स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३२आँै वार्षिकोत्सव समारोह सम्पन्न ःलघुवित्त क्षेत्रका उत्कृष्ट संस्थाहरु र सदस्यहरु पुरस्कृत

वित्तीय पहुँचको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जीवनस्तर माथि उकास्दै गरीबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम सम्बत् २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्र ३३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा लघुवित्त क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लघुवित्त सदस्य र लघुवित्त सञ्चालन गर्र्ने संस्थालाई पुरस्कृत गरिएको छ । केन्द्रले २०७३ साल देखि उद्यमशीलता विकासमा उत्कृष्ट काम गर्ने एउटा संस्थालाई लघुउद्यमशीलता विकास पुरस्कार र तीन जना लघुवित्त सदस्यलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कारबाट सम्मानित गर्दै आएको छ । यस वर्षबाट केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठको सम्मानमा स्थापना गरिएको शंकर मान श्रेष्ठ लघुवित्त पुरस्कार पनि प्रदान गरिएको छ । यो पुरस्कार लघुवित्त क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्था वा ब्यक्तिलाई प्रदान गरिन्छ ।

केन्द्रको ३२औँ वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । उक्त समारोहमा बोल्दै गभर्नर अधिकारीले नेपालको ग्रामीण भेगका विपन्न महिलामा वित्तीय साक्षारता तथा वित्तीय समावेशीकरणमा लघुवित्तले पु¥याएको अतुलनीय योगदानलाई नेपाल राष्ट्र बैंकले महत्वका साथ हेरेको र यस क्षेत्रमा देखा परेका समस्यालाई समाधान गर्न तथा लघुवित्त संस्थालाई सही बाटोमा हिँडाउन उपयुक्त कदम चाल्ने उल्लेख गर्नुभयो । साथै उहाँले लघुवित्तको महत्वपूर्ण भूमिकालाई स्थापित गर्न तथा लघुवित्त अभियानलाई सही बाटोमा ल्याउन शुरु देखिनै स्वावलम्बन विकास केन्द्रले महत्वपूर्ण योगदान गरेको भन्दै भविष्यका दिनमा पनि यस्तै सक्रियताको अपेक्षा रहेको उल्लेख गर्नु भयो । “लघुवित्त संस्था र गरीब तथा विपन्न क्षेत्रका महिलाहरुको उत्थानमा स्वावलम्बन विकास केन्द्रको सक्रियता निकै सह्रानीय छ । यस्तो कठिन अवस्थामा पनि लघुवित्त संस्था र लघुवित्त सदस्यहरुलाई भेला गराएर उनीहरुले गरेका असल कामको उजागर गरी उत्प्रेरणा दिने काम गरेको छ । यसले लघुवित्त अभियानलाई सही बाटो हिड्ने प्रेरित गर्छ ।ˮ अधिकारीले भन्नुभयो । यसको साथै गभर्नर अधिकारीले अहिलेको अवस्थामा लघुवित्त क्षेत्रमा केही समस्या देखा परेको र त्यसलाई हल गर्न नेपाल राष्ट्र बैंक लागि परेको तर लघुवित्तको विकल्पबारे सोच्न नसकिने धारणा राख्नुभयो ।

समारोहका सभाध्यक्ष तथा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले विगत ३२ वर्षमा स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्त कार्यक्रमको शुरुवात देखि यसको विकास र प्रवद्र्धन, लघुवित्त सदस्यमाझ उद्यमशीलता विकास, लघुवित्त मार्फत समुदायलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने लगायत समाज प्रति उत्तरदायी बनाउने तर्फ केन्द्रित भएको जानकारी दिनुभयो । साथै उहाँले पछिल्लो समय लघुवित्त संस्थााहरु उद्देश्य अनुरूप चल्न नसक्दा समस्या आएको तर लघुवित्तको विकल्प नभएको उल्लेख गर्नु भयो । “आजको दिन मलाई निकै महत्वपूर्ण लाग्छ ३२ वर्ष अघि आजकै दिन हामी ९ जना मिलेर स्वावलम्बन विकास केन्द्र शुरु गरेका थियौँ । पछि केही साथिहरु पनि थपिए र विकट जिल्ला जुम्लाबाट सामाजिक विकास र वित्तीय साक्षारताका प्रयासहरु शुरु भए । करिब १० वर्ष पछि बैंकिङ कार्यक्रम स्वायत्त रुपमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रुपमा अलग भए पछि केन्द्रको काम लघुवित्त संस्था र लघुवित्तकर्मीलाई सक्षम, स्वच्छ र सवल बनाउने अवधारणाबाट यसको पुनर्संरचना गर्यौँ । अहिले केन्द्रले लघुवित्तका सदस्यहरुलाई उद्यमी तथा स्वावलम्बी बनाउने प्रयास गर्दै आएको छ । साथै पछिल्लो समय वर्तमान विश्वकै लागि तीन ठूला समस्या गरिबी, बेरोजगारी तथा  कार्बन उत्सर्जन न्यूूनिकरण गर्न लघुवित्त तथा सहकारी सदस्यहरु मार्फत काम गरी रहेको छ ।ˮ श्रेष्ठले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले गरीब र विपन्न समुदायको उत्थानको लागि लघुवित्त अपरिहार्य र निर्विकल्प कार्यक्रम भएको उल्लेख गर्नुभयो । “नेपालको गरिबी निवारण गर्ने हो भने लघुवित्तको विकल्प छैन् । बरु लघुवित्तलाई अहिलेको जस्तो होइन यसको तौर तरिकामा सुधार गर्नु पर्छ,  पुनर्संरचना गर्नु पर्छ । लघुवित्त सिद्धान्त अनुसार चल्नु पर्छ । अहिले लघुवित्तले हुने खानेलाई सेवा दिने गरेका छन् । धनीलाई नभई गरीब र विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गर्नु पर्छ ।  उहाँले थप्नु भयो ।

उक्त अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्र कुमार गिरीले स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रलाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसको लागि केन्द्र अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले समारोहमा उपस्थित सबैलाई स्वागत गर्नुभयो ।  
समारोहमा केन्द्रका संस्थापक सदस्य डा. सुमित्रा मानन्धर गुरुङ्गले स्वावलम्बन विकास केन्द्रको ३२ बर्षे यात्राबारे प्रकाश पार्नु भएको थियो । उहाँले कर्णाली तथा पूर्वी तराईमा विद्यमान गरिबी, जनचेतनाको अभाव, लैङ्गिक विभेद लगायत रुढीवादको चपेटामा परेको समुदायकोे जीवनस्तर उकास्दैे ३२ बर्ष अघि शुरु भएको केन्द्रको यात्रा अहिले केही हद सम्म आफ्नो लक्षमा सफल भएको बताउनु भयो । तर लघुवित्त अभियानले अझै पनि गरीब र निमुखा वर्गको उत्थानमा धेरै काम गर्न बाकी रहेको बताउनु भयो ।
सोही अवसरमा विगतमा केन्द्रको प्रबन्ध समितिमा रही संस्थागत विकासमा योगदान गर्नु भएकोमा केन्द्रका पूर्व प्रबन्ध समिति सदस्यहरु राम कुमार श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, मणी कुमार अज्र्याल, सुधीर कुमार श्रेष्ठ र डा. गोपाल दहितलाई पनि सम्मानित गरिएको छ ।
सम्मान तथा पुरस्कार समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समारोहका सभाध्यक्ष शंकर मान श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।
समारोहमा बैंक तथा वित्तीय क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रका करिब २८० जनाको सहभागिता रहेको थियो ।
विक्रम सम्वत् २०४८ साल साउन २८ मा स्थापना भई पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर लघुवित्तको सुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुर जिल्लामा स्वावलम्बन बैकीङ कार्यक्रम सुरुवात गरेको थियो । विपन्न र पिछडिएका महिलाहरुमा वित्तीय पहुँच पुर्याउने लक्षका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम सम्वत् २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम विक्रम सम्वत् २०५८मा ८ जिल्लाका ३५ हजार भन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि.) प्रवद्र्धन गरी कर्जा सँगै सम्पति दायित्व एवं जनशक्ति हस्तान्तरण गरियो । यसको करिब एक दशक पछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा जनशक्ति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो ।
केन्द्रको पहलमा वि.सं.२०४९ सालमा जुम्लामा ६१ वटा आत्मनिर्भर समूह गठन भएका थिए । त्यस पछि कालिकोट, दाङ, सल्यान र ओखलढुङ्गा जिल्लामा पनि कार्यक्रम विस्तार गरिएको थियो । लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरे पछि केन्द्रले आफ्नो कार्यदिशा परिवर्तन गरेको हो । यसले लघुवित्त संस्थाहरुमा स्वच्छ लघुवित्त प्रवद्र्धन र शुद्धिकरणको लागि सक्षम र सकारात्मक जनशक्ति निर्माणमा लागेको छ । साथै लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्ने कार्यको पनि संयोजन गर्दै आएको छ ।
लघुवित्त तथा सहकारी संस्थाहरुसँगको सहकार्यमा केन्द्रले ‘स्वच्छ लघुवित्त निर्माणको अभियान, घरघरमा उद्यम फैलाउने अभियान, साथै स्वरोजगार सृजना गर्ने जस्ता अभियानहरु चलाउदै आएको छ । पछिल्लो समय उद्यमशीलता विकास अभियान, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास अभियान, सामाजिक व्यवसाय तथा युवा उद्यमशीलता विकास लगायतका अभियान पनि शुरु गरेको छ । हाल केन्द्रले गरीबी र वेरोजगारी सँगै वातावरण तथा जलवायु परिवर्तन अनुकुलनका क्षेत्रमा पनि काम गर्दै आएको छ । यसकोलागि लघुवित्त तथा सहकारी संस्थाहरु, विभिन्न स्कुल, कलेजहरू एवं अन्य साझेदार संस्थाहरू सँग सहकार्य गरी तीन शून्य क्लबको गठन तथा प्रवद्र्धन गर्ने, विद्यालयस्तरमा वातावरणीय शिक्षा प्रदान गर्ने जस्ता कार्यको पनि थालनी गरेको छ । साथै बङ्गलादेशको यूनुस सेन्टर सँगको सहकार्यमा नेपालमा पनि सामाजिक व्यवसाय प्रवद्र्धनको लागि जनवकालत तथा पैरवी पनि गर्दै आएको छ ।

 

समाचार

सुचना