स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्र ३० औ बर्षमा प्रवेश

वित्तीय पहुचको माध्यमवाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्र ३०औ बर्षमा प्रवेश गरेको छ ।

विगत २९ बर्षको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः गरीव पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्ला वाट सामुदायिक स्वावलम्बन विकास परियोजना संचालन गरेर कामको शुरुवात गरेको केन्द्रले २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरको एक एक वटा गाउँमा स्वावलम्बन बैकीङ कार्यक्रम शुरुवात गरेकोे थियो । गरिब र विपन्न महिलाहरुमा वित्तीय पहुच पुर्याउने लक्षका साथ परिक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन बैकीङ कार्यक्रम अन्य जिल्लामा पनि विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम विक्रम संवत २०५८मा ८ जिल्लाका ३५ हजार भन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन लघुवित्त विकास बैँक (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.)मा रुपान्तरण भयो । यसको करिव एक दशक पछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा मानव श्र्रोत स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माँझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो । 


लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरे पछि केन्द्रले हाल लघुवित्त कार्यक्रम संचालन गर्ने ‘घ’ वर्गका लघुवित्त संस्था र सहकारी संस्थाहरुका पदाधिकारी र कर्मचारीहरुको दक्षता र सीप अभिबृद्धि गर्न तालिम, छलफल, सभा, सेमिनार एवं स्वदेश तथा विदेशमा रहेका लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रमको संयोजन तथा आयोजना गर्ने गरेको छ । यस्तै लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अगाडी वढेको स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम संचालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी आफ्नो संजालमा व्यापकता दिदै आएको छ । हाल केन्द्रका संस्थापक सदस्य सहित १२ जना व्यक्तिगत सदस्य तथा देश भरी गरी ४३ वटा सदस्य संस्था छन ।  

 
स्वावलम्बन विकास केन्द्रले आफ्नो कार्यक्रमलाई अझ जनमुखी वनाउने क्रममा सदस्य संस्थाहरु मार्फत लघुवित्त सेवाग्राही सदस्यका छोरा–छोरीहरु तथा विदेशवाट फर्केका युवा–युवतीहरुलाई स्देशमा नै स्वरोजगारी दिने, स्वउद्यमी वन्ने अवसर तथा पूँजी उपलब्ध गराउने कार्यको थालनी पनि गरेको छ । स्वावलम्बन विकास केन्द्रले लघुवित्त क्षेत्रमा लघुउद्यमशीलता विकासमा उत्कृष्ट योगदान गर्ने संस्था र उत्कृष्ट काम गर्ने सदस्यहरुलाई लघुउद्यमशीलता पुरस्कार वाट सम्मानीत पनि गर्दै आएको छ । केन्द्रले आउँदा दिनमा गरीबी निवारण तथा सबैलाई स्वदेश मै रोजगारीको अवसर श्रृजना गर्नको लागि सदस्य संस्थाहरु सित समन्वय गरी निरन्तर अगाडी वढ्ने अठोट गर्दछ ।

समाचार

सुचना