स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रले आयोजना गरेको जालसाजी नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी विचार गोष्ठी

नेपालको परिवेशमा लघुवित्त कार्यक्रम संचालन गर्न अनुमति प्राप्त गर्ने पहिलो गैर सरकारी गैर नाफामूलक संस्था स्वावलम्बन विकास केन्द्रले जालसाजी नियन्त्रण तथा व्यवस्थापन  सम्बन्धी विचार गोष्ठी २०७६ साल मंसिर २८ गते आयोजना गरेको थियो ।

गोष्ठीको शुरुवातमा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख श्री बेचन गिरिले सहभागीहरुलाई स्वागत गर्नुभयो । उहाँले यस विचार गोष्ठीको उद्देश्य र कार्यक्रमको आवश्यकता वारेमा प्रकाश पार्नुभयो ।

यसैगरी स्वावलम्बन विकास केन्द्रका अध्यक्ष श्री शंकर मान श्रेष्ठले आर्थिक अपचलन र जालसाजी वढ्नुको प्रमुख कारण संस्थाको फितलो अनुगमन प्रणाली र व्यक्तिगत लोभ लालच रहेको बताउनुभयो ।

प्यानल छलफल कर्मचारी स्वयंले गरेको हिनामिना र अपचलनको वारेमा केन्द्रित रहेको थियो । प्यानलका सहभागीले अनुगमन र सुपरिवेक्षण चुस्त, दुरुस्त र अद्यावधिक भएमा कर्मचारीले जालसाजी गर्ने संभावना कम हुने बताउनुभयो । यसैगरी कर्मचारीको आनिवानी वा चालचलनमा भएको परिवर्तनले पनि शंका गर्ने ठाउँ रहने बताइएको थियो ।

नेपालका लघुवित्तमा देखिएका विद्यमान समस्याहरुको कानूनी उपचार प्रकृया र सम्भावना बारे प्रस्तुतीकरण दिने क्रममा अधिवक्ता श्री श्याम खत्रीले चोरी र ठगी विषयमा सम्वन्धित संस्था आफैंले नेपाल सरकारले व्यवस्था गरेको ऐन कानून वमोजिम कानूनी प्रकृया वढाउन सक्छ र संस्था आफूले पनि यसबाट नियमावली बनाएर जालसाजी नियन्त्रण गर्न सक्छ र यस्तो नियमावलीले वैधानिकता पाउने व्यवस्था रहेको बताउनुभयो ।  

यसैगरी संस्थाले आन्तरिक नियन्त्रणमा पहलकदमी गर्नुपर्ने तथा कार्यकारी प्रमुख स्वयंले मार्ग द्रष्टाको भूमिका निर्वाह गनुपर्ने आवश्यकता र यसलाई अगाडी बढाउने तौरतरिका उदाहण सहित श्री रुप बहादुर खड्काले प्रकाश पार्नुभएको थियो । साथै सफल व्यवस्थापनका लक्षण तथा विशेषता वारेमा पनि प्रकाश पारिएको थियो ।

गोष्ठीमा उपस्थित सहभागिहरुले संस्थामा उच्च मनोवल रहेको मानव संसाधन तथा वलियो लेखा प्रणालीको आवश्यकता बारेमा पनि जोड दिइएको थियो ।

यस गोष्ठीमा विभिन्न लघुवित्त वित्तीय संस्था र लघुवित्त सम्बन्धी कार्य गर्ने सहकारीको प्रमुख कार्यकारी अधिकृत, संचालक समितिका सदस्य तथा वरिष्ठ प्रबन्धकको लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

समाचार

सुचना