स्वावलम्बन विकास केन्द्र

काभ्रेको श्री राम उच्च माध्यमिक विद्यालयबाट विद्यार्थीहरुमा उद्यमशीलता विकास कार्यक्रमको सुरुवात

स्वावलम्बन विकास केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नंं. १३ स्थित श्री राम उच्च माध्यमिक विद्यालयका बालबालिकाहरूलाई विद्यालय उमेर देखि नै पढाई सँगै उद्यम गर्न सिकाउने उद्देश्यले उद्यमशीलता विकास कार्यक्रमको सुरुवात गरेको छ ।

 
यस कायक्रम अन्तर्गत २०७९ जेठ २२ गते सो विद्यालयका कक्षा ७ र कक्षा ८ मा अध्ययनरत १०–१० जना गरी कुल २० जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी १० वटा कुखुराको चल्ला वितरण गरिएको छ । विद्यार्थीहरूको चाहना अनुसार सो विद्यालयका प्रधानाध्यापकको समन्वयमा गिरीराज जातका चल्लाहरू केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको हो । विद्यार्थीहरूले चल्ला हुर्काइ बिक्री गरी सकेपछि प्रति चल्ला खरीद गर्दा परेको मोलको आधा रकम विद्यालयलाई फर्काउने छन् । यसरी फर्काएको रकमबाट विद्यालयले घुम्ती कोष खडा गरी विद्यार्थीको अर्को उद्यमी समूह बनाउने छ ।  
चल्ला हस्तान्तरणको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा केन्द्रका अध्यक्ष श्रेष्ठले विद्यालय तहबाटै उद्यमशीलता विकास गरी भविष्यमा सीपयुक्त र आत्मनिर्भर जनशक्ति उत्पादन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउँदै सोही अभ्यासको थालनी श्री राम उच्च माध्यमिक विद्यालयबाट गरेको बताए । “स्वावलम्बन विकास केन्द्रले यस विद्यालयका प्रधानाध्यापककै सल्लाहमा गिरीराज जातको चल्ला विद्यार्थीहरूलाई उपलब्ध गराएको छ । कुखुरा पाल्नु धेरै ठूलो वा दुख हुने काम होइन । आफ्ना बुबा आमाले गरेकै काम हो । सुरुमा कुनै मुल्य पनि तिर्नु पर्दैन तर चल्ला हुर्काएर बेची सके पछि अहिले खरीद गर्दा परेको आधा मुल्य अर्थात प्रतिचल्ला ७५ रुपैयाँ विद्यालयको घुम्ती कोषमा जम्मा गर्नु पर्नेछ र त्यसबाट अरु भाई बहिनीहरूलाई पनि उद्यम सुरुवात गर्न सहज हुन्छ । हाम्रो चाहना भनेको यो विद्यालयले कक्षामा पढाइने किताबको मात्र ज्ञान दिने होइन कि व्यावहारिक ज्ञान दिने र उद्यम व्यवसाय गरेर आत्मनिर्भर बन्न सिकाउने थलो बनोस र  समुदायमा पनि उद्यमशीलताको ज्योति फैलाउन नमुना विद्यालय बनोस भन्ने हो । यो काम गर्न विद्यालयका प्रधानाध्यापक राजमान तामाङ योग्य र कर्मशील हुनुहुन्छ ।” 
अहिलेका बालवालिका भोलि देशको भविष्य भएको बताउँदै श्रेष्ठले देशलाई आत्मनिर्भर बनाउन पनि विद्यालय उमेर देखिनै उद्यमी बन्ने सीप सिक्नु पर्नेमा जोड दिए । “हामी त उमेर पुगी सकेका हौँ । चाहेर पनि अव देशको लागि धेरै गर्न सक्दैनौँ । तर यहाँ उपस्थित सबै भाई वहिनीहरुको लामो आयु छ र तपाईहरुले देशको लागि धेरै योगदान गर्नु छ । तपाईले हाम्रो भूगोल, सामाजिक शिक्षा, नैतिक शिक्षा पढ्नु भएको छ । तर यसको वावजुध पनि विदेशिने सोच राख्नु हुन्छ । सबै विदेश गएको खण्डमा देश विकास कसरी हुन्छ ? अहिले हाम्रो लागि हामीले नै रोजगारी सिर्जना गरी हाम्रो श्रमशक्ति स्वदेशमै राख्नु चुनौतिको विषय हो । नेपालमा गरे के हुदैन भन्ने कुरा यही तल कोशी किनारामा पोखरी वनाएर माछा पालन, कुखुरा पालन र तरकारी खेती गरी रहेका युवाहरूले प्रमाणित गर्नु भएको छ । उहाँहरू कोरियाबाट फर्केर नेपालमै केहि गर्न सकिन्छ भन्ने सोचका कृषि कर्ममा लागेर सफल उद्यमी हुनु भएको छ । यसले विदेशबाट विषादि राखेर ल्याएको माछा, तरकारी आदि खानु पर्ने अहिलेको अवस्थामा पक्कै एउटा नयाँ आयाम पनि थपेको छ ।
