स्वावलम्बन विकास केन्द्र

लघुवित्तका तीन जना उत्कृष्ट महिला लघुउद्यमी सदस्य पुरस्कृत

स्वावलम्बन विकास केन्द्रले लघुवित्तका तीन जना सदस्यहरुलाई उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार २०७६ वाट पुरस्कृत गरेको छ । लघुवित्त सेवा प्राप्त गरी उद्यम गरेका  देशभरीका लघुउद्यमी सदस्यहरु मध्येबाट उत्कृष्ट लघुउद्यमी ठहरिएका सदस्यहरुलाई २०७७ फागुन ६ गते बाँके जिल्लाको कोहलपुरमा आयोजित सम्मान समारोहमा लुम्बिनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जनही नगद रु २५००० तथा प्रमाणपत्र प्रदान गरेकी हुन् ।

पुरस्कृत हुनेमा बाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, दाङ्ग जिल्लाको लमहीमा पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र बाँके जिल्लामा गाईपालन तथा तरकारी व्यवसाय सञ्चालन गर्दै आएकी लक्ष्मी देवी खड्का रहेकी छिन् ।
पुरस्कृत लघुउद्यमी सदस्य मनु थापा मगर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर बाँके, गीता चौधरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही दाङ्ग र लक्ष्मी देवि खड्का उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर, वाँके संग आवद्ध उद्यमी सदस्य हुन ।
उत्कृष्ट लघुउद्यमी पुरस्कार वितरण समारोहमा वोल्दै लुम्बिनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले लघुवित्तका कारण मुलुकले महिला सशक्तिकरणमा उल्लेख्य प्रगति हासिल गरेकोे तथा महिलाहरु संगठित हुन पनि वल पुगेको र विशेष गरी जीवनमा के गरौँ कसो गरौँ भन्ने निराश अवस्थामा रहेका विपन्न महिलाहरुकालागी सीप र पूँजी दुबै उपलब्ध गराएर लघुवित्त कार्यक्रम वरदान सावित भएको धारणा राखिन् ।
अव लघुवित्त कार्यक्रमलाई ऋण दिने र लिने काममा मात्र सिमित नराखी सामाजिक र राजनीतिक परिवर्तनको वाहकको रुपमा हेरिनु पर्ने मन्त्री पौडेलको भनाई थियो । साथै पुरुषको तुलनामा महिलाले गर्ने आम्दानी उत्पादक क्षेत्रमा लगानी हुने हुँदा महिलाहरुलाई उद्यमी वनाउने तथा आय आर्जनमा जोड्नु पर्ने पौडेलको धारणा थियो । “पुरुषको तुलनामा महिलाहरु फजुल खर्च कम गर्छन, उनीहरुको आम्दानी वालवालिकाको शिक्षा तथा परिवारको आवश्यकता पुरा गर्ने काममा खर्च हुन्छ त्यसैले महिलालाई आय आर्जन संग जोडनु पर्छ ।” पौडेलको भनाई थियो ।
मन्त्री पौडेलले महिला उद्यमीहरुको मेहनतलाई कदर गरी पुरस्कृत गर्ने स्वावलम्बन विकास केन्द्रको काम प्रशंसायोग्य भएको र तिनै जना महिलाउद्यमी बधाई तथा पे्ररणाको पात्र भएको वताइन् । पुस्कृत तीनै जना उद्यमी लुम्बिनी प्रदेशको भएकोले निकै खुशी लागेको र पुरस्कृत सदस्यहरुको मेहनत सबैका लागी सम्मानजनक र अनुशरणयोग्य रहेको मन्त्री पौडेलको धारणा थियो । यो संगै मन्त्री पौडेलले प्रदेश मन्त्रालयले पनि उद्यमशीलता विकासको लागी थुप्रै नीति तथा कार्यक्रम ल्याएको र लघुउद्यमी महिलाहरुलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा सहभागी गराउन लघुवित्त संस्थाहरुलाई पनि आग्रह गरिन् ।
यसअघि पुरस्कृत तीनै जना सदस्यहरुले आफ्नो संघर्षको कथा र आफ्नो सफलतामा लघुवित्तले कसरी सघायो भन्ने वारे आफ्ना अनुभवहरु सुनाएका थिए ।
समारोहमा वोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटवहादुर रावतले नेपालमा सम्भावना छैन भन्दै कामको लागि विदेश जाने युवाहरुको लागि पुरस्कृत तीनै जना सदस्य गतिलो उदाहरण भएको र नेपालमै केहि गर्न सम्भव छ भन्ने उदाहरण भएको धारणा राखे । यसै गरी केहि गरौँ भन्ने जाँगर भएका महिलाहरुको मेहनतलाई सम्मान दिने स्वावलम्बन विकास केन्द्रको काम सह्रानीय भएको र उद्यमी महिलाहरुलाई हौसला दिने तथा पुरस्कृत गर्ने कामलाई स्वावलम्बन विकास केन्द्रले आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
समारोहमा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले उद्यमशीलता विकास र प्रवद्र्धन गर्नुका साथै उद्यमी सदस्यको पहिचान दिलाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले यो पुरस्कार स्थापना गरेको र विजेता छान्दा पनि ३ तहको मुल्यांकन समितिले १० वटा सुचकहरुको आधारमा उत्कृष्ट लघुउद्यमी सदस्य छानेको जानकारी गराए । साथै आगामी दिनमा पनि केन्द्रले यस्तो पुरस्कारलाई निरन्तरता दिने गिरीको भनाई थियो ।
समारोहमा स्वावलम्बन विकास केन्द्रका प्रवन्ध समिति सदस्य तथा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले गरीवी हटाउन, रोजगारी श्रृजना गर्न तथा मुलुकलाई परनिर्भरतावाट आत्मनिर्भर वनाउन अव महिलाहरु अगाडि आएर उद्यमी वन्नु पर्ने र यसै उद्देश्यको लागी लघुवित्त कार्यक्रम शुरु भएको उल्लेख गरे ।
समारोहमा स्वावलम्बन विकास केन्द्रका प्रवन्ध समिति सदस्य तथा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्बर वहादुर शाहले पुस्कृत हुनेको बर्षौ सम्मको लगन र मेहनतले यो सफलता प्राप्त भएको र यो सबै लघुवित्त सदस्यको लािग अनुशरण योग्य रहेको धारणा राखे ।
यसै गरी ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले सबै सदस्य तथा लघुवित्त संस्थाहरु “स्वच्छ लघुवित्त, हाम्रो अभियान” भन्ने नाराको मर्म अनुरुप अगाडी वढ्नु पर्ने र यसो गर्दा सहजै परिवर्तन ल्याउन सकिने धारणा राखिन् ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शान्ति ढकालले पुरस्कार वापत पाएकोे नगद २५हजार भन्दा पनि यसको गरिमालाई न्याय गर्न र उद्यमशीलतालाई सबै सदस्यले निरन्तरता दिदै जिम्मेवारी वहन गर्नु जरुरी रहेको कुरा उल्लेख गरिन् ।
सहभागीहरुलाई धन्यवाद प्रदान गर्दै स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले श्रमको लागि विदेश जाने तर मुलुक भित्रै अवसर हुँदा हुँदै पनि उद्यमी वन्न र उद्यमशीलतालाई महत्व नदिइएको वर्तमान अवस्थामा लघुवित्त सदस्यलाई प्रोत्साहन गर्न स्वावलम्बन विकास केन्द्रले उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार स्थापना गरेको जानकारी गराए । 
समारोहमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका अध्यक्ष के.पी. चौधरी, वातावरण सुधार वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रलाल आचार्य, कार्यकारी प्रवन्धक श्री सुरज प्रसाद आचार्य, वरिष्ठ प्रवन्धक किरण वस्नेत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोगत विर चौधरी लगायत लघुवित्तकर्मी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।   
स्वावलम्बन विकास केन्द्रले विजेता छनौट गर्दा व्यवसाय वृद्धि, उत्पादन र विक्रीको प्रवृत्ति, नाफाको प्रवृत्ति, व्यवसायमा नयाँ कार्यशैलीको प्रयोग, व्यवसायको दिगोपना, समाजमा पुर्याएको योगदान, वातावरणमा पारेको सकारात्मक प्रभाव, प्रविधिको प्रयोग, व्यवसाय अनुशरणको सम्भावना र बजार व्यवस्थापनको स्थिति लगायत १० वटा मापदण्डको आधारमा मुल्यांकन गरिएको थियो ।


लघुवित्त प्रणालीको उद्देश्य लघुउद्यमशीलताको विकास गरेर स्थानीय रुपमा रोजगारी सृजना गर्ने र  विपन्न वर्गको सामाजिक तथा आर्थिक रुपान्तरण गर्नु रहेको छ । स्वावलम्बन विकास केन्द्रले विपन्न बर्गमा आर्थिक पहँुच पुर्याएर गरीबी निवारणमा टेवा दिने लघुवित्त संस्थाहरुलाई प्रोत्साहित गर्दै आएको छ । यसै सन्दर्भमा लघुउद्यमी महिला सदस्यहरुमा थप उर्जा एवं हौसला प्रदान गर्ने अभिप्रायले स्वावलम्बन विकास केन्द्रले उत्कृष्ट महिला लघुउद्यमी सदस्यहरुलाई यो पुरस्कार दिने नीति लिएको छ ।

समाचार

सुचना