स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा कोरोना कहर : सदस्यको भौतिक सुरक्षा पहिलो प्राथमिकता

लघुवित्तकर्मीहरुले ग्राहक सदस्यको भौतिक र व्यवसायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने निष्कर्ष निकालेका छन् ।

कोरोना महामारीका कारण लघुवित्त क्षेत्रमा परेको असर र यसको न्यूनिकरणका उपायहरु बारे छलफल गर्न स्वावलम्बन विकास केन्द्रले सातौँ संवाद श्रृंखलाको रुपमा २०७८ बैशाख ३० गते आयोजना गरेको लघुवित्तमा कोरोना महामारीको असर न्यूनिकरण विषयक छलफलका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले कोरोना महामारीको भयावह अवस्थाको कारण देश भरीको जनजीवन कष्टकर भएको वर्तमान अवस्थामा कर्मचारी तथा ग्राहक सदस्यहरुको जीवन सुरक्षा पहिलो प्राथमिकता भएकोले तत्काललाई लघुवित्त संस्थाहरुको प्रयास कोरोना संक्रमण फैलन नदिन र संक्रमण फैलिसकेको ठाउँको जनजीवनमा सहजता ल्याउन तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिएका छन् ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले सहजीकण गरेको सो प्यानेल छलफलमा    प्यानेलिष्टको रुपमा सात वटै प्रदेशबाट एक एक जना लघुवित्त कर्मीहरुको सहभागिता रहेको थियो । जस मध्ये प्रदेश १ बाट जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजय मण्डल,  प्रदेश २ बाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष प्रभु नारायण चौधरी, वागमती प्रदेश बाट स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडा, गण्डकी प्रदेशबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमला योगी, लुम्बिनी प्रदेश बाट उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेल, कर्णाली प्रदेश बाट बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विशाल केसी र सुदुर–पश्चिम प्रदेश बाट उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द सहभागी थिए ।

प्रस्तुतिको क्रममा सातै जना प्यानलिष्टहरुले आ–आफ्नो क्षेत्रमा कोरोना संक्रमणको पछिल्लो अवस्था, महामारीका कारण लघुवित्त संस्थाले भोगेको समस्या र लघुवित्त क्षेत्रमा महामारीको असर कम गर्ने उपाय बारे प्रस्तुति गरेको थिए ।

सातैजना प्यानेलिष्टहरुकोे प्रस्तुति पछि आफ्नो धारणा राख्दै  स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले कोरोना महामारीको वर्तमान समयमा लघुवित्त संस्थाहरुले अभिभावकको भूमिका खेल्नु पर्ने धारणा राखे । ‟यस्तो संकटको बेला लघुवित्त संस्थाले सदस्यहरु भौतिक एवं आर्थिक रुपले कस्तो अवस्थामा छन् निरन्तर सुचना लिएर सदस्यको विवरण संकलन गरी आवश्कता अनुसार राहतका कार्यक्रम ल्याउनु पर्छ । नाजुक अवस्थामा रहेका सदस्यहरुलाई सामाजिक उत्तरदायित्व कोषबाट भए पनि सहयोग गर्नु पर्छ । यो संकटको वेला प्रमुख कार्यकारी अधिकृतहरुको भूमिका पनि सदस्य केन्द्रित हुनु प¥यो र बढी जसो समय सदस्यको सुरक्षा र हितको लागि दिनु पर्यो ।ˮ श्रेष्ठले भने । आफ्ना सदस्यहरु संग नियमित सम्पर्कमा वसेर कोरोना नपुगेको ठाउँमा प्रभावकारी रुपमा जनचेतना प्रवाह गर्न कर्मचारीहरुलाई परिचालन गर्न, कति जना सदस्य कोरोना प्रभावित भए, उनीहरुको अवस्था के छ ? कसरी बसेका छन् ? भन्ने कुराको चासो राख्नु पर्ने र संक्रमण नभएको ठाउँमा सदस्यलाई सुरक्षित बनाउने कदम चाल्न श्रेष्ठले आग्रह गरे । साथै कोरोना कालमा अरु बेला जस्तो असुलीमा केन्द्रित हुन नहुने श्रेष्ठको धारणा थियो । ‟भर्खरै मात्र सुनसरीमा असुलीका लागि सदस्य माथि हातपात भयो भन्ने खबर बाहिर आयो । त्यस्तै सुदूर–पश्चिममा पनि एकै ठाउँमा बैकठ गरी असुलीमा केन्द्रित हुँदा लघुवित्तले संक्रमण फैलायो भन्ने खबर आयो । यस्तो कदापि हुनु भएन ।ˮ श्रेष्ठले भने ।

