स्वावलम्बन विकास केन्द्र

महिला सशक्तिकरणमा लघुवित्तको योगदान महत्वपूर्ण

नेपालमा लघुवित्तले तीन दशक लामो यात्रा पुरा गरी सकेको छ । लघुवित्त संस्थाहरुले गाउँ गाउँमा विपन्न बर्गको दैलोदैलो चाहारी महिलामा जागरण ल्याउने अभियान संचालन गरी रहेका छन् । पुरुषलाई भन्दा वढी महिलालाई प्राथमितामा राखेर कर्जा प्रवाह र बचत संकलन गर्ने जस्तो कार्यमा महिलाहरुलाई संलग्न गराई स–साना व्यवसाय संचालन गर्न उत्पे्ररीत गर्दै आएका छन् । महिलालाई दिएको कर्जा सदुपयोग मात्र हुने नभै यसबाट सिङ्गो परिवारनै लाभान्वीत भएको र कर्जा शतप्रतिशतनै फिर्ता भुक्तिनी हुने गरेको पाइएको छ ।

यसरी भन्दा ग्रामीण भेगका विपन्न महिलाहरुको सशक्तिकरणमा लघुवित्त क्षेत्रको योगदान महत्वपूर्ण रहेको यस क्षेत्रका अगुवाहरुको निष्कर्ष रहेको छ । लघुवित्त प्रणालीमा संलग्न महिलाहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक लगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएकोे दृष्टान्तहरु पेश गर्दै उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

२०७८ साल साउन ३ गते स्वावलम्बन विकास केन्द्रले ११ औँ सम्बाद श्रृखला अन्तर्गत “लघुवित्तको माध्यमबाट महिला सशक्तिकरण” विषयक अनलाईन वेविनारको आयोजना गरेको थियो । उक्त वेविनारलाई सम्बोधन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तका कारण महिलाहरुको जीवन स्तरमा ठूलो परिवर्तन आएको र यसले महिला बर्गको चेतनास्तर माथि उठेको र आत्म विश्वास वढाएको वताए । श्रेष्ठले लघुवित्तको कारण गरीब तथा विपन्न महिलाहरुमा साहस र उर्जा प्रवाह भएको, उनीहरुको गरिबी घटेको र आत्मनिर्भरता वढेको उल्लेख गरे । “हिजो एक सय रुपैयाँ नदेखेका महिलाहरु अहिले ठुलो व्यवसायी भएका छन् । परिवारका पुरुष सदस्यको आम्दानीमा भर पर्नेहरु अहिले आत्मनिर्भर भएका छन् । कर्जा लिने र व्यवसाय शुरुवात गर्ने माध्यम महिला भए पनि यसको लाभ सिंगो परिवारले प्राप्त गरेका छन् ।  महिलाहरु अघि आउने वातावरण वनेको छ ।” श्रेष्ठले भने ।

अहिले महिलाहरु विस्तारै आत्मनिर्भर हुदै जाँदा समाज र परिवारमा उनीहरुको सम्मान थप वढेको श्रेष्ठको भनाई थियो । “ पैसा लघुवित्तको सबै लक्षीत समुहको लागि महत्वपूर्ण हो । पैसा नभइ व्यवसाय चल्दैन, व्यवसाय नभइ आयआर्जन हुदैन र आयआर्जन नभइ जीविका चलाउन कठिन हुन्छ । जुने शक्ति पैसामा छ त्यसबाट महिलाहरुको सशक्तिकरण भएको छ ।” श्रेष्ठले अगाडी भने “जव सम्म कर्जा सदुपयोग हुन्छ तब सम्म कुनै चिन्ता लिनु पर्दैन त्यसले सशक्तिकरण वढाउछ । तर पछिल्लो समय लघुवित्तले प्रवाह गर्ने सबै पैसा सदुपयोग भएको छैन् । चाहिने भन्दा वढि ऋण प्रवाह गर्दा त्यसले विसंगति र विकृति ल्याएको हामि सबैले देखेको र भोगेको कुरा हो । सबै लघुवित्त संस्थाले सफल भएका महिला उद्यमीलाई ताक्ने रहेछन । कतिपय राम्रो महिलाहरु जसले आसाध्यै राम्रो व्यवसाय गरी रहेका छन् उनीहरुलाई धेरै संस्थावाट कर्जा लिन दवाव दिँदा उनीहरु आफ्नो थलोबाट पलाएन सम्म हुनु परेको अवस्था छ । आज भन्दा पाँच सात बर्ष अगाडी म इलाम पुग्दा स्थानीय कौशिल्ला देवी गुप्ता एक सफल किराना व्यवसायि महिला थिईन ।  किराना पसलबाट उनले राम्रो आम्दानी गरिरहेकी थिइन् र परिवार पनि खुशि थियो । पछि इलाममा लघुवित्त संस्थाहरुको संख्या वढ्दै जाँदा ती महलिालाई सबैले ऋण लिन कर गरेछन र १४ वटा संस्थाले ऋण दिन सफल भएछन् । म पछिल्लो पटक जाँदा उनी ऋण तिर्न नसकेर इलाम नै छोेडेर पलायन भइछन् । आफ्नो आम्दानी मात्र वढाउन लघुवित्तकर्मीहरुले सदस्यहरुलाई ऋण मात्र थोपारेर ऋणको पासोमा पार्नु भएन ।”

हाम्रो जस्तो मुलुकमा गरिबी निवारण र समाज परिवर्तनको लागि लघुवित्त एक ससक्त प्रणाली भएको र यसको लागि लघुवित्तको मर्म अनुसार अघि वढनु जरुरी रहेको अध्यक्ष शंकरमान श्रेष्ठको धारणा थियो । श्रेष्ठले लघुवित्त भनेको सामाजिक व्यवसाय भएकोले यसले उचित मुनाफा आर्जन गरेर गरिबी निवारण गर्नु पर्ने उल्लेख गरे । “ दिर्घकालिन रुपमा टिक्ने गरी स्वस्थ तरिकाबाट नाफा गर्नुस । सदस्यहरुलाई सधै भरी दुई छाक खान पुग्ने निर्वाहमूखी मात्र वनाउने होइन । सदस्यहरुलाई उद्यमी वनाउनु पर्यो । उनीहरुलाई विस्तारै मनोवल वढाएर अघि वढाउनु पर्छ । दिगो रुपमा अघि वढ्न लघुवित्तमा नयाँ पुस्ताको प्रवेश गराउनुस । यसका लागि विदेश पलायन भई रहेका सदस्यका छोराछोरीहरुलाई फिर्ता वोलाइ उद्यमशीलतामा जोडने वातावरण वनाउनु पर्छ ।” श्रेष्ठको सुझाव थियो ।

सो अवसरमा वेविनारका वक्ता मानुषी लघुवित्त वित्तीय संस्था लि. की प्रमुख कार्यकारी अधिकृत शोभा वज्राचार्यले लघुवित्तको कारण महिलाहरुको आर्थिक सशक्तिकरण भएको र यसले गर्दा महिलाहरुलाई समाजमा सम्मान मिलेको वताईन । “लघुवित्तमा आवद्ध महिलाहरु समाजमा स्थापित भएका छन् । उनीहरुलाई सबैले विश्वास गर्ने अवस्था सिर्जना भएको छ । महिलाहरुले अव वित्तीय क्षेत्र लगायत अन्य सबै क्षेत्र सम्हाल्ने क्रम वढेको छ । लघुवित्तले महिलाहरुलाई घर परिवार भित्रै माग्नेबाट दिन सक्ने वनाएको छ र उनीहरु अहिले वित्तीय निर्णय आफै लिन सक्ने भएका छन् ।” वज्राचार्यको भनाई थियो ।

लघुवित्तमा महिलाहरुलाई मात्र सदस्यता दिनुको कारण नै महिला सशक्तिकरणको लागि भएको र लघुवित्तहरुले यहि मर्म अनुसार अघि वढ्नु पर्ने बज्राचार्यको सुझाव थियो । “अहिले हामी लघुवित्तको सिद्धान्त विपरित गएका छौँ की जस्तो पनि लागेको छ । लघुवित्त कार्यक्रम गरीव र विपन्न वर्गको जीवनस्तर उकास्ने वित्तीय पद्धति हो, कम आम्दानी हुने र राज्यको सेवा वा सुविधाबाट वञ्चित भएकाहरुलाई समेटने, सहज रुपमा विना धितो गरीवको घरमा पुगेर ऋण उपलब्ध गराउने,  सदस्यहरुलाई सानो सानो बचत गर्न सिकाउने, गरीवहरुलाई आवश्यक पर्ने गैर वित्तीय सेवा पनि प्रदान गर्ने लघुवित्तको काम हो । महिलामा सामाजिक तथा आर्थिक परिवर्तन ल्याउनका लागि पनि यो मर्म र भावना अनुरुप चल्नु जरुरी छ । अहिले पनि महिलाहरु जागिरमा १५ प्रतिशत र व्यापारमा ९ प्रतिशत मात्र छन् । अव लघुवित्तले शत प्रतिशत महिलाहरुलाई सदस्य वनाई अघि वढाउन लागेका छन् । साथै एक जना महिला शिक्षित, सशक्तिकृत हुँदा सिंगो परिवारमा परिवर्तन आउछ । लघुवित्तको यहि पद्धतिबाट अघि वढ्नु पर्छ ” बज्राचार्यको सुझाव थियो ।

