स्वावलम्बन विकास केन्द्र

लघुवित्त स्व–नियमन हुन नसक्दा राष्ट्र बैंकको लगाम : संकट मोचनको लागी ८ बुँदे निर्देशन

लघुवित्त संस्थाहरु उद्देश्य, सिद्धान्त, मूल्य र मर्म अनुसार नचल्दा राष्ट्र बैंकको ८ बुँदे निर्देशन आएको र यसले लघुवित्त क्षेत्रलाई सही बाटोमा डोर्याउने धारणा विज्ञहरुले राखेका छन् । ८ बुँदे निर्देशनले तत्काललाई लघुवित्त संस्थालाई केही कडाई गरेको देखिए पनि दीर्घकालीन रुपमा लघुवित्तको साख फर्काउन सघाउने उनीहरूको निचोड छ । स्वावलम्बन विकास केन्द्रले २० आँै सम्बाद श्रृंखला अन्तर्गत आयोजना गरेको नेपाल राष्ट्र बैंकबाट हालै जारी गरेको ८ बुँदे निर्देशनको लघुवित्त क्षेत्रमा प्रभाव  “Impact of Recent 8-Point Circular of Nepal Rastra Bank on Microfinance Sector Development of Nepal” विषयक अनलाईन वेविनारका सहभागीहरुले यस्तो धारणा राखेका हुन ।

बेविनारमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले अहिले लघुवित्तमा सुदृढीकरण, शुद्धीकरण र सबलीकरण आवश्यक भएको बताउँदै नेपाल राष्ट्र बैंकको पछिल्लो आठ बुँदे निर्देशनले यसमा सहयोग गर्ने उल्लेख गर्नु भयो । “अहिले लघुवित्तमा जुन विकृतिहरु मौलाएका छन् त्यसको सम्बोधन गर्ने गरी यो निर्देशन आएको छ । हामी सबैलाई थाहा लघुवित्त मुनाफा केन्द्रित भएको छ, लघुवित्तकर्मी र सञ्चालकमैत्री भएको छ । सदस्यमैत्री हुन सकेको छैन । यो अवस्थाको अन्त्य हुनु जरुरी छ ।” श्रेष्ठले भन्नुभयो । राष्ट्र बैंकले ढिलै भएपनि यो निर्देशन मार्फत लघुवित्तमा भएको दोहोरोपना, मनलाग्दी लाभांश र मुनाफा वितरण लगायतका विषयमा ध्यान पुर्याएको उल्लेख गर्दै थप गर्नु पर्ने कामहरु समेत सुझाउनु भयो । “हामीले लघुवित्तको मुल्य मान्यता बिर्सेका छौँ । नेपालमा ग्रामीण मोडेल लागू भएको भन्ने गरेको छ । तर अभ्यासमा यो मोडेललाई विकृत बनाएका छौँ । अव राष्ट्र बैंकले ग्रामीण मोडेलको मूल्य मान्यता परिपालना गराउनु जरुरी छ । धितो कर्जा लघुवित्तको मान्यता विपरित छ । यसलाई पुरै खारेज गर्नुपर्छ । अहिले हरेक संस्थामा करिब ३० देखि ४० प्रतिशत सदस्य निष्कृय छन् । तर अहिले सदस्य सक्रिय बनाउने कोसिस भन्दा पनि अरुको सदस्य चोर्ने काम भएको छ । त्यसैले उत्पादन र प्रतिफल बढाउन उनीहरुलाई उद्यमी बनाउने तर्फ लाग्नु जरुरी छ । लघुवित्तले प्रवाह गर्ने कर्जा निकै दुरुपयोग भएको छ । त्यो हेर्ने निकाय वा संयन्त्र बनाउन जरुरी छ । अव नेपाल राष्ट्र बैंकले लघुवित्त मार्फत गैर वित्तीय कार्यक्रम र सदस्यको बहुआयामिक विकासमा काम गर्नु पर्छ । स्वावलम्बन विकास केन्द्रले वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम, तीन शून्य क्लबको गठन तथा प्रवद्र्धधन लगायतका कार्यक्रम शुरु गरेको छ । यस्ता कार्यक्रम मार्फत समुदायमा नयाँ सभ्यता विकासको सुरुवात गर्न खोजेको छ । हरेक गाउँलाई आर्थिक संगै सामाजिक, सांस्कृतिक तथा वातावरणीय रुपमा सम्पन्न र आत्मनिर्भर बनाएर नयाँ सभ्यता विकास गर्नु जरुरी छ । लघुवित्तले पनि अब पैसाको व्यापार मात्रै गर्ने होइन । आगामी १० वर्ष भित्र आफ्नो कार्य क्षेत्रमा रहेको गरीबी, बेरोजगारी र वातावरण विनाशको कार्यहरू घटाएर नयाँ सभ्यता निर्माणमा उल्लेख्य काम गर्न सक्नु पर्छ ।” श्रेष्ठले भन्नुभयो ।

केही समय देखि मुलुकभर लघुवित्त बारे नकारात्मक गतिविधिहरू हुँदै आएका छन् । एकातर्फ केही व्यक्ति वा समुहले लघुवित्तको विरोध गर्दै आन्दोलन गरी रहेका छन् भने अर्को तर्फ सञ्चार माध्यम र सामाजिक सञ्जालमा लघुवित्तबारे दिनहुँ जसो दर्जनौँ नकारात्मक समाचारहरु आउन थालेका छन् । यसले गर्दा भाखा नाघेको कर्जा बढ्न थालेको छ भने लघुवित्तकर्मीहरु फिल्ड स्तरमा काम गर्ने वातावरण छैन ।

यो समस्या बल्झदै जाँदा नेपाल राष्ट्र बैंकले २०७९ फागुन १० गते एकीकृत निर्देशिका २०७८लाई संशोधन गर्दै ८ बुँदे निर्देशन जारी गर्यो । सो निर्देशनमा लघुवित्त संस्थाको लाभांश वितरण १५ प्रतिशत सम्म गर्न पाउने, १५ प्रतिशत भन्दा बढी लाभांश वितरण गरे १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोषमा र १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नु पर्ने, धितो कर्जा बढीमा ७ लाख सम्म वितरण गर्न पाउने, एउटा सदस्यलाई एउटा मात्र संस्थाले कर्जा दिन पाउने र अन्य संस्थाको ऋणीलाई लगानी गरे शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने, सञ्चालक शिक्षा कार्यक्रम स्वदेशमा मात्र गर्नुपर्ने, कर्मचारी दक्षता अभिवृद्धि गर्न कर्मचारी नियुक्त भएको एक महिना भित्र दुई हप्ताको तालिम दिनु पर्ने, संस्थाले प्रवाह गरेको कर्जा माथिको अधिकतम ब्याज दरको ५० प्रतिशत हुने गरी निक्षेपमा ब्याज दिने व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

उक्त ८ बुँदे निर्देशनले लघुवित्तको वर्तमान समस्या समाधानमा काम गर्ने वा लघुवित्त संस्थालाई थप समस्यामा पार्ने भन्ने विषयमा बहस शुरु भै रहेको बेला उक्त निर्देशनको मर्म स्पष्ट पार्ने र यसले पार्ने प्रभावको विषयमा छलफल गर्ने उद्देश्यले सो वेविनारको आयोजना गरिएको थियो ।

वेविनारका प्रमुख वक्ता नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तलाई सही बाटोमा हिँडाउन अति आवश्यक भएर यो नयाँ ८ बुँदे निर्देशन ल्याएको र यो लघुवित्तको दिगो विकासमा सहयोगी हुने अपेक्षा रहेको उल्लेख गर्नु भयो । “पछिल्लो समय लघुवित्तमा धेरै खालका विकृति र बेथितिहरू आए । लघुवित्तले गरेका कमजोरी समातेर केही स्वार्थ समुहले आन्दोलन शुरु गर्यो । जसले गर्दा यस क्षेत्रमा विगत चार दशक देखि भएका उपलब्धीहरूको विनाश हुने अवस्था सिर्जना भयो । शुरुवातमा लघुवित्तले गरीब तथा विपन्नमा वित्तीय पहुँच तथा वित्तीय शिक्षा दिएर गरीबी निवारणमा निकै प्रभावकारी देखिएकोले राष्ट्र बैंकले धेरैलाई लाइसेन्स दियो । तर हाल त्यसको परिणाम राम्रो आएन । लघुवित्त संस्थाले जथाभावी ऋण प्रवाह गर्न थाले । शाखा, कर्मचारी, पूँजी, लगानी सबैमा संख्यात्मक वृद्धि भयो गुणात्मक भएन । मुनाफा बढाउने र सबै लाभांश बाँडिदिने । संस्था बलियो नबनाई आजै खाई हाल्ने कुप्रवृति बढ्यो । लघुवित्तहरु मुल्य मान्यता छाडेर जानीजानी अघी बढे, शेयर बजार, तलब, भत्ता, लाभांश सबैमा अस्वस्थ प्रतिस्पर्धा भयो । अब यसलाई व्यवस्थापन गर्न नसके हामी सकिन्छौँ भन्ने लागेर तत्कालै गर्नु पर्ने कामको आधारमा हामीले यो निर्देशन जारी गरेको हो । यहाँहरु सुध्रनु भयो भने हामीले सहजीकरण गर्दै जानेछौँ । नत्र थप निर्देशन गर्नु पर्ने अवस्था आउँछ ।” नेपालले भन्नुभयो । “ एकातिर गरीबी निवारणमा काम गरेका छौँ भनेर भाषण गरेर नथाक्ने अर्को तर्फ ७० प्रतिशत सम्म लाभांश बाँड्ने । त्यसैले मुनाफा वितरण व्यवस्थित गरेर संस्था बलियो बनाउनु पर्ने देखियो, दोस्रो कुरा धितो कर्जा लघुवित्तका लक्षित समुह भन्दा माथिल्लो बर्गमा लगानी हुने गरेको हुदाँ यसको आकारमा व्यवस्थापन गर्नु आवश्यक देखियो । अर्को भनेको बहुकर्जाको समस्या हो ।  १३ वटा संस्थाले एउटैलाई कर्जा दिएका छन् । कर्जा केको लागी, किन र कसरी दिएको र कर्जाको सदुपयोगिता नगरी कर्जा बाँडेको र यसले सदस्यलाई ऋणको दलदलमा फसाएको देखियो र एकजनालाई एउटा मात्र संस्थाले ऋण दिन पाउने बनाएको हो । नेपालमा लघुवित्त बजार जलेको छ । लघुवित्तको मानिस सिक्ने सिकाउने नाममा विदेश गएर सामाजिक सञ्चालनमा विदेशतिर शयर गरेको फोटो राख्न थाले । यसले आन्दोलनलाई थप बल पुग्यो र तत्कालै संस्थाहरूका प्रमुख विदेश जाने काम बन्द गराउनु पर्यो । हामीले लाखौँ जनताको श्रोत केही मानिसले उडाउने काम बन्द गर्न खोजेको हो । हिजो हामीले कर्मचारीलाई तालिम दिएर फिल्डमा पठाउन सकेनौँ । सदस्यहरूसँग कस्तो व्यवहार गरेर अघि बढाउनु पर्छ भन्ने जानकारी नहुँदा कर्जा असुलीको नाममा सदस्यको सुनको सिक्री, मोबाइल, बाख्रा आदि जे पनि लुटेर ल्याउने काम हुन थाल्यो । त्यसको लागि शुरुमै तालिम अनिवार्य बनाएका छौँ । मौखिक रुपमा सचेत गराउँदा प्रतिवाद गर्ने र बहाना बनाउने काम भए । अव आउँदा दिनमा पनि राष्ट्र बैंकको निर्देशन लाई गलत व्याख्या गरेर आफ्ना नराम्रा कार्यको प्रतिवाद गर्ने कार्य नगरौँ । यो त शुरुवात मात्रै हो । अझ धेरै कडा खालका निर्देशन ल्याउनु पर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो ।

वेविनारका वक्ता छिमेक सेवा समाज तथा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष राम चन्द्र जोशीले कुनै बेला नियमन नै नचाहिने लघुवित्त क्षेत्र अहिले कानुनी रूपमै व्यवस्थित गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । साथै उहाँले अहिलेको ८ बुँदे निर्देशन निकै सकारात्मक र जरुरी भएको बताउनु भयो । “लघुवित्त शुरु गर्दा कुनै कानुन थिएन । त्यो वेला लघुवित्त सिद्धान्त, मुल्य र मान्यतामा चल्थ्यो । विश्वासमा चल्थ्यो । कानुन धेरै आवश्यक परेन पनि । काम गर्दै जाँदा जहाँ समस्या आयो राष्ट्र बैक संग छलफल गरेर कानुनी रुपमा व्यवस्थित बनाउँदै आएका हौँ ।  अनुगमनको लागि पनि हामी आफैले अनुरोध गरे पछि मात्र राष्ट्र बैंकले प्रतिनिधि पठाउन थालको हो । तर अहिले सिद्धान्तबाट विमुख हुँदा कानुन र निर्देशनको आवश्यकता परेको हो । अव लघुवित्तमा सुधार हुन्छ भन्ने आशा राखेको छु ।” जोशीले भन्नु भयो ।

बेवीनारका अर्का वक्ता जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले राष्ट्र बैकको निर्देशन सकारात्मक भएको बताउँदै लघुवित्तको मूलमर्म अनुसार अघि बढे धेरै कुरा नियमन गर्नु नपर्ने धारणा राख्नु भयो । “अहिलेको मुख्य समस्या भनेको हामीले ग्रामीण मोडेल अभ्यास गर्र्यौँ तर त्यसको आत्मा बिर्सियौँ । हामीले विपन्न समुदायलाई ध्यानमा राखेर उनीहरुको उत्थानलाई लक्ष बनाएर अघि बढ्न सकेनौँ । साथै बचत बढाएर संस्था पनि बलियो बनाउनु पर्यो । सदस्यको आवश्यकता, क्षमता र सदुपयोगिता हेरी ऋण दिने हो भने ऋण को आकार आफै घटेर जाने हो । हामीले ऋणमा विविधिकरण पनि गर्नु पर्छ । एउटा मात्रै ऋण दिने होइन । सदस्यकोे जीवन उकास्न उसका हरेक जायज आवश्यकतालाई समेटन सक्नु पर्छ । साथै क्रेडिट प्लस कार्यक्रममा पनि जोड दिनु पर्छ । अहिले नेपालमा शहरी क्षेत्रमा बढी समस्या भोगेका छौँ । यसको मतलब हाम्रो लक्षित बर्ग गाउँमा छ र शहरको सुविधा गाउँ पुर्याउने सोचका साथ काम गर्नु पर्ने आवश्यकता छ । अब सदस्यलाई एकै संस्थामा बसेर काम गर्ने वातावरण सिर्जना गर्न तत्कालै काम गर्नु पर्ने अवस्था छ । यसो हुन नसके गरिबहरू फेरी साहु महाजन को मा जाने अवस्था आउने डर छ ।” मण्डलले भन्नुभयो ।

वेविनारका अर्का वक्ता जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत विमला योगीले गरीब र विपन्न वर्गको उत्थानको लक्ष बोकेर शुरु भएको लघुवित्त अहिले कुन बाटोमा हिँडेको छ आत्मसमीक्षा गर्नु पर्ने बेला आएको बताउनु भयो । “नेपाल राष्ट्र बैंकको निर्देशन कर्मचारी सुशासित बन्न र लघुवित्तलाई मर्म अनुसार हिँडाउन सकारात्मक छ । सबै लघुत्तिकर्मीले यसको पालना गर्नु जरुरी छ । यो निर्देशनले के को लागि लघुवित्त जन्मेको हो भन्ने कुरा स्मरण गराएको छ । शुरुमा विपन्न र पिछडिएका महिलालाई उद्यममा जोडेर आर्थिक कारोबार गर्ने, उनीहरूको अवस्था माथि उठाउने जस्ता काम गथ्र्यो र त्यही सत्कर्मले गर्दा धेरै सफल पनि भएको हो । अहिले आएर हामीले आफुलाई अनुशासनमा राख्न नसक्ने भएका कारण यो निर्देशन आएको हो । मुख्य कुरा हामी लघुवित्तको मुल मर्म अनुसार अघि बढ्ने हो । त्यो बाटो छोड्नु हुँदैन । सदस्यको उद्यमशीलता बढाउन अघि बढ्नु पर्छ । लघुवित्तकर्मीले मेरो सम्पूर्ण कुरा सदस्य हो भन्ने सोचेर अनुग्रहित भएर अघि बढ्नु पर्ने छ । सदस्यलाई उद्यमी बनाउने संगै शेयर धनी बनाउने व्यवस्था पनि गर्नु पर्यो ।” योगीले भन्नुभयो ।

प्रस्तुती पछिको खुल्ला छलफलमा राजन भट्टराई, डा. पुरुषोत्तम श्रेष्ठ, राम चन्द्र रूपाखेती लगायतका सहभागीहरूले आफ्नो जिज्ञासा राख्नु भएको थियो । वेविनारमा विभिन्न लघुवित्त संस्था तथा सहकारी एबं अन्य वित्तीय संस्था अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी लगायत २६० जनाको सहभागिता रहेको थियो ।

समाचार