स्वावलम्बन विकास केन्द्र

लघुवित्त संस्थाहरू मर्म र सिद्धान्त विपरित चल्दा यस पद्धतिमा विरोधाभाष र चुनौति बढ्दै गएको विज्ञहरूको निश्कर्ष

लघुवित्त संस्थाहरूको कार्यशैली लघुवित्तको मर्म र सिद्धान्त विपरित हुँदै जादा यस क्षेत्रमा थुप्रै विरोधाभाष उत्पन्न भएको र यसले लघुवित्त क्षेत्रमा धेरै चुनौति पनि थपेको विज्ञहरूको निष्कर्ष रहेको छ । साथै लघुवित्तको मर्म र भावना अनुसार अघि बढे यस्ता चुनौति र विरोधाभाषहरू सजिलै परास्त हुने विज्ञहरूको धारणा रहेका छ ।

नेपालको लघुवित्त क्षेत्र नाफामुखी भैरहेको वर्तमान परिप्रेक्षमा लघुवित्त मुनाफा आर्जन गर्ने प्रणाली हो अथवा सामाजिक सेवा गर्ने  हो भन्ने विरोधाभाष वा दुविधाहरू पैदा हुन थालेका छन् । यसको साथै केही चुनौतीहरू पनि देखा परेका छन् । यिनै दुविधाहरु बारे प्रष्ट पार्न स्वावलम्बन विकास केन्द्र र अष्ट्रेलियाको दी युनिभर्सिटि अफ साउथ वेल्सले संयुक्त रुपमा  २०७९ भाद्र १० गते लघुवित्त क्षेत्रमा देखा परेको चुनौति तथा कार्यशैलीको विरोधाभाष (Emerging Chllaenges and Paradoxes of Microfinance Institutions in Nepal) विषयक एक दिने सेमिनारको आयोजना गरीएकोे हो ।

कार्यशाला उद्घाटन समारोहमा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले वर्तमान समयमा लघुवित्त संस्थाहरूको उद्देश्य र कार्यशैलीमा विरोधाभाष रहेको र यसले गरीब तथा विपन्न महिलाहरूको जीवनस्तर माथि उकास्ने र मुलुकको गरीबी निवारणमा योगदान गर्ने अपेक्षा पुरा हुन नसकेको उल्लेख गर्नु भयो । “नेपालमा लघुवित्त नाफा केन्द्रित हुँदा धेरै समस्या आएका छन् । केही चुनौति आएका छन् र विरोधाभाष पनि देखा परेका छन् । तर प्रष्टै छ लघुवित्तको मुख्य लक्ष भनेको गरीब र विपन्न वर्ग वा समूहको उत्थान गर्ने हो । त्यसैको लागिनै लघुवित्तको स्थापना भएको हो । तर त्यो बर्गको हितलाई केन्द्रमा राखेर काम हुन सकेको छैन । जुनसुकै हालतमा नाफा कमाउने तर्फ उन्मुख हुँदै गएको छ । विपन्न बर्गमा वित्तीय पहुँच पुर्याएर सदस्यहरूलाई लघुउद्यमी बनाउने र मुलुकको गरीबी निवारण गर्ने आशा गरिएको थियो । वित्तीय अनुशासनमा बसेर, सदस्यलाई तालिम दिएर वित्तीय पहुँच पुर्याएको खण्डमा जो सुकै मान्छे पनि उद्यमी बन्न सक्छ र  धनी हुन सक्छ । तर अहिलेको कृयाकलाप हेर्दा भोलि कुनै पनि अध्ययन अनुसन्धानले लघुवित्त संस्थाकै कारण गरीबी बढ्यो भने पनि अचम्म मान्नु पर्ने अवस्था छैन । सबै जसो ऋणी महिलाहरू छन् । करीब २ प्रतिशत मात्र पुरुष छन् । यदि लघुवित्तले महिला सदस्यहरूलाई उद्यमी बनाएर जीवनस्तर उकास्न सक्दैन भने त्यो महिला माथिको भेदभाव ठहरिने अवस्था हुनेछ । जसको जीवनस्तर उकास्ने लक्ष लिएर स्थापना भएको हो उसैले आत्महत्या गर्दा वा गाउँ छाड्दा पनि अप्ठेरो लागेको छैन ? अव सुध्रनुहोस, वेला यहि हो । नत्र बुढेशकालमा पछुताउनु पर्ला ।” डा. नेपालले भन्नुभयो ।

सो अवसरमा कार्यशालाका सभाध्यक्ष तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न लघुवित्तको स्थापना भएको बताउदै यसमा कुनै विरोधाभाष नभएको र लघुवित्तकर्मीले दुविधामा वस्न नहुनेमा जोड दिनु भयो । “लघुवित्त संस्था दर्ता गर्दानै हरेकको प्रबन्ध पत्रमा गरीबी निवारण गर्ने उद्देश्य लेखिएको छ । तर हामी नाफामा केन्द्रित भएका छौँ । नाफा न कमाउने भन्ने होइन । उचित मुनाफा पनि आर्जन गर्नु परयो । तर सदस्यको उत्थान गर्ने कुरा विर्सनु भएन । अहिले हामीले लघुवित्तको मर्म, मुल्य, मान्यता सबै छाडेका छौँ । सदस्यको आवश्यकता र क्षमता अनुसार ऋण दिने भन्दा अहिलेको कार्यशैली सदस्यलाई उद्यमी बनाउने भन्दा पनि जुन सुकै हालतमा ऋण दिने र असुली गर्नेमा केन्द्रित हुँदै गएको छ । अहिले सदस्यहरूलाई साप्ताहिक बैठकको सट्टा मासिक बैठक गर्ने र सदस्यहरू संग भेटघाट नगरेर लघुविहरू खर्च घटाउने उल्टोबाटो हिडेका छन् । अब हामीले सदस्यलाई ऋणी बनाउने होइन उद्यमी बनाउने हो ।  उनीहरूलाई सक्षम र उद्यमी बनाएर आफूले फाइदा लिने हो । अहिले विभिन्न समस्याहरू आएका छन् । लघुवित्त सदस्यलाई उद्यमी बनाउन सके अहिले देखा परेका अधिकांश विरोधाभाष वा चुनौतिहरु आफै समाप्त हुन्छन ।” श्रेष्ठले भन्नु भयो ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले लघुवित्तमा हाल देखा परेका चुनौति र विरोधाभाषको चर्चा गर्नु भएको थियो । अष्ट्रेलियाको दी युनिभर्सिटी अफ साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक डा. जोस किलरले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नेपालको लघुवित्त, सहकारी, बैंक वित्तीय क्षेत्र, लघुवित्त सदस्य, विश्वविद्यालयका अध्यापक, अनुसन्धानकर्ता, नियामक निकायका प्रतिनिधि लगायत ८५ जनाको सहभागिता रहेको थियो ।

 

समाचार

सुचना