स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको रजत जयन्ती समारोह

स्वावलम्बन विकास केन्द्रको २५ औं वार्षिकोत्सव (रजत जयन्ती समारोह) एक समारोह बीच काठमाडौंमा सम्पन्न भयो । प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले पानसमा दीप प्रज्वलन गरी समारोहको उदघाटन गर्नुभयो ।

समारोहमा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले लघुवित्त सदस्य सम्मेलन आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो । यस प्रकारको सम्मेलन आयोजना गरेकोमा केन्द्रप्रति आभार व्यक्त गर्दै उहाँले यस प्रकारको सम्मेलन प्रत्येक वर्ष गर्नुपर्नेमा जोडदिनुभयो । २५ वर्षको इतिहास रचेको संस्था आजसम्म पनि लघुवित्त क्षेत्रको अध्ययन, अनुसन्धान र विकासका लागि कार्यरत रहेकोमा संस्थाका अध्यक्षलाई बधाई समेत दिनुभयो । उहाँले ग्रामीण क्षेत्रका विपन्न तथा निमुखा वर्गको जीवनस्तर सुधार गर्नमा लघुवित्त क्षेत्रको अत्यन्त ठूलो भूमिका रहेको बताउनु भयो । लघुवित्त संस्थाले नाफा गर्नुपर्दछ तर अत्यधिक होइन, उहाँले अगाडी भन्नुभयो, विश्वासको आधारमा आर्थिक कारोवार गर्ने भएकोले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन ठूलो भूमिका खेलेको छ । नेपालमा लघुवित्त क्षेत्रको विकासको थालनीदेखि हालको अवस्थासम्म ल्याउन  केन्द्रको निकै ठूलो देन रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति तथा केन्द्रका अध्यक्ष श्री शंकर मान श्रेष्ठले लघुवित्तको मूल मर्म र मान्यताबाट विचलन नभई लक्षित वर्गको हक हितका लागि लघुवित्तले काम गर्नुपर्नेमा जोड दिनुभयो । हाल व्याजदर महंगो भयो भन्ने आम बुझाईमा त्रुटि रहेको र लघुवित्त संस्थाले पनि नियमनकारी निकाय वा नेपाल सरकारलाई सो सम्बन्धमा बुझाउन नसक्नु कमजोरी भएको बताउनुभयो । नेपालमा लघुवित्तको व्याजदर विश्वमै न्यून रहेको र हालको स्प्रडरेटले लघुवित्त क्षेत्र निर्वाहमूखि बन्ने र उद्देश्यबाट विचलन हुने तर्फ संकेत गर्नुभयो । विकासका लागि कार्यरत लघुवित्तले क्रेडिट प्लस कार्यक्रम ल्याउन गाह्रो पर्ने बताउनुभयो । स्वदेशमा रोजगारी श्रृजना गर्न यदि कुनै संस्था छ भने त्यो लघुवित्त हो, उहाँले भन्नुभयो । अब विस्तारै लघुवित्त दोश्रो पुस्तामा केन्द्रीत हुनपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले आगामी वर्षदेखि केन्द्रले श्रृजनशील लघुवित्त संस्थालाई पचास हजार रुपैया राशिको पुरस्कार प्रदान गरिने समेत घोषणा गर्नुभयो ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री चिन्तामणी सिवाकोटीले केन्द्रले निभाउँदै आएको लघुवित्त संस्थाहरुको समन्वयकारी भूमिका गर्व गर्न लायक रहेको बताउँदै महिला सशक्तिकरण, क्षमता अभिवृद्धि साथै समग्र लघुवित्त संस्थाको विकासमा केन्द्रको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । सेवाभावमा स्थापना भएका लघुवित्त संस्थाहरु हाल आएर विचलन भएका हुन की भन्ने जस्तो देखिन लागेकोले यसलाई सुधार गर्नु आवश्यक भएको वताउनुभयो । लघुवित्त संस्थामा आएको विचलन र विकृति सम्बन्धमा यसको अध्ययन अनुसन्धानमा केन्द्रले सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । अबका दिनमा लघुवित्त संस्था मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा विकास गरे मात्र कारोबार संचालनको स्वीकृति दिन सकिने उहाँले बताउनुभयो ।हिजोका दिनमा स्थापना भएका लघुवित्त संस्थाको जुन उद्देश्य थियो त्यो हाल आएर उद्देश्यबाट विचलन  भएको देखिन्छ । स्वावलम्बन विकास केन्द्रले त्यस्ता समस्याहरु माथि अध्ययन गरी समस्या समाधानमा अहम् भूमिका निभाउन सकोस भनी शुभकामना समेत दिनुभयो । यसले नेपाल राष्ट्र बैंक तथा नीति निर्माणमा नै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाही प्रतिवेदन विमोचन गरिएको थियो । प्रतिवेदन प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले विमोचन गर्नुभयो । प्रतिवेदनमा टिप्प्णी गर्नुहुँदै योजना आयोगका पूर्व उपाध्यक्ष डा.रविन्द्र शाक्यले लघुवित्त सम्मेलनको यथार्थ चित्रण प्रतिवेदनमा देख्न सकिने बताउनुभयो । महिला सदस्यहरुको प्रत्यक्ष सहभागितात्मक रुपमा आयोजना भएको सम्मेलन आफैमा महत्वपूर्ण प्रयास भएको र नयाँ सकारात्मक आयाम शुरु भएकोमा खुसी व्यक्त गर्नुभयो । सम्मेलनको घोषणा अत्यन्त महत्वपूर्ण रहेको र सन २०३० सम्म गरिवी शुन्य गर्ने लक्ष्य साथै महिलाहरुको अनुभूतिलाई अभिलेख गर्नु सह्राहनिय रहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रको संक्षिप्त परिचय तथा विकासमा प्रकास पार्दै संचालक समितिका सदस्य डा.सुमित्रा मानन्धर गुरुङ्गले जुम्लादेखिको विकासको प्रवाह देशका विभिन्न विकट क्षेत्रमा फैलाउन केन्द्रले ठूलो भूमिका खेलेको बताउनुभयो । त्यस्तै, केन्द्रमा काम गर्दाको अनुभव अनुभूति सम्बन्धमा पूर्व निर्देशक श्री राम कुमार श्रेष्ठले समुदायमा समूहगत चेलना अभिवृद्धि गर्न उत्साहजनक रुपमा कार्य गरेको र परियोजना संचालनका क्रममा महिला सशक्तिकरण र समुदायको आर्थिक–सामाजिक अवस्थामा आएको सुधारले सन्तुष्ट बनाएको बताउनुभयो । स्वावलम्बी हुनुपर्छ, परनिर्भरता होइन भन्ने मूल मर्मका साथ अगाडी बढी कार्य गरेको उहाँले अनुभव साट्नुभयो ।

समारोहमा राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनका प्रायोजक, केन्द्रका संस्थापक, प्रबन्ध समितिका पूर्व सदस्यहरु, तथा अवकास प्राप्त कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । विभिन्न लघुवित्त संस्थाका पदाधिकारीको सहभागीता रहेको समारोह केन्द्रका कार्यकारी प्रमुख श्री शंकर नाथ कपालीको स्वागत मन्तव्यबाट शुरु भई श्री शोभा बज्राचार्यको धन्यवाद ज्ञापन सहितको मन्तव्य संगै सम्पन्न भयो ।

विपन्न तथा न्यून आय भएको परिवारको आर्थिक तथा सामाजिक सुधार गर्ने हेतुले २०४८ श्रावण २८ मा स्थापना भई सामुदायिक विकास तथा लघुवित्त क्षेत्रको विकास तथा विस्तारमा कार्यरत केन्द्र आजका दिनमा लघुवित्त संस्थाको क्षमता अभिवृद्धि तथा विभिन्न तालिम कार्यक्रम, अध्ययन, अनुसन्धानमा कार्यरत रहेको छ ।

समाचार

सुचना