स्वावलम्बन विकास केन्द्र

सिद्धान्तमा आधारित सदस्यमा केन्द्रित लघुवित्तको अभ्यास गर्दै बंगलादेश

लघुवित्तको मक्काको रुपमा चिनिने बंगलादेश करीब चार दशक पछि पनि लघुवित्तको मर्म, भावना र सिद्धान्तमा अडिग छ । यहाँका अधिकांस लघुवित्त संस्थाहरू गरीव तथा विपन्नबर्गको उत्थानमा प्रभावकारी ढंगले काम गर्न र उल्लेख्य मात्रामा सकारात्मक परिणामहरू हासिल गर्न सफल भएका छन् ।

स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्तकर्मीहरूको लागि आयोजना गरेको बंगलादेशका लघुवित्त संस्थाहरूको अध्ययन अवलोकन भ्रमणका सहभागीहरुले यस्तै निष्कर्ष निकालेका छन् । नेपालमा लघुवित्त कार्यक्रम ऋण प्रवाह र बचत संकलनमा सिमित रहेको तर बंगलादेशमा लघुवित्तहरूले आफ्ना सदस्यहरूको समग्र उन्नति र कल्याणमा ध्यान केन्द्रित गरिरहेको भ्रमण टोलीमा सहभागी सदस्यहरुको अनुभव छ । बंगलादेशका लघुवित्त संस्थाहरू अनुशासित रहेको र ऋण प्रवाह तथा अन्य सेवा प्रदान गर्दा लघुवित्तको लक्षित गरीब र विपन्न बर्गलाई दिने गरेका छन् । उनीहरूले कर्जा सुविधा सहित सदस्यको उत्पादन बढाउने, उत्पादनको उचित बजारीकरण र बजार विस्तारमा समेत सघाउने एवं उत्पादनको मूल्य श्रृंखलामा सहयोग गर्दै आएका छन् । साथै सदस्यहरुको स्वास्थ्य, शिक्षा, युवा तथा वयोबृद्धमैत्री कार्यक्रम, सरसफाई, वातावरण संरक्षण लगायत सामुदायिक विकासका काममा पनि जोड दिएका छन् । मुख्य कुरा बंगलादेशका लघुवित्त संस्थाहरूले लघुवित्तको आधारभूत सिद्धान्त र मर्म कडाईका साथ स्वपालना गरी रहेका छन् । संस्थाले गरेको नाफाबाट संस्थाको पूँजी बृद्धिमा जोड दिएका छन् । संस्थापकलाई लाभांश बाँड्नुको सट्टा माथिदेखि तल सम्मका सबै कर्मचारी, ग्राहक सदस्य र संस्थाको हितका लागि प्रतिवद्ध रहेको टोलीका सदस्यहरुको सिकाई छ ।

स्वावलम्बन विकास केन्द्रले नेपालका विभिन्न लघुवित्त संस्थाहरू र लघुवित्त गर्ने सहकारी संस्थाहरूका लागि पछिल्लो ६ महिनामा ५ वटा अध्ययन अवलोकन भ्रमणहरू आयोजना गरेको थियो । जसमा विभिन्न संस्थाका करीब ६०जना लघुवित्तकर्मीहरूले बंगलादेशका प्रमुख लघुवित्त संस्थाहरूको अध्ययन अवलोकन गरेका हुन् । इन्टीगे्रटेड डेभलपमेन्ट फाउन्डेशन (आईडीएफ), बंगलादेशसँगको संयोजनमा आयोजित अध्ययन अवलोकन भ्रमणमा सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू, ईलाका र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो ।

लघुवित्तकर्मीहरूलाई लघुवित्त कार्यक्रमका उत्कृष्ट अभ्यासहरू अवलोकन गराई सिक्ने अवसर प्रदान गर्ने र सिकेको उत्कृष्ट अभ्यासहरू नेपाली लघुवित्त क्षेत्रमा लागु गर्र्न प्रेरित गर्ने हेतुले स्वावलम्बन विकास केन्द्रले अध्ययन अवलोकन भम्रणको आयोजना गरेको थियो । आठ दिने भ्रमणको अवसरमा भ्रमणकर्ताहरूलाई बंगलादेशका लघुवित्त संस्थाहरूको कार्यशैली, संस्थागत संयन्त्र, रणनीति र प्रविधिहरूसँग परिचित गराईएको थियो ।

भ्रमण टोलीका सदस्यहरूले ग्रामीण बैंक, इन्टीगे्रटेड डेभलपमेन्ट फाउन्डेशन (आईडीएफ), ब्राक बंगलादेश र बुरो बंगलादेश गरी चारबटा लघुवित्त संस्थाको भ्रमण गर्नुको साथै उक्त संस्थाहरूको कार्यशैली, उपलब्धी र सामना गरीरहेका चुनौतीहरू, प्रगतिका सुचकहरूको बारेमा जानकारी लिएका थिए । भ्रमण टोलीले उक्त संस्थाहरूका केन्द्रिय कार्यालयका साथै, ईलाका तथा शाखा कार्यालय, केन्द्र बैठक, लघुवित्त सदस्यका उद्यम व्यवसाय र अन्य सामाजिक उत्तरदायित्व अन्तरगत गरेका  गतिविधिहरू पनि अवलोकन गरेका थिए । भ्रमणको अवसरमा उनीहरूले लघुवित्तका कर्मचारी, सदस्य र सरोकारवालाहरूसँग पनि अन्तरकृया गरेका थिए ।

टोलीका सदस्यहरुले भ्रमण पछि बंगलादेशमा लघुवित्त सञ्चालन गरेका संस्थाहरुले ग्रामीण पद्दतिको  मुल्यमान्यता र मापदण्डहरू कडाईका साथ अनुशरण गरेको, लघुवित्त संस्थाहरु बीच आफ्ना ग्राहक सदस्यहरूको जीवनस्तर सुधार्नको लागि वित्तीय सेवा संगै गैर वित्तीय सेवाहरू प्रदान गर्न स्वस्थ प्रतिस्पर्धा रहेको, सदस्यको उत्थानको लागि मन बचन र कर्मले काम गर्ने गरेको, सदस्यहरूको आवश्यकता र क्षमताको विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्ने गरेको लगायतका मुख्य सिकाईहरू भएको बताएका छन् ।

भ्रमण टोलीहरूले विश्वकोे सबैभन्दा ठूलो र लघुवित्तकोे अग्रणी संस्था ग्रामीण बैंक भ्रमण गरेका थिए । ग्रामीण बैंकको ९८ लाख ऋणी सदस्यहरू छन् भने ऋण लगानी ३४,५०० मिलियन अमेरिकी डलर (४४ खर्ब ८५ अर्ब रुपैयाँ) छ । ग्रामीण बैंकले आफ्ना सदस्यहरूसँग नजिकमा रहेर काम गर्ने नीति लिएको छ । जसको कारण कर्मचारीहरूले सदस्यहरूसँग भेटघाट र अन्तरकृया गर्न पर्याप्त समयको व्यवस्थापन गर्ने गरेका छन् । ईलाका प्रबन्धकले दैनिकरुपमा एउटा केन्द्र बैठक र दुईवटा ऋणी सदस्यको व्यवसाय हेर्ने गर्छन् भने शाखा प्रवन्धकले पनि दैनिक दुईवटा केन्द्र बैठक र चारवटा सदस्यहरूको उद्यम व्यवसायको अनिवार्य अवलोकन गर्नु पर्ने व्यवस्था छ । यसै गरी हरेक कर्मचारीले प्रत्येक दिन तीनवटा केन्द्र बैठक हेर्ने गर्छन । ग्रामीण बंैकले शाखास्तरमा डिजिटल उपकरणहरू अभ्यासमा ल्याएको छैन् । यसको मुख्य कारण भनेकोे डिजिटल उपकरणहरू सदस्यमैत्री नहुनु र कर्मचारी र सदस्यबीचको दुरी वढाउने जस्ता नकारात्मक असर गरेको ठहर गरेर ग्रामीण बैंकले यसो गरेको हो । ग्रामीण बैंकले अहिले पनि साप्ताहिक केन्द्र बैठक गर्छ । केन्द्रमा एउटा केन्द्र प्रमुख चुनिएको हुन्छ । केन्द्र प्रमुखले आफ्नो केन्द्रका सदस्यहरूको वास्तविक अवस्था बुझेको हुने हुँदा ऋण प्रवाह गर्दा उसको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । ग्रामीण बैंकको यो कार्यशैलीले सदस्य र संस्था दुवै लाभान्वित भएका छन् ।

यसैगरी, ग्रामीण बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, खानेपानी लगायत सर्वाङ्गीण विकासको लागि उत्कृष्ट गैर वित्तीय कार्यक्रमहरू ल्याएको छ । प्रत्येक वर्ष ग्रामीण बैंकका कर्मचारीहरूले सदस्यहरूको घरदैलोमा पुगेर उनीहरूले लिएको ऋणबाट कसरी उन्नति प्रगति गरी रहेका छन् र सरसफाई, शिक्षा र अन्य सामाजिक–आर्थिक अवस्थाहरूममा के कस्तो परिवर्तन आएको छ भन्ने विवरणहरू सङ्कलन गर्छन् । यसरी फिल्डस्तरवाट प्राप्त तथ्याङ्कहरूको विश्लेषण गरी अति गरिबीमा रहेका, गरिबीको रेखामुनि रहेका र गरिबीको रेखाबाट स्तरोन्नति भएको भनी सदस्यलाई पाँचवटा तहमा वर्गीकरण गर्ने र पाँचवटै फरक फरक रंगको स्टीकर उपलब्ध गराउने गरेको छ । साथै सोही अध्ययनको आधारमा आफ्ना वित्तीय र गैर वित्तीय कार्यक्रमहरू ल्याउने तथा परिमार्जन गर्ने गरेको छ ।

ग्रामीण बैंकले आफ्नो कार्यक्रममा घरवार विहीन र सहारा विहीन भिखारी, मगन्तेहरुलाई समेत समेटेको छ । यस्तै शैक्षिक ऋण र छात्रबृति लगायतका लोकप्रिय कार्यक्रमहरू पनि छन् । ग्रामीण बैंकले सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्ययनको लागि वर्षेनी २७ हजार जेहन्दार विदार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । जसमध्ये ५० प्रतिशत सिट महिलाको लागि आरक्षित छन् । त्यस्तै ग्रामीण बैंक संग परिवारका सदस्यको मृत्युमा, प्राकृतिक प्रकोप र गम्भीर स्वास्थ्य समस्याहरूमा सदस्यको भलाईको लागि ग्राहक सुरक्षा योजनाहरू पनि छन् । ग्रामीण बैंकमा ग्राहक सदस्यहरूको ७५ प्रतिशत स्वामित्व र बाँकी २५ प्रतिशत बंगलादेश सरकारको स्वामित्व रहेको छ ।

ग्रामीण बैंकले बंगलादेशको ९९ प्रतिशत समुदायमा आफ्नो सेवा प्रवाह गर्छ । ग्रामीण बैंकको एक आँकडाले आफ्ना शतप्रतिशत सदस्यहरू शिक्षा, सुरक्षित खानेपानी, सरसफाई र पोषणमा पहुँच पु¥याएको देखाएको छ । जवकि यहाँको राष्ट्रिय तथ्यांङ्क अनुसार औषत ९८ प्रतिशत बंगलादेशी नागरिकको मात्रै शिक्षा, सुरक्षित खानेपानी, सरसफाई र पोषणमा पहुँच पुगेको छ । यसै गरी ग्रामीण बैंकले हाल सम्म आफ्ना ९८ लाख सदस्य मध्ये ६८ प्रतिशत सदस्यलाई गरीबीको रेखामुनीवाट माथि उकास्न सफल भएको छ । यस्ता आंकडा हेर्ने हो भने ग्रामीण बैँक आफ्ना सदस्यहरुको सर्वाङ्गिण विकास गर्न मात्रै सफल भएको छैन देशकै मानव विकास सुचकांक सुधारमा समेत ठूलो योगदान गर्न सफल भएको मान्न सकिन्छ ।

भ्रमण टोलीका सदस्यहरूले इन्टीग्रेटेड डेभलपमेन्ट फाउन्डेसन (आईडीएफ)को कार्यशैली पनि अनुशरण योग्य रहेकौ पाएका छन् । आइडीएफले आफ्नो लघुवित्त तथा गैर वित्तीय सेवा प्रवाह गर्न गरीब र सीमान्तकृत समुदायलाई विशेष महत्व दिएको छ । यो संस्थाले शाखास्तरमा कुनै पनि डिजिटल उपकरणहरू अभ्यास नगरी ग्राहक सदस्यको भौतिक भेटघाटलाई प्राथमिकता दिएको छ । आईडीएफले संस्थाको बार्षिक नीति नियम र योजना बनाउनको लागि शाखा स्तरबाट सूचना र अन्य आवश्यक विवरणहरू संकलन गरेर केन्द्रलाई योजना प्रस्ताव गर्ने र शाखाबाट प्रस्ताव गरेका योजनाहरू केन्द्रले छनौट र स्वीकृत गर्ने नीति अंगालेको छ । सदस्यको घर दैलोबाट प्राप्त सूचनाको आधारमा बन्ने हुँदा आईडीएफको योजना र कार्यक्रमहरू दिगो र प्रभावकारी भएका छन् । साथै कर्मचारी र सदस्यहरू विचकोे मित्रबत सम्वन्धको कारण बनेका योजनाको कार्यान्वयन पनि सहज हुने गरेको छ । यही कारण आईडीएफको सदस्य ऋणी अनुपात ८२ प्रतिशतभन्दा माथि छ । त्यसैगरी कर्जाको उपयोग अनुपात पनि राम्रो छ र असुली दर ९९ प्रतिशत भन्दा माथि छ ।

आईडीएफले पनि ग्रामीण बैंक जस्तै भिखारीहरूको जीवनस्तर उकास्न निशुल्क, निब्र्याजी भिखारी कर्जा ९द्यभननबच ीयबल० योजना ल्याएको छ । भिखारी कर्जा सेवा लिएकाहरूले भिख माग्न छाडेर विभिन्न आयआर्जनका काममा संलग्न हुने गरेका छन् । हाल भिखारी कर्जा कार्यक्रम अन्तर्गत २६० जना सक्रिय सदस्य रहेका छन् । जसमा २७ लाख टाका (बंगलादेशी रुपैँया) ऋण लगानी रहेको छ भने बचत रकम ५४ हजार टाका रहेको छ । यो योजनाबाट हालसम्म १३० जना भिखारी सदस्यले भिख माग्न छोडेर लघुउद्यममा संलग्न भएका छन् । साथै उनीहरू अति विपन्न वर्गवाट विपन्न वर्गमा स्तरोन्नति भएका छन् । आइडीएफले आफ्ना सदस्यहरुको विवरण संकलन गरेर अति विपन्न भिखारी, अति गरीब, गरीब र उद्यमी गरी चार किसिमले वर्गीकरण गरेको छ र चारवटै वर्गका लागि फरक–फरक कार्यक्रम लागु गरेको छ ।

आइडीएफको विशिष्ट विशेषता भनेको स्वास्थ्य, शिक्षा, सौर्य ऊर्जा, बीमा, खानेपानी, सरसफाई, ग्राहकहरूको उद्यम र व्यवसाय विकास, बयोबृद्धको लागि मनोरञ्जन, कुलतमा फसेका युवाहरूलाई पुनस्र्थापना लगायत जैविक विविधता संरक्षण जस्ता गैर वित्तीय सेवाहरू हुन । यी कार्यक्रमहरूले सदस्यको जीवनस्तर उकास्नुको साथै संस्थाको ऋण असुली दर लगायत समग्र लघुवित्त कार्यक्रममा सकारात्मक परिणाम दिएको छ । आईडीएफले आफ्ना सदस्यहरू र उनीहरूका परिवारहरूलाई विशेष स्वास्थ्य सेवाहरू उपलब्ध गराउन तीन जना यमवीवीएस डाक्टरहरू नियुक्त गरेको छ भने ७० जना प्यारामेडिक डाक्टरहरू नियुक्त गरेको छ । एक जना प्यारामेडिक डाक्टरले प्रत्येक दिन दुईवटा शाखा भ्रमण गरेर स्वास्थ्य सेवा दिने गरेका छन् । यमवीवीएस र प्यारामेडिक्सका वाहेक सबै ११६ वटा शाखामा स्वास्थ्य कार्यकर्ता नियुक्त गरेको छ । स्वास्थ्य कार्यकर्ताले स्वास्थ्यसम्बन्धी जानकारी सङ्कलन गरी सदस्यहरूलाई स्वास्थ्य शिक्षाबारे सचेत गराउँछन् । आइडीएफले सदस्यका छोराछोरीलाई शिक्षा सेवा पनि प्रदान गर्दै आएको छ । यस्तै  आफ्ना सदस्यहरूले उत्पादन गरेको सामाग्रीहरूको बजार व्यवस्थापनमा पनि सघाउने गरेको छ । दुध उत्पादक सदस्यहरूको उचित मुल्य ब्यवस्थापनको निम्ति त आफ्रनै डेरी स्थापना गरेको छ ।

सहभागीहरुको अनुभवमा बंगलादेशकै अर्को परिचित लघुवित्त संस्था बुरो बंगलादेशले पनि आफ्ना ग्राहकहरूप्रति पूर्णरूपमा प्रतिबद्ध र जिम्मेवार छ । साथै सदस्यमैत्री परियोजना तथा कार्यक्रमहहरू ल्याएर आफ्ना सदस्यहरूको जीवनस्तर उकास्न संवेदनशील रहेको छ । बुरो बंगलादेशले थोरै लागतमा प्रभावकारी लघुवित्त सेवा प्रवाह गर्ने दुरदृष्टि सहित काम गरी रहेको छ ।  यसको लागि कम लागतका प्रभावकारी र दिगो परियोजनाहरू छनोटमा केन्द्रित रहेको छ । जुन कुरा आफ्ना ग्राहक सदस्यसँग राम्रो सम्बन्ध कायम राखेर, सदस्य संग निरन्तर सम्पर्कमा रहेर र उनीहरुको वारेमा राम्रो जानकारी राखेर मात्र सम्भव हुने ठानेर सोही अनुरूप काम गरी रहेको छ ।

पाँच वटा भ्रमण टोली मध्ये पछिल्लो एउटा टोलीले ब्राक वंगलादेशको कार्यक्रमहरू पनि अध्ययन अवलोकन गरेको थियो । यस संस्थाले पनि ऋण प्रवाह संगै सदस्य र समुदायको चौतर्फी विकासमा विशेष ध्यान केन्द्रित गरिरहेको छ । यसले युवा विकास, शिक्षा, स्वास्थ्य, सरसफाई स्वच्छता र सदस्य र उनीहरूको समुदायको विकासमा अन्य आधारभूत आवश्यकताहरूमा पनि सहयोग गर्दै आएको छ ।

भ्रमण गरिएका सबै संस्थाले अन्य कुनै पनि बीमा कम्पनीहरूको भर नपरी स्वास्थ्य बीमा, परियोजना जोखिम बीमा र पशुपन्छी बीमा लगायतका विभिन्न बीमा योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गरी रहेका छन् ।

अध्ययन अवलोकन भ्रमणका मुख्य सिकाईहरू

१. लघुवित्तले गरिब र अति विपन्न बर्गलाई आफ्नो सदस्यकोरूपमा प्राथमिताको साथ समेटनु पर्छ ।
२. समुहमा हुने खाने तथा सम्पन्न सदस्यहरूलाई समावेश गरेमा समुह संस्कृति र ऋण अनुशासन बिग्रन्छ ।
३. लघुवित्त संस्थाहरूले आफ्ना सदस्यलाई लगानी गर्दा उसको चौतर्फी विकासलाई ध्यान दिनु पर्छ । ऋण लगानी संगै उसलाई आवश्यक सीप तथा दक्षता पनि दिनु पर्छ । साथै सरोकारवाला संघ संस्था संगको समन्वय तथा आफ्नै मुनाफाबाट स्वास्थ्य सेवा, सरसफाई, शिक्षा, साक्षरता, बाल हेरचाह आदि जस्ता पूरक कार्यक्रमहरू पनि प्रदान गर्नुपर्छ ।
४.संस्थागत मुनाफालाई पूँजीको बलियो आधार र कार्यक्रमहरूको दिगोपन निर्माण गर्न   लगानी गर्नु पर्छ । बाह्य ऋणमा अधिक निर्भरता घचतक हुन सक्छ ।
५.सदस्यहरूको साप्ताहिक बैठक प्रभावकारी हुने देखिएको छ ।
६. लघुवित्त संस्थाहरूले ऋणको आकार र किस्ताहरू साना राख्ने, धितो रहित ऋण दिने, सदस्यहरूको क्षमता र आवश्यकता अनुसारको ऋण प्रवाह गर्ने, बहुकर्जामा रोक लगाउने  लगायत लघुवित्तको सिद्धान्त र आधारभूत मुल्य मान्यताहरुलाई अनुशासित भएर कडाईका साथ पालना गर्नुपर्छ ।
७. लघुवित्त कर्मचारी र सदस्यहरू बीच घनिष्ट सम्बन्ध निर्माण गर्न आवश्यक छ ।
८. सदस्यको इमान्दारिता र ऋणको उचित प्रयोगको सुनिश्चितता गर्न लघुवित्त संस्थाका अधिकारी तथा कर्मचारीहरूले नियमित रुपमा घरदैलो भेट कार्यक्रम गर्नु आवश्यक छ ।
९. बार्षिकरुपमा आफ्ना सदस्यको सामाजिक तथा आर्थिक अवस्था वा प्रगतिबारे विवरण संकलन गरी सदस्यको वर्गीकरण गर्नु पर्ने र सोही अनुसार नयाँ कार्यक्रमहरु तर्जुमा गर्ने र पुराना कार्यक्रमहरु परिमार्जन गर्नु पर्ने ।

भ्रमण पछि समीक्षाको अवसरमा टोलीका सदस्यहरूको धारणा

स्वावलम्बन विकास केन्द्रमा आयोजित भ्रमण पछिको समीक्षामा सहभागीहरूले बंगलादेशमा लघुवित्त संस्थाहरुको कार्यशैलीबाट निकै प्रभावित भएको र सिकाईहरू सकारात्मक रहेको वताए ।
ज्ञानेन्द्र कुमार सिंहले, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
आईडीएफको कार्यक्रममा स्वास्थ्य र शिक्षा कार्यक्रम जस्ता क्रेडिट प्लस गतिविधिहरूमा व्यापक रूपमा संलग्न भएको छ । नेपालमा पनि लघुवित्तहरुले आफ्ना ग्राहक सदस्यको हितमा केन्द्रित भएर गैर वित्तीय सेवा प्रवाह गर्न प्रतिस्पद्र्धा गर्नु पर्ने सिकाई भएको छ ।
सरिता भण्डारी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.
ग्रामीण बैंक, आईडीएफ र बुरो बंगलादेशले स्वास्थ्य बीमा, परियोजना जोखिम बीमा र पशुधन बीमा प्रभावकारी रूपमा सञ्चालन गरेको छन् । जुन कुरा नेपालले पनि सिक्न लायक छ ।
गुरुप्रसाद पोखरेल, छिमेक लघुवित्त वित्तीय संस्था लि.
बंगलादेशमा एरिया म्यानेजरले पीजीटी देखि कर्जा वितरण र ग्राहक सदस्यको व्यवसाय स्थल सम्म पुगेर कर्जाको उपयोग बारे गहन तरिकाले सूचना वा विवरणहरू राख्ने प्रक्रिया निकै रोचक र प्रभावकारी लागेको छ । यस्तो कुरा हामीले विर्सिएको जस्तो लाग्छ ।
रचना श्रेष्ठ, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.
नेपाल र बंगलादेशमा लघुवित्तको प्रक्रिया एउटै भए पनि बंगलादेशका लघुवित्त संस्थाहरू राम्ररी प्रशिक्षित कर्मचारीहरूले सुसज्जित भएको छन् । कर्मचारीहरू अनुशासित, काम प्रति लगनशील, सदस्य प्रति जिम्मेवार, समयनिष्ठ र आफ्नो संस्थाप्रति वफादार रहेर लघुवित्तको मर्म र भावना अनुरुप काम गरी रहेका छन् ।
हरिप्रसाद डुम्राकोटी, छिमेक लघुवित्त वित्तीय संस्था लि.
बंगलादेशका लघुवित्त संस्थाहरूद्वारा डिजाईन गरिएका परियोजनाहरू गरिब र सीमान्तकृत समुदायको यथार्थमा आधारित छन् । यस्ता परियोजनाहरू दिगो छन् र ऋण उपयोगको अनुपात पनि उत्कृष्ट छ । यो नै बंगलादेशबाट नेपालले सिक्नु पर्ने कुरा हो ।
खग कुमारी भण्डारी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.
बंगलादेशका लघुवित्त संस्थाहरूले न्यूनतम लगानीबाट सदस्यहरूको जीवनमा अधिकतम नतिजा ल्याई रहेका छन् । उनीहरूलाई पैसाको मूल्य थाहा छ र लगानी गर्ने तरिकाहरू पनि सिक्न लायक छन् ।

समाचार

सुचना