स्वावलम्बन विकास केन्द्र

लघुवित्तले गरीब तथा बेरोजगारलाई स्वदेश मै स्वउद्यमी बनाउने वेला भयो

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त तथा सहकारी संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रका गरिब तथा विपन्न समुदायको खोजी गरी उनीहरुलाई स्वरोजगार तथा उद्यमी वनाउन सुझाव दिएका छन् । अझै पनि समाजमा अति विपन्न ब्यक्तिहरु रहेको हुंदा उनीहरुको खोजी गरी स्वउद्यमी तथा  आत्मनिर्भर वनाउन आवश्यक रहेको र यो क्षमता लघुवित्त संस्थाहरु संग रहेको उनको धारणा थियो । श्रेष्ठले लघुवित्त तथा सहकारी संस्थाले अव मुनाफा भन्दा पनि उद्यमशीलतालाई प्रवद्र्धन गर्नु पर्ने वताएका छन् ।

कोरोना भाइरस महामारी र लकडाउनको कारण लघुवित्त क्षेत्रमा उत्पन्न समस्या र सिकाईबारे छलफल गरी आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले २०७७ भदौ २ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक, उच्च व्यवस्थापन तथा शाखा प्रवन्धकहरुको सहभागिता रहेको वेविनार छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवसरमा श्रेष्ठले कोरोना महामारी र लकडाउन पछि शाखा, सदस्य र सदस्यको पेशा एवं व्यवसायमा परेको प्रभावको विस्तृत विवरण तयार गरी आगामी कार्यदिशा तय गर्न पनि सुझाव दिएका छन् । सदस्य र उनीहरुको व्यवसायको सुरक्षा गर्न सके लघुवित्त र सहकारी संस्थाहरु स्वतः सुरक्षीत हुने श्रेष्ठको भनाइ थियो । रणनीति वनाउनु अघि प्रत्येक शाखा मार्फत आफ्ना सदस्यहरुको वर्गीकरण गर्न तथा विदेश र शहरवाट गाउँ फर्केका युवाहरुको विवरण संकलन गरी तिनलाई आत्मनिर्भर र स्वरोजगार वनाउने उपाय खोज्न पनि सुझाएका छन् ।

अहिलेको अवस्थामा आफ्ना सदस्य र उनीहरुको व्यवसायको सुरक्षा गर्नु लघुवित्त संस्थाहरुको प्रमुख जिम्वेवारी भएको वताउदै श्रेष्ठले सदस्यहरुको मनोवल तथा आत्मविश्वास वढाउने काम गर्न भनेका छन् । यसै गरी व्यवसाय नराम्ररी प्रभावित भएर ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका सदस्यहरुलाई कुनै प्रकारको त्रास र दवाव नदिन र त्यस्ता सदस्यहरुको कर्जाको भुक्तानी अवधि ६ महिना सम्मकोलागि पुनर्तालिकीकरण गर्नु पर्ने उनको सुझाव थियो ।
छलफलमा किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्था पूर्ण रुपमा आत्मनिर्भर हुन लागेको र अव मुनाफा आर्जन भन्दा पनि गरिबी निवारण र उद्यमशीलता विकासमा जोड दिने धारणा राख्नु भएको छ । यसको लागि स्वावलम्बन विकास केन्द्रको साथ सहयोग तथा सहकार्य महत्वपूर्ण हुने उनको विचार थियो । साथै शाहले यसअघि पनि संस्थाले थुपै्र अवरोध भोगेको र कोरोना महामारीवाट सहजै मुक्ति भएर नयाँ ढंगले अगाडी वढ्ने जानकारी गराए ।

छलफलमा किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक सरोज कुमार शाहले कोरोना महामारी र लकडाउन पछि संस्थाले नया लगानी नगरेकोे, तरलता वढ्ेकोे, मुनाफा घट्ेको, खराव कर्जा बढ्ेको लगायत समस्या देखिएको वताएका थिए । यसका साथै सरकारवाट लघुवित्त तथा सहकारी क्षेत्रमा अहिलेको कठिन अवस्थामा सहयोग हुन नसकेको गुनासो गर्नु भयो ।
उहाँले आर्थिक कृयाकलाप ठप्प भएको वर्तमान अवस्थामा आन्तरिक लगानीलाई वढाउने तथा वाह्य ऋण घटाउने नीति लिएर अगाडी वढ्नु पर्ने धारणा राख्नु भयो । संस्थागत रुपमा राहत प्याकेजलाई अगाडी वढाएर सदस्यहरुका आर्थिक कृयाकलाप चलायमान वनाउनु पर्ने शाहको भनाइ थियो ।

उक्त वेविनार कार्यक्रममा वोल्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेडका महाप्रवन्धक डम्वर बहादुर शाहले लघुवित्त तथा सहकारीको साख गिर्न नदिने प्रतिवद्धता जनाउनु भएको छ । वहाँले आफ्नो कार्यक्षेत्रमा रहेका विपन्न समुदायको जिवनस्तर माथि उकास्ने गरी विभिन्न कार्यक्रम ल्याउने धारणा राख्नु भयो । शाहले महामारी र लकडाउनको संकटवाट जोगिन संस्थाले नयाँ कार्यशैली अपनाएको जानकारी गराउनु भयो । सदस्यहरुको व्यवसायको सुरक्षा गर्न विभिन्न किसिमका राहत प्याकेज ल्याएको जानकारी उहाँको दिनु भएको थियो । कर्मचारीको सुरक्षा गर्न तथा सेवालाई प्रभावकारी वनाउन संस्थाको अधिकांश कामहरु डिजिटल प्रविधिको माध्यमवाट गर्न थालिएको छ । शाहले हाल दैनिक रु ५ देखि ६ लाखको कारोवार डिजिटल माध्यमवाटै हुन थालेको जानकारी पनि गराउनु भयो ।

छलफलको पहिलो सत्रमा लकडाउन अवधिमा शाखाहरुबाट भए गरेका कामको विवरण, सदस्य र कर्मचारी तहमा देखा परेका चुनौतिहरु लगायत शाखाहरुको समग्र प्रशासनिक तथा वित्तीय अवस्था वारे शाखा प्रमुखहरुले प्रस्तुति दिएका थिए । प्रस्तुतीका क्रममा शाखा प्रवन्धकहरुले लकडाउनको अवधिमा पनि शाखाहरुको असुली राम्रो भएको, धेरै जसो सदस्यका व्यवसायहरु ठप्प भएको, तरलता बढेको, लगानी घटेको, भाका नाघेको कर्जा वढेको जस्ता तथ्य प्रस्तुत गरेका थिए । कोरोना संक्रमण अनिश्चित भएर त्रासको वातावरण भएको हुंदा सदस्यहरुको आत्मविश्वास घटेको र थप योजना वनाउन अन्यौल सिर्जना भएको कुरा आएका थिए ।
स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले सहभागीहरुको स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । उक्त वेविनार छलफलमा केन्द्रका निर्देशक सतिस कुमार श्रेष्ठ, अधिकृत रेणु प्रजापति, चन्द्रकान्त पण्डित र सहायक टसि ल्हामु शेर्पाको पनि सहभागिता रहेको थियो ।

समाचार

सुचना