स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३२औँ साधारण सभा सम्पन्न: स्वस्थ लघुवित्त र समृद्ध सदस्यको अवधारणा अनुसार काम गर्ने

उद्यमशीलता विकास गरी स्वरोजगारी सिर्जना गर्ने तथा स्वस्थ लघुवित्त र समृद्ध सदस्य निर्माणको कार्यनीती पारित गर्दै २०८० मंसिर २४ गते आइतवारका दिन स्वावलम्बन विकास केन्द्रको ३२औँ साधारण सभा सम्पन्न भएको छ । यसका लागि केन्द्रले आफ्ना सदस्य संस्था, साझेदार संस्थाहरु तथा अन्य सरोकारवालाहरु सँगको सहकार्यमा लघुवित्तकर्मीहरु एवं सदस्यहरुको सीप र क्षमता विकास गरी विपन्न परिवारमा लघुवित्त पहँुच विस्तारमा काम गर्ने दृढता सदस्य संस्थाहरुका प्रतिनिधिहरुले पनि व्यक्त गरेका छन् । यसको साथै साधारण सभाले उद्यमी नयाँ पुस्ता तयार गर्न लघुवित्त सदस्यका छोराछोरी तथा अन्य युवाहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित गर्ने, तीन शून्यको अवधारणा (शून्य गरीबी, शून्य वेरोजगारी र शून्य खुद कार्बन उत्सर्जन) अनुसार विगतका सफल अभ्यासहरूलाई निरन्तरता दिँदै लघुउद्यमशीलता र वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमलाई पनि प्राथमिताका साथ अघि बढाउने निर्णय गरेको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७९।८०को आय ब्यय विवरण, कार्य प्रगति विवरण तथा २०८०⁄८१को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले लघुवित्तको उद्देश्य सदस्यलाई ऋणी बनाउने नभई उद्यमी बनाई स्वरोजगार, स्वसक्षम र आत्मनिर्भर बनाउने र गरीबी एवं विपन्नताको अन्त्य गर्नु रहेको स्मरण गराउँदै यसको लागि वित्तीय सेवाको साथै गैर वित्तीय सेवा समेत दिएर सदस्यहरुलाई उत्प्रेरित गरीे जीवनस्तर माथि उकास्नु पर्ने कुरामा जोड दिनु भयो । यसको लागि लघुवित्तको मर्म, भावना र सिद्धान्त अनुसार चल्नु अत्यावश्यक रहेको बताउनु भयो ।
उहाँले हाल ग्रामीण क्षेत्रका युवाहरूमा वेरोजगारीको कारण चरम निराशा फैलिएको बताउँदै लघुवित्त कार्यक्रम मार्फत देशमा स्वरोजगारी सिर्जना तथा हाल भै रहेको युवशक्ति पलायन रोक्न टेवा पुग्ने काम गर्नु अपरिहार्य रहेको बताउनु भयो । उहाँले लघुवित्तको मर्म, भावना, सिद्धान्त आत्मसात गरी सबै लघुवित्तकर्मी तथा सरोकारवालाहरुले आत्ममूल्याङ्कन एवं परीक्षण गरी सही बाटो अंगालेमा हाल लघुवित्त क्षेत्रमा देखा परेका समस्याहरू समाधान हुने र लघुवित्त क्षेत्रले लक्षित बर्गको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गरी देशकै मुहार फेर्न ठूलो भूमिका खेल्न सफल हुने धारणा व्यवक्त गर्नु भयो ।

