स्वावलम्बन विकास केन्द्र

गरिबी निवारण कार्यमा अग्रसरता देखाई विपन्न एवं पिछडिएका वर्गको उत्थानका निम्ति सेवा प्रदान गर्दै आएको यस स्वावलम्बन विकास केन्द्रले दुई दशकको कार्यकाल पुरा गरिसकेको छ । यस अवधिमा केन्द्रले अथक परिश्रमका साथ लक्षित वर्गहरुलाई केन्द्रित गरी पहिलेदेखि नै लघुवित्त कार्यक्रम तथा लघुवित्तकर्मी र ग्राहकहरुको क्षमता विकासका निम्ति विभिन्न तालिम कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।
 
लघुवित्त क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र विकृतिहरुलाई मध्यनजर गर्दै यस क्षेत्रका सरोकारवालाहरुसँग पनि केन्द्रले समय सापेक्ष वार्ता कार्यक्रमहरु संचालन गर्ने र आफूलाई स्रोत केन्द्रका रुपमा परिचालन गर्न सूचना प्रणलीको विकास गर्दै लैजाने सोच बनाएको छ । आउँदा दिनहरुमा तालिम कार्यक्रमहरुलाई अझ सहभागितामूलक बनाइने र आधुनिक प्रशिक्षण विधिहरु अपनाइ समय र परिस्थिति अनुरुप पाठ्यक्रम परिमार्जन गर्दै लगिने छ ।
 
वर्तमान सन्दर्भमा आफ्नो लघुवित्त कार्यक्रम स्वावलम्बन विकास बैँकलाई हस्तान्तरण गरिसकेको हुनाले यस केन्द्रले पूर्ण रुपमा लघुवित्त क्षेत्रलाई सुदृढीकरण गर्नेतर्फ आफ्नो कार्ययोजना विस्तार गर्दै आइरहेको छ । यसै स्वरुप केन्द्रले विभिन्न विकास बैँक, लघुवित्त विकास बैँक, सहकारी संस्था एवं वित्तीय मध्यस्थता गर्ने गैर सरकारी संस्था तथा ‘क’ वर्गका बैँकहरुलाई लक्षित गरी समय समयमा तालिम प्रदान गर्दै आइरहेको छ । गत वर्षहरुमा प्रशिक्षार्थीहरुमा देखिएको उत्साह र तालिम कार्यक्रमहरुबाट भएको सिकाइ र बुझाइले उनीहरुको दैनिक कार्यशैलीमा नयाँ जोश थपिएको प्रतिक्रिया प्राप्त हुँदा यस केन्द्रलाई अझ जुझारु रुपमा आफ्नो कार्य संचालन गर्न थप उर्जा मिलेको छ । अझ प्रभावकारी ढंगले अघि बढ्नका लागि विभिन्न अध्ययन÷अनुसन्धान एवं उदाहरणीय संघ संस्थाहरुमा अध्ययन अवलोकन भ्रमणका कार्यक्रमहरु संचालन गरिने कुरा यहाँहरु समक्ष राख्न पाउँदा मैले हर्षको अनुभव गरेको छु ।
 
यस केन्द्रलाइ यहाँसम्म आइपुग्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनुहुने सम्पूर्ण वित्तीय एवं गैर वित्तीय संघ संस्था तथा व्यक्तिहरुमा म स्वावलम्बन विकास केन्द्रको तर्फबाट आभार व्यक्त गर्दछु र यहांहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
 
धन्यवाद !
शंकर मान श्रेष्ठ
अध्यक्ष

समाचार

सुचना