प्रस्तुतिको क्रममा प्यानलिष्टहरुले भाखा नाघेको कर्जा बढ्दै गएको र यो असहज अवस्थामा नियामक निकायले सहज नीति ल्याएर लघुवित्तलाई सघाउनु पर्ने धारणा राखेका थिए । सो प्रसंगमा बोल्दै श्रेष्ठले लघुवित्तको सिद्धान्त र मर्म अनुसार चलेमा जस्तो सुकै विपत्तिमा पनि लघुवित्तहरु डराउन नहुने धारणा राखे । ‟कोरोनाको कारण भाखा नाघ्यो भनेर चिन्ता गर्नु पर्दैन । महामारीको बेला केही असुली हुन नसकेको देखिए पनि पछि विस्तारै असुली हँुदै जान्छ । भाखा नाघेको कर्जा बढ्नु कोरोनाको कारण मात्रै होईन नाफा केन्द्रित भएर मनलाग्दी ऋण प्रवाह गरी धेरै संस्थाले एउटै सदस्यलाई ऋणको भारी बोकाउने प्रवृतिले यस्तो अवस्था आएको हो । एउटै सदस्यलाई धेरै संस्थाले ऋण दिएर हो । लघुवित्तको मर्म विपरित काम गरेर हो । लघुवित्तमा कोरोना अघि पनि भाखा नाघेको कर्जा १२ प्रतिशत थियो । ठिक ठाउँमा, ठिक तरिकाले, ठिक मान्छेलाई अझ गरिबलाई दिएको ऋण कहिल्यै डुब्दैन । तर अहिले ऋण असुली भन्दा पनि सदस्यहरुको अवस्था के छ र कस्तो सहयोगको आवश्यकता छ । त्यो बुझ्न जरुरी छ । उनीहरुलाई बचाउन सक्यौँ भने पनि अहिलेको ठूलो उपलब्धि हो ।ˮ श्रेष्ठले भने ।

सहजीकरणको शुरुवातमा अध्यक्ष शंकर मान श्रेष्ठले कोरोना महामारीले मुलुकभर डरलाग्दो रुप लिएको दृष्टान्तहरु पेस गर्दै महामारीको असर न्यूनिकरणमा लघुवित्त संस्थाहरुले के गर्नु पर्छ र कसरी काम गरी रहेका छन् भन्ने बारे चासो र जिज्ञासा राखेका थिए ।

प्रस्तुतिको क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मंण्डलले प्रदेश १मा कोरोना संक्रमणको भयावह अवस्था रहेको बताउँदै वर्तमान अवस्थामा लघुवित्तहरुले सदस्य र कर्मचारीको मनोवल उच्च राख्ने काम गर्नु पर्ने धारणा राखे । साथै जीवन विकासले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सुरक्षाका उपाय अपनाउन स्थानीय सरकार सँग सहकार्य गरेको, गाउँ गाउँमा डिजिटल सदस्य मार्फत कारोवार शुरु गरेको, डिजिटल एप मार्फत अनलाइन कारोबार शुरु गरेकोे र यसले जोखिम कम गर्नुको साथै सदस्यले सहज रुपमा सेवा प्राप्त गरेको बताए । मण्डलले कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका सदस्यहरुलाई स्वास्थ्य किट र पोषिलो खानाको लागि रु. दुई हजारको प्याकेज वितरण गरेको, संक्रमितलाई फोनबाट डाक्टरको सेवा प्रदान गरेको र दैनिक आम्दानी गरेर खाने वर्गका सदस्यहरुको लागि भोकै बस्न नपरोस भनेर सहयोग गरी रहेको जानकारी दिए । साथै मण्डलले कर्मचारीलाई हतोत्साहित हुन नदिन दैनिक संचार सम्पर्क गरेर हरेक ठाउँको वस्तु स्थिति पनि बुझ्ने गरेको जानकारी दिए ।