केही समय अघि सुर्खेत पुग्दा त्यहाँको जनज्योति माध्यमिक विद्यालयले ‛पढ्दै कमाउँदै, कमाउदै पढदै’ नारा अगाडी सारी विद्यार्थीहरुलाई ससाना व्यवसायमा संलग्न गराई उद्यमी वन्ने सीप दिने नमुना कार्यक्रम गरेको देख्यौँ । त्यहाँ विद्यालयमा सबै कक्षाका विद्यार्थीहरूले केही न केही व्यवसाय गरेका छन् । दुई तीन कक्षामा पढ्नेहरूले पनि विद्यालयको आँगनमै फर्सी, काँक्रो जस्तो बिरुवा रोपेका छन् । त्यसमा पानी राख्ने, झार उखेल्ने काम आफै गर्छन र मेरो फर्सी वा मेरो काँक्रोको बोट भन्ने भावना विकास भएको छ । ठुलो कक्षामा पुगे पछि कसैले बंगुर पाल्छ, कसैले च्याउखेती गर्छ, कसैले कुखुरा पाल्छ, कसैले तरकारी, कसैले फर्सी फलाएको छ । त्यहाँ गरीब भन्दा गरीब विद्यार्थीहरू पढी रहेका छन् । उनीहरु धेरैले आफ्नो पढाई खर्च आफै जोहो गरेका छन् । शिक्षकहरू पनि त्यहाँ सरुवा भएर आएको एक वर्ष भित्र अनिवार्य रुपमा शिक्षक आफै वा विद्यार्थीहरू सँग मिलेर केही न केही व्यवसाय गर्नु पर्ने छ । त्यहाँका विद्यार्थीहरू पास भए पछि अन्त काम खोज्न जानु पर्दैन । किनकी आफै उद्यम गर्न सक्षम भएर निस्कन्छन् र काम पनि उनीहरूको दैलोमा नै आउँछ । छोराछोरीले व्यवसाय गर्न थाले पछि त्यसको सिको गर्दै अभिभावकहरू पनि उद्यम व्यवसाय गर्न थालेका छन् । यसले त्यहाँको समुदायनै उद्यमी बन्ने अवस्था सिर्जना भएको छ । शुरुमा यसरी काम गर्दा विद्यार्थीको पढाई विग्रन्छ कि भन्ने चिन्ता रहेछ । तर जिल्ला भरीमा त्यो विद्यालयको उत्कृष्ट नतिजा आएको छ । अरब मुलुक गएकाहरूको अवस्था हामीले देखी रहेकै छौँ । त्यहाँको दुख सहनु भन्दा घरमै बसेर आफ्नो व्यवसाय गर्दा हामी आत्मनिर्भर हुन्छाँै र स्वाभिमानी हुन्छौँ ।” श्रेष्ठको भनाई थियो ।
सो अवसरमा बोल्दै श्री राम उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजमान तामाङले बालवालिकाहरूलाई विद्यालय उमेर देखि नै उद्यमी बन्न सिकाउने विद्यालयको सोच कार्यान्वयनमा आएको धारणा राखे । “शिक्षालाई सीप सँग, सीपलाई श्रम सँग, श्रमलाई रोजगार सँग, रोजगारलाई उद्यम व्यवसायसँग जोड्ने भन्ने हाम्रो विद्यालयको नारा हो । यो नारालाई साकार बनाउन स्वावलम्बन विकास केन्द्रले हरेक कुरामा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । आज हामी कक्षामा पास भएर माथिल्लो कक्षा चढी रहेका छौँ । तर जीवनको कक्षा पास गर्न कठिन छ । यसैको लागि हामीलाई सघाउन र सहकार्य गर्न स्वावलम्बन विकास केन्द्र, किंग्स् कलेज, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत संस्थाहरू तयार हुनु भयो । अहिले हामीले २० जनालाई कुखुराको चल्ला वितरण गरेर सुरुवात गरेका छौँ । स्वावलम्बन विकास केन्द्रले यो सहयोग प्रदान गरेको हो । यो सुरुवातलाई हामीले निगरानी गरेर सफल बनाउने प्रतिवद्धता जनाउँछु ।” तामाङले भने । 
सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले उद्यमशीलता विकासको लागि सानै उमेर देखि उद्यम गर्ने बानीको विकास गरेर भोलिका दिनमा आत्मनिर्भर बन्न सजिलो होस भन्ने अभिप्रायले स्वावलम्बन विकास केन्द्रले चल्ला वितरण गरेको र उद्यमशीलता विकासमा केन्द्रले आगामी दिनमा पनि सघाउने बताए ।
सोही अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रतिनिधिहरूले विद्यार्थीका अभिभावकहरू संग पनि अन्तरकृया गरेका थिए । कार्यवाहक प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाँईले अभिभावकहरूलाई लघुवित्तको सहयोगले उद्यमी बनेर आय आर्जन गरी स्वावलम्बी बन्न सुझाव दिदै त्यसको लागि आवश्यक परे ऋण तथा सीप उपलब्ध गराउन स्वावलम्बन लघुवित्त तयार रहेको बताए । चापागाईले अभिावकहरुलाई धेरै वटा संस्थावाट ऋण नलिन पनि आग्रह गरे ।
विद्यालयमा उद्यमशीलता विकासको लागि किंग्स् कलेजले पनि निरन्तर सहयोग गर्दै आएको र यो सहयोग निरन्तर रहने सो कलेजका कम्युनिटी इमर्सन सेन्टर प्रमुख विजयमणि पौडेलले बताए ।
सोही दिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पहलमा विश्वका तीन ठूला समस्या गरीबी, बेरोजगारी तथा खुद कार्वन उत्सर्जनलाई शुन्य बनाउन नयाँ पुस्तालाई अघि बढाउने अवधारणा अनुसार श्री राम माध्यमिक विद्यालयमा ५ वटा तीन शुन्य क्लबहरू गठन गरिएको छ ।
चल्ला हस्तान्तरण तथा अन्तरकृयाको अवसरमा करीब २५ जना विद्यार्थी र ५० जना अभिभावक गरी ७५ जनाको सहभागिता रहको थियो ।

समाचार

सुचना