स्वावलम्बन विकास केन्द्र

विपन्न समुदायमा पहुच पुग्ने गरी डिजिटल लघुवित्त सेवा प्रवाह गर्नेे बेला भयो

लघुवित्त सेवालाई डिजिटलाईजेशन अर्थात यान्त्रिकरण गरी सरल, सहज र किफायती सेवामा विपन्न समुदायको पहुच पुर्याउन लघुवित्त संस्थाहरु अग्रसर हुनु पर्ने वेला आएको यस क्षेत्रका अगुवाहरुको धारणा छ । डिजिटल प्रविधिको प्रयोगले थोरै समय, थोरै लगानी र थोरै प्रयासमा धेरै प्रतिफल निकाल्न सकिने हुदा यान्त्रीकीकरण (डिजिटलाईजेशन) गर्नु समय सान्दर्भिक हुने र यान्त्रिकीकरण गर्दा लघुवित्तको मुलमर्म, भावना तथा उद्देश्य प्रति सजग भएर गरीबमैत्री प्रविधि अपनाउनु पर्ने उनीहरुको धारणा छ । २०७८ आषाढ २० गते स्वावलम्बन विकास केन्द्र द्वारा दशौँ अनलाईन संवाद श्रृखला अन्तर्गत आयोजीत लघुवित्तमा यान्त्रीकीकरणको अवसर र चुनौति विषयक वेविनारका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

वेविनारलाई सम्वोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले अहिलेको परिवेशमा लघुवित्त क्षेत्र पनि डिजिटल संसारबाट टाढा वस्न नसक्ने वताउदै लघुवित्त संस्थाहरुले डिजिटल प्रविधि प्रयोगमा जोड दिनु पर्ने धारणा राखे । तर डिजिटल प्रविधि प्रयोग गर्दा गरीबमैत्री हुन पर्ने र प्रविधिको प्रयोग लघुवित्तको मर्म र उद्देश्यलाई केन्द्रमा राखेर गर्नु पर्ने धारणा राखे । “अहिले हामी प्रविधिको युूगमा छौँ । प्रविधिले सबै तिर क्रान्ति ल्याएको छ । अव लघुवित्तको लागि पनि यो अपरिहार्य हो । तर हामीले यसको सदुपयोग गर्नमा सचेत र सजग हुनु पर्छ । प्रविधिको प्रयोगले लघुवित्तकोे गुणस्तरमा कस्तो परिवर्तन आयो ? यसले गरीबमा लगानी कति वढाउन सक्यो ? प्रविधिको प्रयोगले कर्जाकोे गुणस्तरमा कस्तो परिवर्तन आयो ? भाखा नाघेको कर्जा घटाउन काम गर्यो की गरेन ? धनी र गरीब विचको दुरी घटाउछ कि घटाउदैन ? लघुवित्तका विकृतिहरु हटाउन उपयोगी हुन्छ कि हुदैन भन्ने जस्ता प्रश्नको हल खोज्नु पर्छ ।” श्रेष्ठले भने ।

वेविनारका वक्ताहरुले बर्तमान सन्दर्भमा डिजिटल लघुवित्त सेवा अपरिहार्य हुनुको साथै अवसर र चुनौति दुबै भएकोले यसले उत्पन्न गर्ने जोखिमहरु प्रति सतर्क भएर डिजिटलाईजेशनलाई आत्मसात गर्नु पर्ने धारणा राखेका छन् ।

वेविनारमा आफ्नो प्रस्तुतिको क्रममा क्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका महा–प्रवन्धक डम्बर बहादुर शाहले लघुवित्त सेवामा डिजिटल प्रविधिकोे प्रयोग गर्दा कर्मचारीलाई काम गर्न सहज हुनुका साथै सदस्यहरुलाई सेवा लिन सहज भएको वताए । यस अघि शाहले किसान बहुउद्देश्यीय सहकारी संस्थाले ट्यावलेट बैंकिङ्ग, मोवाइल मिस्डकल सेवा, क्यूआर कोड सेवा, ई सेवा जस्ता  डिजिटल सुविधा तथा प्रविधिहरु प्रयोग गरेको र सो बाट करिव ५७ हजार लघुवित्त सदस्यहरुले दैनिक आवस्यकताका भुक्तानी सेवा र सम्पूर्ण बैकिङ्ग सुविधाहरु पाएकोे जानकारी गराए । साथै डिजिटल प्रविधिको प्रयोगले हरेक शाखाको कारोबार ७ सेकेन्ड भित्र उपलब्ध भई सक्ने व्यवस्था हुनुका साथै संस्थाको प्रशासनिक कार्य र जनशक्ति व्यवस्थापनमा पनि ठुलो सहयोग पुगेको जानकारी गराए ।

वेविनारका अर्का वक्ता मुक्तिनाथ विकास बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउतले डिजिटल प्रविधिको प्रयोग पछि सेवामा सुधार आउनुका साथै छरितो, प्रभावकारी, कम खर्चिलो र पारदर्शी भएको कुरा उल्लेख गरे । साथै डिजिटल सेवा लघुवित्तको विभिन्न तहमा हुने जालसाजी तथा गैर कानुनी क्रियाकलाप रोक्न समेत प्रभावकारी हुने उल्लेख गरे । लघुवित्त सदस्यको व्यापार, व्यवसायको अवस्थावारे बुझ्न र ऋण लगानी विश्लेषण गर्न समेत यस्तो सेवा उपयोगी रहेको दृष्टान्त सुनाए । साथै राउतले मुक्तिनाथ विकास बैंकका १ लाख ४० हजार लघुवित्त सदस्य मध्ये आधा भन्दा वढी सदस्यहरुले मोवाइल बैकिङ्ग सेवा लिई रहेको जानकारी गराए ।

आफ्नो प्रस्तुतिको क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संञ्जय कुमार मण्डलले जीवन विकासको दृष्टान्तहरु दिदै लघुवित्त सेवा सहज र प्रभावकारी रुपमा लक्षित बर्ग सम्म पुर्याउन डिजिटल प्रविधिको प्रयोग अनिवार्य छ भन्ने कुरा प्रमाणित भएको वताए ।

हाल जीवन विकासले आफ्नै एप मार्फत सदस्यलाई नगद कारोबार, विल भुक्तनी सेवा र महत्वपूर्ण सुचना, जानकारी तथा ज्ञानवद्र्धक विषय बस्तु लगायतका सेवाप्रदान गरेको र यो सेवाबाट ७२ हजार सदस्य लाभान्वित भएको वताए । साथै मण्डलले यसवाट सदस्यहरु संग निरन्तर जोडिन र सेवा वारे सदस्यहरुको पृष्ठपोषण लिएर अघि वढन् पनि सहज भएको अनुभव सुनाए । यसै गरी जीवन विकासले एक गाउँ एक डिजिटल सदस्यको अवधारणा अनुसार गाउँगाउँमा एक जना डिजिटल सदस्य खडा गरेर प्रविधि चलाउन नजान्ने र इन्टरनेटको पहुच भन्दा टाढा रहेका सदस्यहरुलाई डिजिटल कारोवार सेवा प्रदान गरेको र यस्तो सेवाबाट हाल सम्म करिब १ अर्व रुपैयाँको कारोवार भएको मण्डलले जानकारी गराए । साथै मण्डलले ई सेवा, खल्ती जस्ता अनलाईन कारोवार प्रणाली मार्फत पनि सेवा प्रवाह गरेको, जीपीएस प्रविधि मार्फत सम्पूर्ण कार्यक्षेत्रको जानकारी राखेको र करिब १ हजार केन्द्रहरुले नगद रहित कारोवार गर्न सफल भएको वताए ।

यसै गरि जनशक्ति व्यवस्थापन र परिचालन, कर्मचारीहरुको बृतविकास तथा अभिलेख, सुचना संकलन, अद्यावधिक तथा अभिलेखीकरण, केन्द्र बैठक संचालन, आन्तरिक लेखा परीक्षण लगायतका कार्यहरु समेत डिजिटल माध्यमबाट गर्न सफल भएको अनुभव सुनाए ।

बक्ताहरुले डिजिटल प्रविधिको प्रयोगमा सदस्यहरुले विश्वास गर्न र उनीहरुलाई यसको लागि मोवाईल फोन तथा प्रविधिको पहुँच पुर्याउन चुनौति रहेको वताउदै यसमा जोड गरेर अघि वढ्नु पर्ने धारणा राखे । सदस्य मैत्री डिजिटल प्रविधि र लघुवित्त मैत्री डिजिटल सेवाहरु अवलम्बन गर्नु पर्ने र वित्तीय साक्षारता जस्तै प्राविधिक साक्षारता पनि महत्वपूर्ण रहेकोले यसमा लघुवित्त संस्थाले काम गर्नु पर्ने उनीहरुको भनाई थियो ।

वेविनारका सहजकर्ता तथा स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले डिजिटल प्रविधिको प्रयोगलाई अहिलेको असहज अवस्थामा सेवा प्रवाह संगै सम्वन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको वताए । लघुवित्त संस्थाहरुले प्रविधिको प्रयोगलाई कोरोना महामारी तथा लकडाउनको अवसरको रुपमा मात्र नलिएर सहज लघुवित्त सेवा प्रवाह तथा कामको प्रभावकारिता र उत्पादकत्व वढाउनको लागि प्रयोग गर्न उपयुक्तहुने श्रेष्ठको सुझाव थियो ।

वेविनारमा बैंक वित्तीय क्षेत्र तथा गैर सरकारी संस्थाबाट आमन्त्रित १ सय ५७ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समाचार

सुचना