स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिकोत्सव समारोह सम्पन्नः तीनशून्य समाज निर्माणका लागि सदस्य तथा साझेदार संस्थाहरु सँग सहकार्यगरी अघि बढ्ने

स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरीब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले विक्रम सम्बत् २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रले एक समारोहका बिच ३३औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आगामी दिनमा गरीबी, वेरोजगारी र खुद कार्बन उत्सर्जन रहित समाज निर्माण गर्न प्रयत्नशील रहने अठोट गरिएको छ ।
शताब्दी पुरुष तथा वरिष्ठ चिकित्सक डा. गौरी शंकर लाल दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गर्नु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै वरिष्ठ समाजसेवीको रुपमा समेत परिचित बरिष्ठ चिकित्सक दासले स्वावलम्बन विकास केन्द्र स्थापना भएकै बखत आफ्नो पहलमा वीपी नेत्र प्रतिष्ठान, प्रौढ कल्याण सँघ, पूर्व कर्मचारी सेवा परिषद् आदि जस्ता सेवामूलक संस्थाहरु स्थापना भएको र उक्त संस्थाहरुले अहिले समाजमा राम्रो काम गरेको देख्दा आफूलाई खुशीलाग्ने गरेको जानकारी दिनुभयो । साथै उहाँले लघुवित्तको विकास, विपन्नमाँझ वित्तीय पहुँच विस्तार एवं समाज विकासमा स्वावलम्बन विकास केन्द्रले खेलेको भूमिकाको सराहना गर्नुभयो । “समाजको विकासमा लघुवित्तको पनि ठूलो योगदान छ । समाजमा लघुवित्तले ठूलो योगदान गरेको कदर स्वरुप भर्खरै मात्र ग्रामीण लघुवित्तका प्रवद्र्धक प्रो. मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार नियुक्त भए । अहिले नेपालमा लघुवित्त लक्षितवर्गमा पुगेको छैन् भन्ने गुनासो सुनिन्छ । मेरो आग्रह छ, लघुवित्त सेवाले गरीब र विपन्न लक्षित हुनेछ र त्यो वर्गलाई माथि उठाउने छ ।” डा. दासले भन्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै केन्द्रका परिकल्पनाकार तथा वर्तमान अध्यक्ष शंकर मान श्रेष्ठले ३३औँ वार्षिकोत्सवमा अनुभव साट्न पाउँदा खुशी व्यक्त गर्दै केन्द्रको यात्रामा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार ब्यक्त गर्नु भयो । साथै उहाँले केन्द्रको स्थापना देखि हालसम्मको यात्रा स्मरण गर्दै आगामी दिनमा स्वावलम्बन विकास केन्द्र गरिबी, बेराजगारी र खुद कार्बन उत्सर्जन शून्य उन्मुख समाज निर्माण गर्न सदस्य संस्था तथा साझेदारहरुसँग सहकार्य गरी अघि बढ्ने उल्लेख गर्नुभयो । “लघुवित्त सेवाभावले शुरु भएको हो । धेरै नाफामा केन्द्रित नभई सामाजिक संस्थाका रूपमा रहनुपर्छ । अग्रणी गैर वित्तीय संस्थाको रुपमा स्वावलम्बन विकास केन्द्रले लघुवित्तको शुरुवात गरी विक्रम संवत् २०५८ र २०६८ सालमा तत्कालीन स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेड (अहिले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड)लाई लघुवित्तको सम्पूर्ण दायित्व हस्तान्तरण गरेपछि केन्द्रले आफ्नो रणनीतिलाई नयाँ आकार दिएको छ र लघुवित्त सञ्चालन गर्ने संस्थाहरूको क्षमता अभिवृद्धि र सुदृढीकरणका लागि प्राथमिकताका साथ काम गर्दै आएको छ । पछिल्लो समय लघुवित्तका सदस्यहरुलाई स्वरोजगार, स्वावलम्बी, आत्मनिर्भर बनाउन सदस्य संस्थाहरु सँगको साझेदारीमा नयाँ सभ्यता निर्माण गर्न तीन शून्य क्लबको प्रवद्र्धन, वातावरणमैत्री स्वावलम्बी गाउँ निर्माण, उद्यमशीलता विकास आदि जस्तो कार्यनीति अवलम्बन गरेको छ ।” उहाँले भन्नुभयो ।

 

लघुवित्त कार्यक्र सञ्चालन गर्ने संस्थाहरु आर्थिक सामाजिक रुपान्तरणको अस्त्र बन्न सक्नु पर्ने भन्दै उहाँले प्रो. युनुस र उहाँले शुरु गरेको ग्रामीण मोडेलको लघुवित्त कार्यक्रमको प्रसंग उल्लेख गर्नुभयो । “प्रो. युनुस एक अद्वितीय व्यक्तित्व हुनुहुन्छ जसले आफ्नो सम्पूर्ण जीवन जनताको हित र मानवताको संरक्षणको लागि समर्पित गर्नु भएको छ । संकटको बेला उहाँ सधै देशले सम्झने व्यक्तित्व हो । यो पटक उहाँ अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्नु भयो । उहाँले पछिल्लो समय तीन शून्यको अवधारणा प्रतिपादन गर्नु भएको छ । नेपालका लघुवित्त सञ्चालन गर्ने संस्थाहरुले पनि प्रो. युनुसले प्रस्तुत गरेको ३ शून्यको अवधारणालाई अगाडि बढाउनु आवश्यक छ । यसले धनी र गरिब बीचको खाडल घटाउदै शून्य गरिबी, उद्यमशीलता विकास मार्फत शून्य बेरोजगारी र वातावरणमैत्री कार्यशैली अपनाएर शून्य खुद कार्बन उत्सर्जन सहितको समृद्ध र समुन्नत समाजको कल्पना गरेको छ ।” श्रेष्ठले भन्नुभयो ।
सो अवसरमा उहाँले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको १२ बुँदे घोषणपत्र कार्यान्वयन गर्न सम्पूर्ण सहभागी संस्थाहरुलाई आग्रह गर्नुभयो । “पछिल्लो समय लघुवित्तमा धेरै थरी समस्या छन् । धेरै समस्याहरु लघुवित्तकर्मीको आफ्नै कारणले आएका हुन र समाधान पनि आफै गर्न सकिन्छ । त्यसका लागि इच्छा शक्तिको आवश्यकता छ । गत फागुनमा चौथो राष्ट्रिय सदस्य सम्मेलनको आयोजना गरी तत्कालै गर्नु पर्ने काम १२ बुँदे घोषणपत्रमा समेटिएको छ । त्यसको कार्यान्वयनको लागि केहि समय पहिला एउटा गोष्ठिको आयोजना गरी स्पष्ट मार्गचित्र पनि बनाइएको छ । अव कार्यान्वयनका लागि दृढताकासाथ सबै लाग्नु पर्छ । १२ बँुदा कार्यान्वयन गर्ने हो भने प्रायः सबै समस्याको समाधान हुन्छ र लघुवित्त फेरी पुरानै सुनौलो युगमा फर्कन्छ ।” उहाँले भन्नुभयो ।
सो अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्र कुमार गिरीले केन्द्रको ३३ वर्षे यात्रा संस्मरण गर्नुभयो । “केन्द्रले शुरुमा विकट कर्णाली क्षेत्रको जुम्ला र केही समय पछि कालिकोट जिल्लाबाट स्वावलम्बन समूहको निर्माण गरी गरीबी निवारण, कृषि उत्पादनको बृद्धि र व्यावसायिकरण, पोषण, स्वास्थ, वातावरण संरक्षण, व्यवहारिक सीप तथा प्रविधि आदिजस्ता क्षेत्रमा काम गरी सामाजिक विकासको यात्रा शुरु गरेको थियो । पछि पूर्वी तराईका जिल्लाबाट लघुवित्त कार्यक्रम पनि शुरु गरियो र गरीब तथा विपन्न बर्ग र महिलाहरुको आर्थिक सामाजिक रुपान्तरणमा योगदान गर्यो । पहिलो पटक २०५८ साल र पछि २०६८ सालमा गरी दुई चरणमा लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्तलाई हस्तान्तरण भए पछि स्वावलम्बन विकास केन्द्र लघुवित्त क्षेत्रको छाता संस्थाको भूमिका निभाउँदै आएको छ । पछिल्लो समय केन्द्रले नीतिगत तथा नियामक निकाय, लघुवित्तकर्मी, ग्राहक सदस्य, विज्ञ लगायत सबै सरोकारवालाहरुलाई सहभागी गराई सम्मेलन, गोष्ठी, सेमिनार, अध्ययन, अवलोकन भ्रमण र तालिम कार्यक्रमहरू पनि सञ्चालन गर्दै लघुवित्तकर्मी एवं ग्राहक सदस्यको क्षमता विकास गर्ने कार्य गर्दै आएको छ । साथै युवा उद्यमशीलता विकास, तीन शून्य क्लबको गठन र प्रवद्र्धन, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास आदि जस्ता कार्यहरु पनि गर्दै आएको छ ।” गिरीले भन्नुभयो । उहाँले केन्द्रकै अगुवाईमा नेपालका प्रमुख लघुवित्त सञ्चालन गर्ने संस्थाहरु भेला भएर हरेक २ वर्षमा समग्र लघुवित्तका विषयमा छलफल गर्न राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना गर्ने गरेको र २८० फागुन ५ र ६ मा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न गरेको जानकारी दिनुभयो ।

 

समारोहका सभाध्यक्ष तथा प्रमुख अतिथिबाट चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाही प्रतिवेदन पनि विमोचन गरिएको थियो । उक्त प्रतिवेदनको समीक्षा केन्द्रका पूर्व सञ्चालक सदस्य तथा नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणी कुमार अर्ज्याले गर्नुभएको थियो । सो अवसरमा अर्ज्यालले प्रतिबेदनले सम्मेलनमा भएका विचार, छलफल तथा निष्कर्षहरुलाई कुशलतापूर्वक समेटेको धारणा राख्नुभयो । “सम्मेलनमा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाश शरण महतले आफ्नो मन्तब्यको क्रममा लघुवित्तले वित्तीय पहुँचमा अतुलनीय योगदान गरेको भन्ने भनाई देखि नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले लघुवित्तको कारण गरिबी निवारण र महिला सशक्तिकरणमा उल्लेखनिय योगदान गरेको भनाई यो प्रतिवेनले समेटेको छ । साथै लघुवित्तको कारण महिलाहरुमा चेतनाको विकास भएर असल जनप्रतिनिधि छान्न सक्षम भएको संघीय सांसद योगेन्द्र मण्डलको धारणा पनि प्रतिवेदनले समेटेको छ । यसले देश विकासका निम्ति लघुवित्तको भूमिका कति छ भन्ने झल्काउँछ । यसै गरी हरेक सत्रका वक्ता, सहजकर्ता तथा खुला छलफलमा सहभागी भएकाहरुको धारणा पनि समेट्न सफल भएको कारण प्रतिबेदन अझ ज्ञानवर्द्धक र उपयोगी हुने देखिन्छ । सम्मेलनका सम्पुर्ण गतिविधि समेटनुको साथै पुस्तकको डिजाईन र प्रस्तुति पनि आकर्षक छ ।” उहाँले भनुभयो । अर्ज्र्यालले प्रतिवेदनको एउटा प्रमुख आकर्षणको रुपमा सबै छलफल पछि सम्मेलनले तयार गरेको १२ बुँदे घोषणापत्र रहेको उल्लेख गर्नुभयो । “१२ बुँदे घोषणापत्र कसरी बन्यो भन्ने कुरा पनि प्रतिवेदनबाट नै स्पष्ट हुन्छ र यसको कार्यान्वयनको लागि पनि प्रतिवेदन उपलब्धिमूलक हुन सक्छ ।” उहाँले भन्नुभयो । साथै उहाँले विगतका सम्मेलनले पारित गरेका विषयहरु कार्यान्वयनमा भएका उपलब्धिबारे पनि सम्मेलन तथा प्रतिवेदनले समेटनु पर्ने सुझाव दिनुभयो ।

समारोहमा केन्द्रका सञ्चालक समिति कोषाध्यक्ष शोभा बज्राचार्यले सहभागीहरुलाई स्वागत गर्नुका साथै स्वावलम्बन विकास केन्द्रले सामुदायिक विकास देखि लघुवित्तको प्रवर्द्धन गर्ने र पछिल्लो समय समग्र लघुवित्त क्षेत्रलाइ नै सही मार्गमा हिडाउन गरेका प्रयास निकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।
समारोहमा स्वालम्बन विकास केन्द्रका संस्थापक, सञ्चालक, सदस्य संस्थाका प्रतिनिधि, पूर्व कर्मचारी, सहयोगी तथा साँझेदार संस्थाका प्रतिनिधि र अन्य सरोकारवाला समेतको सहभागिता रहेको थियो ।

समाचार