बेविनारका अर्का वक्ता ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले लघुवित्तको कारण महिलाहरुले सामाजिक र पारिवारिक जीवनमा निकै ठुलो सफलता प्राप्त गरेको वताईन । “घर भित्र सिमित विपन्न महिलाहरु लघुवित्तका कारण पाक्षिक वा मासिक केन्द्र बैठकको माध्यमवाट संगठित हुने अवस्था आयो । बचत गर्ने वानिको विकास भयो । नियमित बैठकमा अनुभवहरु साँटने र ब्यवसाय गर्ने अवसर प्राप्त भयो । विस्तारै आर्थिक क्षेत्रमा पहुच वढ्यो, आत्मविश्वास वढ्यो । नेतृत्व क्षमता विकास भयो । हाल महिलाहरुको राजनीतिक सहभागिता पनि वढ्दै गएको छ । विपन्नताबाट उठेका ग्रामीण महिला उत्थान केन्द्रका ५० जना सदस्यहरुले स्थानीय सरकारमा प्रतिनिधित्व गरी रहेका छन् । धेरै महिलाले विदेशमा रहेका आफ्ना श्रीमान स्वदेश फर्काएर स्वरोजगारी वा उद्यममा संलग्न गराउन सफल भएका छन् । लघुवित्तले आत्मनिर्भर वनाउदा घरायसी समझदारी वढेको र महिला माथि हुने घरेलु हिंसाका घटनामा कमि आएको छ ।” चौधरीको भनाई थियो ।

वेविनारका अर्का बक्ता जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेका जिल्ला प्रमुख मैयाँ राईले लघुवित्त कर्मचारीहरुको अथक मेहनतले धेरै महिलाहरु लघुवित्तमा प्रवेश गरेको र हाल प्रगति गर्न सफल भएको अनुभव सुनाईन । राईका अनुसार हिजो आफ्नै श्रीमानसंग वोल्न नसक्ने महिलाहरु अहिले सामाजिक हुदै राजनीतिक क्षेत्रमा पनि नेतृत्व गर्न सक्षम भएका छन् । “लघुवित्त सेवा गरीव र विपन्न सम्म पनि पुगेको छ । सदस्यका घर परिवारको शिक्षा र स्वास्थ्यमा पनि निकै सुधार आएको छ । दुई दशक अघि लघुवित्त सदस्य वनाउन निकै समस्या थियो । झापाको भद्रपुरमा धेरै संस्थाबाट कर्जा लिई भाखा नाघेको कारणबाट लघुवित्तको विरोधमा थुपै्र आवाज उठे तर हामीले सम्झाएर त्यहाका महिला सदस्यहरुलाई ठिक बाटोमा ल्यायौँ । अनावश्यक कर्जा लीई दुरुपयोग गर्नु हुदैन, आफ्नो आवश्यकता र क्षमता अनुसार मात्र कर्जा लिनु पर्छ, व्यवसायि हुनु पर्छ भन्ने सम्झाई बुझाई सहि बाटोमा हिडन लगायौँ । लघुवित्तकर्मीले पनि जथाभावि ऋण दिनु हुदैन भन्ने कुरा सिकायौँ । उद्यम गरेर आम्दानी हुन थाले पछि लघुवित्तलाई त्यहाँ सबैले राम्रो भन्ने अवस्था सिर्जना भयो ।” राईले आफु फिल्डमा काम गर्दाको अनुभव सुनाईन ।

अस्वस्थ प्रतिस्पर्धा, धेरै ऋणको भारी बोकाएको, असुलीमा जवरजस्ती गर्ने जस्ता कृयाकलापले केहि समस्या देखा परेको उनको धारणा थियो । “केहि ठाउँमा सदस्यले आत्महत्या समेत गरेको समाचार छ । यस्ता घटना लघुवित्तमा कमै छन् तर यसले लघुवित्त प्रति नकारात्मक सन्देश दिएको छ । यसवाट हामीले पाठ सिक्नु जरुरी छ । अस्वस्थ प्रतिस्पर्धा भएको कारण धेरै समस्या भएको हो ।” उनको धारणा थियो ।

वेविनारका सहजकर्ता तथा उपकार लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेलले लघुवित्तले महिलाहरुलाई चौका देखि चोक, गृहणी देखि व्यवसाय सम्म पुर्याएको वताईन ।

प्रस्तुति पछिको खुला छलफलमा सहभागीहरुले महिला सशक्तिकरणको लागि उद्यमशीलता अझ व्यापक रुपमा अघि वढाउनु पर्ने, लघुवित्तमा महिला कर्मचारीको संख्या वढाउनु पर्ने र कोरोना महामारीका कारण प्रभावित भएका लघुवित्त सदस्यको व्यवसाय पुनस्र्थापनाका विषयमा चासो राखेका थिए । वेविनारमा विभिन्न लघुवित्त तथा वित्तीय क्षेत्रबाट १सय १० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समाचार

सुचना