यस्तै श्रेष्ठले यो आर्थिक वर्ष २०७९÷८०मा केन्द्रले लघुवित्तको क्षेत्रमा भै रहेका गतिविधि माथि केन्द्रित भएर लघुवित्त संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुका उच्च व्यवस्थापक, कर्मचारीहरुको सीप एवं दक्षता अभिबृद्धिका साथै लघुवित्त सदस्यहरुको उद्यमशीलता अभिबृद्धि गर्न २१ वटा तालिम कार्यक्रम, १९ वटा अनलाईन वेविनार, अन्तर्कृया तथा कार्यशालाहरू आयोजना गरेको जानकारी दिनु भयो । जसबाट ६९७ जना पुरुष र ६०२ जना महिला गरी कुल १२९९ जना लघुवित्तकर्मी  लाभान्वित भएको जानकारी दिनु भयो । साथै केन्द्रले लघुवित्त सदस्य संस्थाहरु मार्फत सदस्यहरु माँझ उद्यमशीलता विकास गर्ने उद्देश्यले तीन तहको उद्यमशीलता विकास कार्यक्रम पनि शुरु गरेको र जस अनुसार पहिलो चरणमा १८ वटा लघुवित्त संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाका २४ जना बरिष्ठ अधिकारीहरुलाई उद्यमशीलता विकास प्रशिक्षकको रुपमा तयार गरी दोस्रो चरणमा निजहरु मार्फत ३६५ जना फिल्ड स्तरका कर्मचारी उद्यमशीलता विकासमा दक्ष जनशक्तिको रुपमा तयार भएको जानकारी दिनु भयो । साथै उक्त जनशक्तिको परिचालन गरी  हाल सदस्यहरुलाई उद्यमी बनाउन काम भै रहेको जानकारी दिनु भयो । साथै केन्द्रले पालुङमा आफैले उद्यमशीलता विकास केन्द्रको स्थापना गर्न लागेकोे जानकारी दिनु भयो ।
साथै केन्द्रले उद्यमशीलता विकास प्रवद्र्धन गर्ने हेतुले हरेक वर्ष ३ जना उत्कृष्ट लघुउद्यमी सदस्यलाई उत्कृष्ट उद्यमशीलता विकास पुरस्कार र एउटा संस्थालाई उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कारबाट सम्मानित गर्दै आएको जानकारी पनि दिईएको थियो । 
यस वाहेक केन्द्रले उत्कृष्ट अभ्यास र विकामूलक गतिविधिहरू बारे देश भित्र र बाहिरका अनुभवहरू अवलोकन गर्न र त्यसबाट नयाँ ज्ञान हासिल गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अध्ययन÷अवलोकन भ्रमण, समुदायका रैथाने ज्ञान, सीप र परम्परा तथा स्रोतको सदुपपयोग गरी आयआर्जन समेत बढाउन वातावरणमैत्री स्वावलम्बन गाउँ प्रवद्र्धन कार्यक्रमको निरन्तरता दिने भएको छ । सो अवसरमा केन्द्रले ११ औँ समाजिक व्यवसाय दिवसको अवसरमा नेपाल फोरमले तयार पारेको १४ बूँदे २वर्षे कार्ययोजनाको कार्यान्वयनमा सामाजिक व्यवसायको प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल भएको जानकारी समेत दिईएको थियो ।
आउँदा दिनमा पनि केन्द्रले नेपालको लघुवित्त क्षेत्रका समसामयिक विषयमा तालिम, सम्बाद, अध्ययन अवलोकन भ्रमण लगायत तीनशून्य क्लब गठन तथा प्रवद्र्धन, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम र उद्यमशीलता विकास र युवा पुस्तालाई उद्यमशीलताका लागि प्र्रेरित गर्ने गरी विभिन्न कृयाकलापहरुमा जोड दिने योजना रहेको बताउनुभयो ।
समारोहमा आफ्नो धारणा राख्दै जाल्पा लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत विमला योगीले लघुवित्त संस्थाहरुले गरीब र विपन्न वर्गको उत्थानका काममा केन्द्रित भएर सामाजिक रुपान्तरणमा योगदान गर्नु पर्ने उल्लेख गर्नु भयो ।
छिमेक लघुवित्त वित्तीय संस्था लि. का नायब प्रमुख कार्यकारी अधिकृत दिपकनिधि तिवारीले लघुवित्तको विकासमा स्वावलम्बन विकास केन्द्रको भूमिका सकारात्मक रहेको र यसलाई निरन्तरा दिनु पर्ने धारणा राख्नु भयो ।

सोही अवसरमा चमेली साकोसका प्रमुख कार्यकारी अधिकृत भरत कुमार साहले लघुवित्त तथा सहकारीहरुको काम अहिले पैसा बाँडने र पैसा लिने पैसाका व्यापारीको जस्तो देखिएकोले यस्तो प्रकृयामा सुधार गरी रोजगारी सिर्जना तथा आर्थिक, सामाजिक रुपान्तरणको सम्बाहक बन्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
सिर्जना विकास केन्द्रका सचिव विष्णु बरालले लघुवित्त क्षेत्रको लगानी अनुत्पादक क्षेत्रमा लगानी भएको कारण समस्या पैदा भएको धारणा राख्नु भयो । साथै उहाँले अहिले लघुवित्तकर्मीहरु मुनाफा केन्द्रित भएको र लोभी भएको हुदा लघुवित्तको क्षमता र यसमा भएको स्रोतको परिचालन उचित तरिकाले गर्न नसकेको धारणा राख्नु भयो । केन्द्रको लेखा परीक्षण सहितको, नीति तथा कार्यक्रम प्रतिवेदन ३२औँ साधारण सभाबाट सर्बसम्मतिले पारित भएको छ । साधारण सभाको अवसरपारी केन्द्रले तयार पारेको १३औँ सामाजिक व्यवसाय दिवसको कार्यवाही प्रतिवेदन पनि विमोचन गरिएको थियो ।

विगत तीन दशकको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः गरीब पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु सञ्चालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्ला वाट सामुदायिक स्वावलम्बन विकास परियोजना सञ्चालन गरेर कामको शुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरबाट स्वावलम्बन बैंकीङ कार्यक्रम शुरुवात गरेकोे थियो । गरीब र विपन्न महिलाहरुमा वित्तीय पहँुच पु¥याउने उद्देश्यका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन लघुवित्त कार्यक्रम मुलुकभर विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.) मा रुपान्तरण भई हाल देशभरी विस्तार भएको छ । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माँझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो ।
हाल लघुवित्त सेवाग्राही सदस्यहरूको चेतना, क्षमता, वित्तीय साक्षरता, उद्यमशीलता, विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम सञ्चालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी उनीहरुको क्षमता विकास गर्दै आफ्नो सञ्जालमा व्यापकता दिदै आएको छ ।

समाचार

सुचना