरु संगको सहकार्यमा केन्द्रले ‘स्वच्छ लघुवित्त निर्माणको अभियान, घरघरमा उद्यम फैलाउने अभियान, साथै स्वरोजगार सृजना गर्ने जस्ता अभियानहरु चलाउदै आएको छ । केन्द्रले आफ्नो कार्यक्रमलाई अझ जनमुखी बनाउने क्रममा सदस्य संस्थाहरु मार्फत लघुवित्त सेवाग्राही सदस्यका छोरा–छोरीहरु तथा विदेशवाट फर्केका युवा–युवतीहरुलाई स्देशमानै स्वरोजगारी दिने, स्वउद्यमी बन्ने अवसर तथा पूँजी उपलब्ध गराउने अभियान थालनी पनि गरेको छ ।

पछिल्लो समय केन्द्रले गरीवी र वेरोजगारी संगै वातावरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ । यसकोलागि लघुवित्त तथा सहकारी संस्थाहरु, विभिन्न स्कुल, कलेजहरु एवं ग्रामीण प्रविधि सम्वन्धि संस्थाहरु संगको सहकार्यमा तीन शुन्य क्लबको गठन तथा प्रवद्र्धन गर्ने, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास गर्ने, विद्यालय स्तरमा वातावरणीय शिक्षा प्रदान गर्ने जस्ता कार्यको थालनी गरेको छ । साथै बंगलादेशको यूनुस सेन्टर संगको सहकार्यमा नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धनको लागि जनवकालत तथा पैरवी गर्दै आएको छ । साथै वर्तमान सभ्यताको कारण मानवजाती सामु र समग्र पृथ्वीमा गरीबी, बेरोजगारी, अत्याधिक कार्बन उत्सर्जन जस्ता समस्याहरू सृजना भएको र यसको समाधानका लागि मुख्यतया शुन्य खुद कार्वन उत्सर्जन, शुन्य गरीबी र शुन्य वेराजगारीमा आधारित अर्थतन्त्रमा केन्द्रित हुनुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने कामको थालनी गरेको छ । यसको मुख्य ध्येय भनेको सामाजिक व्यवसायको विकास र प्रवद्र्धन गरी सामाजिक पुनर्संरचनाका अवसरहरू विस्तार गर्ने र समाजमा हाल विद्यमान समस्याहरूको उचित, व्यावहारिक र दीर्घकालीन समाधान खोज्ने हो ।

केन्द्रले आउँदा दिनमा पनि गरीबी, बेरोजगारी मुक्त समाज निर्माणमा सम्वन्धितलाई सजग सचेत गराई सकारात्मक वातावरण निर्माणमा क्रियाशील रहने दृढता व्यक्त गर्दछ ।

 

समाचार

सुचना