यसै गरी महुली लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रभुनारायण चौधरीले भारत सँगको खुला सिमाना र धार्मिक पीठहरु भएको कारण प्रदेश २ मा कोरोना संक्रमण उच्च दरमा फैलिएको बताउँदै हाल २५ हजार सक्रिय संक्रमित रहेको तथ्य प्रस्तुत गरे । चौधरीले वर्तमान अवस्थामा सदस्यलाई सुरक्षित रहन चेतना जगाउने र आफै कसरी सुरक्षित बस्ने भन्नेमा जोड दिएको जानकारी गराए । चौधरीले संस्थामा बहुकर्जा प्रवाह ३२ प्रतिशत रहेको तथ्य प्रस्तुत गर्दै पहिलो चरणको महामारीका बेला भाखा नाघेको कर्जा असुली हुन नपाउदै शुरु भएको दोस्रो चरणको महामारीले थप समस्या निम्त्याउने र नियमनकारी निकायलाई महामारीबाट संस्था जोगाउन पहल गर्नु पर्नेे धारणा राखे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले भाखा नाघेको कर्जा बढेर १६ प्रतिशत पुगेको भए पनि संस्थाले अहिले ग्राहक बचाउने नीति अनुरुप काम गरेको बताए । कोरोनाबाट अस्पताल जानु पर्ने अवस्था आए प्रत्येक सदस्यलाई रु १० हजार सम्म द्रुत कर्जा प्रदान गर्ने आन्तरिक नीति बनाएको उल्लेख गरे । साथै खतिवडाले महामारी सँग जुध्न संस्थाले कार्य निर्देशिका बनाएको र यसले सदस्य सँग दुरी कायम गरी केन्द्र बैठक राख्ने, असुलीमा जबरजस्ती नगर्ने लगायत कर्मचारी तथा सदस्यहरुको सुरक्षा योजनाहरु समेटिएको जानकारी दिए । दोस्रो लहरमा हाल सम्म १२४ जना कर्मचारी संक्रमित भई सकेको र हरेक दिन जसो ८, १० जना संक्रमित कर्मचारी थपिने अवस्था रहेको उल्लेख गरे ।

प्रस्तुतिको क्रममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड की प्रमुख कार्यकारी अधिकृत विमला योगीले कोरोना महामारी बाट संक्रमित १५ जना कर्मचारी रु ५२ जना सदस्यहरुको उपचारमा संस्थाले सहजीकरण गरेको जानकारी गराइन् । यसै गरी सदस्यको उत्पादनको बजारीकरणको लागि संस्था आफैले स्थापना गरेको ग्रीन शप बाट सदस्यको माग बमोजिमको पौष्टिक आहार घर घरमा पु¥याइ रहेको, सदस्यले उत्पादन गरेको दुध घरबाटै संकलन गरी उपभोक्ताको घर घर पु¥याइ रहेको उल्लेख गरिन् । योगीले सदस्य लक्षित मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै दाङको घोराहीमा स्थानीय सरकार सँगको सहकार्यमा अक्सिजन सहितको ५० शैयाको आइसोलेशन निर्माण गरिरहेको जानकारी गराइन् । साथै योगीले महामारीको अवस्था सुहाउदो रोजगारी सिर्जना गर्न सुरक्षित तरिकाले मास्क तथा पीपीइको निर्माण र बजारीकरण गरी रहेको उल्लेख गरिन् ।

योगीले लघुवित्तले लोक कल्याणकारी कुरा मात्र गर्ने गरेको तर गरिब, दलित, जनजाति जस्तो विभेदमा परेको वर्गलाई प्राथमिता दिन नसकेका गुनासो गरिन् । साथै लघुवित्तले सदस्य संगै कर्मचारीको जीवन यापनमा सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु पर्ने योगीको धारणा थियो ।

उपकार लघुवित्त वित्तीय संस्था की प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेलले कोरोना संक्रमणको अनुभव सुनाउदै संक्रमण बढ्न नदिनु र संक्रमित भएका सदस्यहरुको मनोवल उच्च राख्नु अहिलेको आवश्यकता रहेको विचार राखिन् । अहिलेको अवस्थामा लघुवित्तले अनुशासनमा वसेर काम गर्नु पर्ने र असुलीमा जोड गर्न नहुने पोखरेलको धारणा थियो । पोखरेलले केहि सदस्यहरुले अहिले पनि किस्ता तिर्ने बारे चिन्ता गरेको तर आफुले अहिले असहज अवस्था भएकोले न आत्तिन भनेको अनुभव समेत सुनाइन् । 
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले कर्णाली प्रदेश पनि कोरोना महामारीको चपेटामा परेको आंकडाहरु प्रस्तुत गर्दै आफ्नो अहिलेको प्रयास पनि महमारी नियन्त्रण तथा त्यसकोलागि सहयोगमै केन्द्रित रहेको जानकारी दिए । हाल असुलीको काम बन्द गरेर कर्णाली प्रदेशमा अक्सिजन उत्पादन प्लान्ट स्थापना गर्न लागि परेको जानकारी गराए ।
प्रस्तुतिकै क्रममा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले सुदुर पश्चिम प्रदेशमा पनि कोरोना संक्रमण समुदाय सम्मै पुगेको जानकारी गराउदै यसबाट बाच्नु पहिलो प्राथमिता रहेको जानकारी गराए । अहिले कार्यालय बन्द रहेको र सदस्यहरुको अवस्था बारे बुझ्न कर्मचारीहरुले नियमित फोन सम्पर्क गरी जनचेतना जगाउने काम गरी रहेको जानकारी दिए । यसै गरी चन्दले सदस्यहरुले उत्पादन गरेको तरकारी बजारीकरणमा संस्थाले सहजीकरण गरेको र १३ प्रतिशत भन्दा कम सहुलियत दरमा कर्जा प्रवाह गर्ने, बढीमा ३० हजार सम्मको ऋण घरमै उपलब्ध गराउने, प्रबिधि मैत्री सेवा विस्तार गर्दै लैजाने बताए । चन्दले जिल्ला सहकारी संघ संगको सहकार्यमा क्वारेन्टाइनमा खाना तथा अन्य व्यवस्थापनको लागि नगरपालिका मार्फत रु ३ लाख सहयोग गरेको जानकारी गराए ।
खुला छलफलका क्रममा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले लघुवित्तमा महामारीले पारेको असरको विवरण संकलन गर्न र सोही आधारमा राष्ट्र बैंकलाई महामारी केन्द्रित नीति ल्याउन भन्न लघुवित्तकर्मीहरुलाई सुझाव दिए ।
कार्यक्रममा मुलक भरीका लघुवित्त संस्थाको प्रतिनिधित्व गरी कोरोनाको असर न्यूनिकरणका उपाय खोज्ने तथा अभ्यास र सिकाईहरु आदान प्रदान गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले यो छलफलको आयोजना गरेको हो । छलफलमा लघुवित्त तथा सहकारी संस्थाका १ सय ९८ जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना