स्वावलम्बन विकास केन्द्र

कोरोना : चुनौती पनि अवसर पनि

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त कर्मीहरुलाई कोरोना भाईरस (कोभिड–१९) चुनौती र अवसर दुवै भएकोले महामारीले गर्दा समाजमा देखा परेका समस्या र अवसरको अध्ययन र समिक्षा गरी अघि बढ्न सुझाव दिनु भएको छ ।

लकडाउनपछि लघुवित्तमा परेको प्रभाव वारे अनुभवहरु आदान प्रदान गरी आगामी रणनीति तयार गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रद्धारा आयोजित जुम अनलाईन छलफलका सहभागीहरुलाई श्रेष्ठले यस्तो सुझाव दिनु भएको हो ।

छलफलका क्रममा उहाँले कोरोनापछि देखिएको एक प्रमुख अवसर भनेको विदेशबाट सीप र पूँजी सहित स्वदेश फर्केको युवा जनशक्ति रहेको बताउनु भयो । लघुवित्तहरुले उनीहरुलाई स्वावलम्बी तथा स्वदेशमै आत्मनिर्भर बनाउने खालका योजनाहरु ल्याउनु पर्ने र कृषि कर्मलाई प्राथमिकता दिनु पर्ने भनाई राख्नु भयो ।

अहिले अधिकांश लघुवित्त सदस्यहरुले वजारीकरणमा भोगेको समस्या तर्फ इंगीत गर्दै लघुवित्त संस्थाहरुले आफ्नै संजाल श्रृजना गरी वजारीकरणमा काम थाल्न पनि सुझाव दिनु भएको छ । “वजार सुरक्षित नभए सम्म सदस्यहरु व्यवसाय प्रति आकर्षित हुदैनन् र जीवनस्तर उभो पनि लाग्दैन । त्यसैले आफ्नै स्वामित्व हुने गरी वजारीकरणमा संजाल विस्तार गर्नु पर्यो” उहाँको भनाई थियो । श्रेष्ठले वजारीकरणमा सरकार वा अरु निकायले काम गर्ला भनेर आशा गरेर नबस्न समेत सुझाव दिनु भयो ।

यस अघि सहभागिहरुले अधिकांश सदस्यको कृषि उत्पादनले वजार नपाएको सन्दर्भमा वजारको लागि केहीले सहजीकरण गरेको तथा केहीले दिर्घकालिन योजनाहरु ल्याउन लागेको अनुभव प्रस्तुत गर्नु भएको थियो ।

छलफलका क्रममा दाङ जिल्लामा महिला सामुदायिक लघुुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको उत्पादन आफैले किनेर प्रशोधन गरी वजारीकरण गर्ने गरेको र यसले सदस्य, संस्था तथा समुदायलाई समेत फाइदा पुगेको सुनाउनु भएको थियो । यसलाई श्रेष्ठले सामाजिक उद्यमशीलताको सफल नमुना भएको बताउदै महिला सामुदायिक लघुवित्तको प्रयास अरुले पनि अनुशरण गर्न सुझाउनु भयो ।

स्वावलम्बन विकास केन्द्रले आषाढ ४ गतेका दिन प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा रहेका आफ्ना सदस्य लघुवित्त तथा सहकारी संस्थाहरुलाई समेटेर छलफलको आयोजना गरेको हो ।

छलफलमा सहभागीहरुले कोरोनापछि लघुवित्तमा परेका प्रभाव, चुनौती र अवसर वारे आफ्ना अनुभव प्रस्तुत गर्नु भएको थियो ।

सहभागीहरुका अनुसार अहिले लघुवित्त क्षेत्रमा सीप र पुँजीगत क्षमता सहित युवा जनशक्ति गाउँ फर्केको, बाँझो बसेका उर्वर जमीनमा उच्च मुल्य दिन सक्ने कृषि उत्पादन गर्न सकिने सम्भावना भएकोे, सदस्यका उत्पादन वजारीकरणका लागि लघुवित्त आफैले काम गर्न सकिने तथा स्थानीय र प्रदेश सरकार संग सहकार्य गर्न सकिने लगायत थुप्रै अवसरहरु रहेका छन् । उनीहरुले सामाजिक उद्यमशीलतामा लाग्न समेत आवश्यक ठानेका छन् ।

सहभागीहरुले वर्तमान अवस्थामा लघुवित्त क्षेत्रमा देखा परेका चुनौती वारे पनि छलफल गरेका छन । जसमा मुलतः मन्दीका कारण व्यवसाय ठप्प हुँदा संस्था र सदस्यको जिवन स्तरमा पर्न सक्ने असर, असुलीमा जारी समस्या, लगानी ठप्प रहेकोले यसले वर्तमान र भोलिका दिनमा पार्न सक्ने नकारात्मक प्रभाव लगायत चुनौतिहरु देखिएका छन् ।

छलफलमा श्री उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नवजीवन सहकारी संस्था लिमिटेड, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, वौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, वातावरण सुधार बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड, पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला सामुदायिक लघुुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोरोना भाईरस (कोभिड–१९) महामारी र यसपछिको लकडाउनले लघुवित्त क्षेत्रमा परेको असर र समाधानका उपाय खोज्ने उदेश्यले निरन्तर अनलाईन छलफलमा रहेको स्वावलम्बन विकास केन्द्रले अर्को छलफल असाढ ११ र १२ गतेका दिन बाग्मती र गण्डकी प्रदेशका सदस्यहरुलाई समेटेर आयोजना गर्ने भएको छ ।

समाचार

सुचना