स्वावलम्बन विकास केन्द्र

२०७९को लघुउद्यमशीलता विकास पुरस्कार सहारा साकोसलाई, मारेम्लुङ्ग, ओली र थारु उत्कृष्ट लघुउद्यमी

स्वावलम्बन विकास केन्द्रले प्रदान गर्ने २०७९ सालको लघुउद्यमशीलता विकास पुरस्कार र उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कारका विजेताहरुलाई पुरस्कृत गरेको छ । २०८० साउन २८ का दिन केन्द्रको ३२औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहमा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

२०७९ सालको उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कारबाट बिर्तामोड, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भएको छ । रु.१ लाख राशिको उक्त पुरस्कार हरेक वर्ष लघुवित्त सदस्यलाई वित्तीय र गैर वित्तीय सेवा प्रवाह गर्दै आफ्ना ग्राहक सदस्यमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गर्ने एउटा संस्थालाई प्रदान गरिन्छ ।

झापा जिल्लाको तत्कालिन चारपाने, अर्जुनधारा र घैलाडुब्बा गरी ३ गाउँ विकास समितिहरुलाई कार्य क्षेत्र बनाई विक्रम सम्वत् २०५२ सालमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना  भएको थियो । ३३ जना स्थानीय अगुवाबाट रु.३४,०००।– शेयर पूजी संकलन गरी सहकारीको मूल्य र मान्यताको अवलम्बन गर्दै यस क्षेत्रमा छरिएर रहेको स–सानो पूँजी संकलन गरी आयमूलक, सीपमूलक तथा रोजगारीको सृजना गर्न संकलित पूँजीको परिचालन गरी गरीब, बिपन्न तथा पिछडिएका वर्गको उत्थान गर्ने उद्देश्यले सहाराको स्थापना भएको थियो । संस्था स्थापनाको ६ वर्ष पछि बि.सं. २०५८ साल भाद्र १४ गतेबाट लघुवित्त कार्यक्रमको शुरुवात गरेको सहाराले विस्तारै आफ्नो कार्यक्षेत्र क्रमशः बृद्धि गर्दै हाल कोसि प्रदेशको ६ जिल्ला (झापा, मोरङ्ग, सुनसरी, उदयपुर, इलाम र पाँचथर) को ७० वटा स्थानीय तह सम्म पुर्याएको छ । हाल सहाराको शेयर पूँजी १ अर्ब ६३ करोड रहेको छ भने करिब १३ अर्ब कर्जा सापटि दिएको छ । सहाराले हाल कोसि प्रदेशका ६ जिल्लामा ८० बटा सेवा केन्द्र मार्फत ५सय १५ जना कर्मचारीले एक लाख साठीहजार सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । वित्तीय सेवासँगै सहारा नेपालले सदस्यहरुको लागि शिक्षा, स्वास्थ्य, सामाजिक संरक्षण जस्ता गैर वित्तीय सेवा तथा करिब २ दर्जन शिर्षकमा सामाजिक हितका कार्यहरु गर्दै आएको छ । सदस्यको संरक्षणमा जन्म देखि मृत्यु सम्म सहारा भन्ने अवधारणा अनुसार अगाडी बढेको छ ।

सहाराले आफ्ना सदस्यमाझ उद्यमशीलता विकासमा विभिन्न रणनीतिक योजना बनाएर अघि बढेको छ । जस अनुसार झापा जिल्लालाई मासु, मह तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने लक्ष लिएको छ । यसको लागि जिल्लाका विभिन्न क्षेत्रलाई विशेष उत्पादन क्षेत्र घोषणा गरी सेवा प्रवाह गर्दै आएको छ । विशेष उत्पादन क्षेत्र विकास गरेको ठाउँमा, सदस्यको उत्पादनको बजारीकरणमा सहयोग गर्ने, सदस्यका उत्पादनको सञ्जालिकरण र मूल्य श्रृखलाको माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्ने जस्ता रणनीतिक कार्य गर्दै आएको छ । साथै सदस्यले गरेको उत्पादन बिक्री वितरण गर्न पनि ग्राहक सदस्य मार्फत बिक्री वितरण केन्द्र सञ्चालन गर्न सहयोग गरेको छ । ग्राहक सदस्यको मह तथा दूधजन्य पदार्थको प्रशोधन, ब्राण्डीङ र प्याकेजिङमा पनि सघाएको छ ।

सहाराले पछिल्लो पुस्तालाई स्वदेशमै आत्मनिर्भर बनाउन युवा स्वारोजगार कार्यक्रममा जोड दिने, शिक्षा, स्वास्थ्य, कृषि तथा ऊर्जा, विज्ञान तथा प्रविधि जस्ता १० वटा क्षेत्रमा सामाजिक व्यवसाय सञ्चालन गर्ने जस्ता समय सापेक्ष कार्यक्रम पनि सञ्चालनमा छन् । यसको लागि सहारा आफैले स्वास्थ तथा उद्यमशीलता विकास विभाग स्थापना गरेको छ । हाला यो विभागमा कृषि तथा पशुपालन क्षेत्रमा सदस्यलाई सेवा प्रवाह गर्न १ जना पशु चिकित्सक सहित ११ जना कृषि प्रविधिकहरु छन् । जसले सदस्यको दैलोमा गएर सम्पूर्ण प्राविधिक र चिकित्सा सेवा प्रदान गर्छन् ।

यस बाहेक सहाराले अति विपन्न बर्गका लागि आवास तथा उद्यमशीलता विकास, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास, स्वच्छ तथा नविकरणीय ऊर्जामा पहुच विस्तार, तीन शून्यको अवधारणाको कार्यान्वयन लगायतका क्षेत्रमा पनि काम गर्दै आएको छ ।

यसै गरी उत्कृष्ट उद्यमी सदस्य पुरस्कार बाट पुरस्कृत हुनेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.की सदस्य चुलाचुली ४, इलामकी बविता मारेम्लुङ्ग, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.की सदस्य बर्दिया निवासी फुल कुमारी थारू र उपकार लघुवित्त वित्तीय संस्था लि. की सदस्य राप्ती सोनारी बाँके निवासी प्रेम कुमारी वली हुनुहुन्छ । पुरस्कृत मध्ये फुल कुमारी र प्रेम कुमारी कृषि उद्यमी हुनुहुन्छ भने बविता मारेम्लुङ्ग कपडा व्यवसायमा सफल र उदाहरणीय उद्यमी हुनुहुन्छ । उहाँहरु तीनै जना जनही रु.२५ हजार र प्रमाणपत्रबाट सम्मानित हुनु भएको हो ।

सोही अवसरमा विगतमा केन्द्रको प्रबन्ध समितिमा रही संस्थागत विकासमा योगदान गर्नु भएकोमा केन्द्रका पूर्व प्रबन्ध समिति सदस्यहरु राम कुमार श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, मणी कुमार अज्र्याल, सुधीर कुमार श्रेष्ठ र डा. गोपाल दहितलाई पनि सम्मानित गरिएको छ ।

सम्मान तथा पुरस्कार समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समारोहका सभाध्यक्ष शंकर मान श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।

समारोहमा बैंक तथा वित्तीय क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रका करिब २८० जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना