स्वावलम्बन विकास केन्द्र

वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यशाला सम्पन्न

स्वावलम्बन विकास केन्द्रको आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल लज रिसोर्टमा २०७९ माघ १५ देखि १८ सम्म फिल्ड अवलोकन आधारित चार दिने वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यशाला सम्पन्न भएको छ । यस आवासीय कार्यशालाको मुख्य उद्देश्य लघुवित्तकर्मीहरुलाई वातावरणमैत्री स्वावलम्बन गाउँको अवधारणा र यसका विभिन्न क्रियालापहरुबारे जानकारी तथा अनुभव गराउनु रहेको थियो । साथै सिकाईको आधारमा वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमलाई लघुवित्तको एक अभिन्न अंगको रुपमा आत्मसात गराउने पनि रहेको थियो । कार्यशाला वातावरणमैत्री गाउँ विकास परियोजनाको फिल्ड अवलोकन, परियोजनाका लाभग्राही तथा लक्षित स्थानीयहरु सँंगको छलफल तथा सहभागी बिचको अन्तक्र्रियामा आधारित थियो ।

कार्यशाालाको पहिलो दिन सहभागीहरु स्वावलम्बन विकास केन्द्रको कार्यालयमा भेला भएर नाम दर्ता गरी कार्यशाला आयोजना स्थल धुलिखेल लज रिसोर्ट तर्फ प्रस्थान गरेका थिए । कार्यशाला उद्घाटन कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्नुको साथै वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमको महत्व र यसको कार्यान्वयनमा लघुवित्त क्षेत्रको भूमिका बारे जानकारी गराउनु भएको थियो । साथै उहाँले यो कार्यशालाको विधि र पद्धति तथा चार दिन सम्म सिकेको ज्ञान र सीपलाई कसरी योजनाबद्ध गरेर कार्ययोजनाको मस्यौदा तयार गर्ने भन्नेबारे पनि जानकारी गराउनु भएको थियो ।

पहिलो दिनको प्राविधिक सत्रलाई ग्रामीण प्रविधि केन्द्रका प्राविधिक अधिकृत द्वय सानुबाबु पण्डित र फर्स बहादुर टण्डनले सहजीकरण गर्नु भएको थियो । सो अवसरमा उहाँहरुले लक्षित गाउँको वातावरण र जैविक विविधता संरक्षण, सरसफाई तथा स्वच्छता, जलवायु परिवर्तनको दृष्टिकोण, जलवायुमैत्री गतिविधिहरू र वातावरणमैत्री स्वावलम्बन गाउँका आधारभूत पूर्वाधार तथा विशेषताहरूबारे जानकारी गराउनु भएको थियो ।

दोस्रो दिन सहभागीहरूले बाह्रविसे नगरपालिका वडा नं ३ को धार्पा गाउँ पुगेर वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम अन्तर्गत भएका अभ्यास तथा कृयाकलापहरुको अध्ययन, अवलोकन गरेका थिए । धार्पा गाउँलाई वातावरणमैत्री स्वावलम्बन गाउँ बनाउन स्वावलम्बन विकास केन्द्र, ग्रामीण प्रविधि केन्द्र र मानुषी लघुवित्त वित्तीय संस्था लि.को त्रिपक्षीय पहलमा विभिन्न क्रियाकलापहरू भैरहेका छन् । सहभागीहरूले यहाँका स्थानीय लाभग्राहीसँग छलफल गर्नुको साथै टनेल खेती, प्लास्टिक पानी पोखरी निर्माण, जैविक झोल मल तथा विषादि निर्माण र प्रयोग, गड्यौला मल उत्पादन, सुधारिएको चुल्होको प्रयोग लगायत वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम अन्तर्गत भएका अभ्यासहरूको अवलोकन गरी तिनले स्थानीयको सामाजिक र आर्थिक पक्षमा ल्याएको परिवर्तनबारे समेत जानकारी लिएका थिए । सोही अवसरमा वडा नं ४ मा रहेको श्री छायादेवी उच्च माध्यमिक विद्यालयमा ३ शून्य क्लबका विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यशालाको तेस्रो दिन सहभागीहरुले काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ५ पुगेर ग्रामीण प्रविधि केन्द्रद्वारा प्रवद्र्धन गरेको वातावरणमैत्री स्वावलम्बन गाउँको अध्ययन अवलोकन भ्रमण गरेका थिए । टोलीले बेथानचोक, च्यासिंह खर्क पुगेर स्थानीय नवऊर्जाशील कृषि उपभोक्ता समूहका सदस्यहरुसँग अन्तरक्रिया गरेको थियो । समिति सँगको छलफल पछि भ्रमण टोली चारवटा समूहमा विभाजित भएर वातावरणमैत्री गाउँ अन्तर्गत प्रयोग भएका प्रविधि र उपायहरुको अध्ययन अवलोकन गरेको थियो । यो गाउँमा वातावरणमैत्री गाउँ विकास कार्यक्रम अन्तर्गत १०० वटा घरधुरी समेटिएका छन् भने हरेक घरले एक भन्दा बढी वातावरणमैत्री, जलवायुमैत्री, नविकरणीय र दिगो किसिमका प्रविधि तथा उपायहरु अवलम्बन गरेका छन् । जस मध्ये सुधारिएको पानी घट्ट, सुधारिएको चुल्हो तथा विद्युतीय चुल्होको प्रयोग, टनेल खेती तथा थोपा सिँचाई, आकाशे पानी संकलन, बायो ग्याँस उत्पादन तथा प्रयोग, सोलार ड्रयर, गोठ सुधार, भकारो सुधार तथा पशु मलमूत्र व्यवस्थापन, जैविक मल तथा विषादि र गड्यौला मल उत्पादन एवं प्रयोग, प्राङ्गारिक खेतीको अभ्यास र फोहोर मैला व्यवस्थापन लगायतका प्रविधि र उपायहरु मुख्य रहेका छन् ।

यस्ता अभ्यासले स्थानीय समुदाय माझ दिगो जीवनयापनको आधार मात्र तयार भएको छैनन् गाउँमा उत्पादकत्व बढेर उनीहरुको आय श्रोतमा पनि वृद्धि भएको छ । जुन कुरा भ्रमणका सहभागीहरुले देखिने गरी अनुभव गर्न पाए ।

फिल्ड भ्रमण पछि चारवटै समूहले सिकेका कुराको आधारमा अन्तर्कृया गरिएको थियो । सो अवसरमा स्थानीयले अपनाएका उपाय, प्रविधि प्रयोगको अवस्था, यसले ल्याएको परिवर्तन तथा अनुसरणको सम्भावनाबारे छलफल तथा अनुभवको आदान प्रदान भएको थियो ।

कार्यशालाको अन्तिम दिन वातावरणमैत्री गाउँ विकास कार्यक्रमको आवश्यकता, महत्व तथा लघुवित्त क्षेत्रमा यसलाई कसरी अवलम्बन गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको थियो । छलफल मुख्यतया भ्रमण गरिएका गाउँमा अवलम्बन गरिएका प्रविधि र उपायको अवलोकन र सिकाइमा केन्द्रित थियो । सहभागीहरु आफ्नो कार्यालय फर्केर छलफल गरी कार्ययोजना बनाई १५ दिन भित्र पेश गर्न पनि सहमत भएका छन् ।

सो अवसरमा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले वातावरणीय रुपमा दिगो, सामाजिक र आर्थिक रुपमा सम्पन्न, मौलिक संस्कृति, भेषभूषा तथा चालचलन सहित सामाजिक सौहार्दता कायम भएको, समुदायसँग भएका परम्परागत ज्ञान, सीपको जगेर्ना तथा तिनलाई परिष्कृत गर्दै आर्थिक रुपमा पनि आत्मनिर्भर गाउँनै वातावरणमैत्री स्वावलम्बन गाउँ भएको बताउनु भयो । साथै वातावरणमैत्री स्वावलम्बन गाउँ लघुवित्त कार्यक्रममा समावेश गरी अघि वढे देशकै मुहार फेर्न सक्ने धारणा राख्नुभयो ।

सिन्धुपाल्चोकको धार्पा गाउँमा सञ्चालनमा रहेको वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमको एक साझेदार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले धार्पामा यो कार्यक्रम अन्तर्गत भएका विभिन्न प्रयासले गर्दा सदस्यहरुको जीवनमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउनु भयो । साथै यसले गर्दा ग्राहक सदस्य, समुदाय र स्थानीय निकायसँग संस्थागत सम्बन्ध निकै राम्रो बनेको अनुभव सुनाउनु भयो ।

कार्यक्रम कार्यान्वयनमा प्राविधिक साझेदार रहेको ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम लघुवित्त कार्यक्रमसँग मिलेर ग्राहक सदस्य माझ उद्यमशीलता विकास गर्ने राम्रो मञ्च भएको बताउनु भयो । यसले ग्राहक सदस्य माझ संस्थाले प्रवाह गरेको ऋणको सुरक्षा सुनिश्चित गर्ने उहाँको धारणा थियो ।

कार्यशालामा १५ वटा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु र उच्च अधिकारीहरु सहित २५ जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना