स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा देखिएको विचलन र विसंगतिबाट हुने परिणाम प्रति सचेत हुन विज्ञको चेतावनी

लघुवित्तमा वढ्दै गएको विसंगति र विचलन प्रति चिन्ता व्यक्त गर्दै लघुवित्तकर्मी र सरोकारवालाहरु लाई बेलैमा सचेत हुन विज्ञहरुले चेतावनी दिएका छन् । उनीहरुले गरीब तथा विपन्न समुदायका महिला बर्गमा वित्तीय पहुँच पुर्याएर गरिबी निवारणमा सघाउने र वेरोजगारी घटाउने मुख्य उद्देश्यका साथ करिब ३ दशक अघि शुरु भएको लघुवित्त प्रणाली पछिल्लो समय नाफामुखी भएको निष्कर्ष निकालेका छन् । पछिल्लो समय नाफालाई मुख्य उद्देश्य वनाएकै कारण लघुवित्त सेवा गरीब सम्म पुग्न नसकेकोे उनीहरुको बुझाई छ । साथै वढि भन्दा वढि नाफा कमाउने होडमा अनुचित अभ्यासहरु हुदै गएको र यसले मुख्यतः गरीबहरु कहिल्यै माथि उठ्न नसक्ने अवस्था सिर्जना भएको विज्ञहरुको धारणा छ ।

स्वावलम्बन विकास केन्द्रले २०७८साउन १७मा १२औ संम्वाद श्रृखला अन्तर्गत आयोजना गरेको “लघुवित्तमा देखिएको विचलन र यसको परिणाम” विषयक छलफलका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

छलफललाई सम्वोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तको मर्म तथा उद्देश्य के हो ? हाल यसमा के कस्ता विचलन आएका छन् र त्यसको परिणाम के हुन्छ भन्ने बारे आफ्नो धारणा राख्दै लघुवित्तको उद्देश्य गरिबी निवारण गर्ने र वेरोजगारी घटाउने रहेको स्मरण गराए । “लघुवित्तको उद्देश्य के हो र यसमा कसरी विचलन आएको छ भन्ने बुझ्न सबै लघुवित्तले आफ्नो प्रवन्धपत्र पल्टाएर हेरे स्पष्ट हुन्छ । सबैको प्रवन्धपत्रमा स्पष्ट लेखिएको छ की लघुवित्त मुख्यतयाः दुईवटा उद्देश्य गरिबी निवारण र रोजगारी सिर्जना गर्नको लागि हो । त्यो प्रवन्ध पत्र हरेक लघुवित्त संस्था र राष्ट्र बैंकको दराजमा थन्केर वसेको छ, सायद हामी कसैले एकपटक पनि खोलेर हेरेका छैनौँ ।” श्रेष्ठले थपे “विचलन भनेको अहिले लघुवित्त संस्था उद्देश्य अनुरुप नचलेको अर्थात विपन्न कहाँ पुग्न नसक्नु हो । विपन्न भन्दा अहिले हामी सम्पन्न तीर उन्मुख भैराखेका छौँ, त्यो सजिलो छ तर विपन्नलाई उनको घरमा पुगेर ऋण लिने वनाउन कम्तिमा ६ महिना लाग्छ र त्यो कठिन छ । त्यस्तै हामी लघुवित्तकर्मी पैसामुखी र भौतिक आकांक्षाहरु धेरै राख्ने भएका छौँ । तर एउटा गरीबको जीवनस्तर उकासेर प्राप्त हुने त्यो असिमित खुशी तर्फ कसैको ध्यान जान सकेको छैन् । हिजो १५ सय तलवमा काम गर्ने लघुवित्तकर्मीमा देखीएको खुशी आज ५०, ६० हजार रुपैया तलब लिनेमा देखिदैन । धेरै भौतिक सुख वा पैसाले मात्र खुशी र सन्तुष्टि प्राप्त हुदैन । अहिले धनी र गरीब विचको दुरी वढेको छ । विश्वका १ प्रतिशत धनी मानिसले ९० प्रतिशत स्रोत माथि कब्जा जमाएका छन् । पूँजी प्रधान यो आर्थिक व्यवस्थाले असमानता पैदा गरेकोले अव सामाजिक उत्तरदायित्व सहितको सामाजिक व्यवसायमा जोड दिनु पर्ने वहस उठेको छ । प्रो. मोहम्मद यूनुसले पनि यही अवधारणा अघि सारेका छन् । लघुवित्त सामाजिक व्यवसाय हो । यो सामाजिक परिवर्तनको लागि ल्याएको हो । शुरुको अवस्थामा लघुवित्तले यो कुरा प्रमाणित गरेको थियो । तर अहिले विस्तारै अवस्था विग्रदै गएको छ ।” श्रेष्ठको भनाई थियो ।

पछिल्लो समय लघुवित्तमा विकृतिहरु मौलाउदै गएको श्रेष्ठको भनाई थियो । “लघुवित्तकर्मीले विकट ठाउँमा मात्र होइन सुगम ठाउँमा पनि गरीब माझ जान चाहेका छ्रैनन् । तराईका केहि जिल्लाहरुमा अझै पनि धेरै गरिबी छ । त्यहाँ पनि लघुवित्तले गरीवलार्य समेटेको छैन् । अहिले लघुवित्त संस्थाको आर्थिक अवस्था सवल छ । लघुवित्त संस्थाको मुनाफाको दुई प्रतिशत मात्र पनि गरीबमा लगानी गर्नु भयो भने पनि तिनीहरु गरिबीको दुष्चक्रबाट माथि उठ्न सक्छन् । नेपालमा अहिले करीव १२लाख परिवार चरम गरिबीको रेखामुनी छन् । लघुवित्त र सहकारी संस्थाहरु गणना गर्दा एउटा संस्थाको भागमा ५, ६ हजार गरीब पर्छन र एउटा कर्मचारीको भागमा ६० जना पर्छ । हामी अवको ५ बर्षमा आफ्नो भागमा पर्ने त्यो ६० जनालाई धनी वनाउन सक्छौँ । नसक्ने कुरा छैन तर हामीमा त्यो इच्छा शक्ति छैन । अहिले हामी गरिबीको परिभाषा खोज्दैछौँ । गरीब को हो भनेर राज्यले वा कसैले भनिदिनु पर्छर ? गरीब पहिचान गर्ने किताव वा कुनै परिभाषा चाहिदैन । गाउँमा दैलो चाहार्नुस गरीव र धनीको पहिचान सजिलै हुन्छ । छाप्रोमा वसको वेरोजगार , दुई छाक खान संघर्ष गर्नुपर्ने परिवार सजिलै देखिन्छ । यसको लागि राष्ट्र बैंकले वा सरकाले निर्देशन दिनु पर्दैन । यस्ता गरीबलाई समेटेर काम गरौँ । यो नै लघुवित्तको मर्म हो, धर्म हो र कर्म भनेकै यहि हो । तर हामी चुकेकै यहीनेर हो, यो नै ठूलो गल्ती हो । त्यसै गरी राष्ट्र बैंकले लघुवित्तलाई बर्गीकरण गरी ‘घ’ वर्गको संस्था वनाई शेयर निष्कासन गर्ने पद्धति ल्यायो । यस पछि नै विचलन शुरु भयो । त्यसमाथि हाम्रो आवश्यकता भन्दा वढि लघुवित्त संस्थाहरु संचालनमा आए । त्यपपछि विकृति र विचलन वढेको हो । परिणाम अहिले लघुवित्तमा भाखा नाघेको कर्जाले चुलीदै छ  अहिले भाखा नाघेको कर्जा घटाउन र नाफा वढाउन कर्जा नवीकरण र थपऋण प्रवाह गरी अवस्था राम्रो देखाउने परम्परा शुरु भएको छ । जुन केहि समय पछि प्रत्युत्पादक हुने निश्चित छ । ।” श्रेष्ठले भने ।

सो अवसरमा वोल्दै छलफलका बक्ता तथा नेपाल राष्ट्र बैंक, लघुवित्त निरीक्षण विभागका निर्देशक राम प्रसाद गौतमले समय अनुसार लघुवित्त सेवा प्रवाहमा केहि परिमार्जन हुनु स्वभाविक भए पनि अझै पनि १सय २० वटा स्थानीय तहमा लघुवित्त सेवा पुग्न नसकेको र ग्रामीण भेगका अति विपन्न वर्गमा पुग्न नसकेको वताए । “नेपाल राष्ट्र बैकले नीजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीति लिएको हुदाँ लघुवित्त संस्थाहरु आफ्नो लक्ष र उद्देश्य अनुसार स्व–नियन्त्रित र स्व–अनुशासित भएर अघि वढ्नु उचित हुन्छ । त्यसो हुन नसकेको खण्डमा राष्ट्र बैकंले हस्तक्षेप गर्नु पर्ने अवस्था आउछ । अहिले लघुवित्तहरु धेरै नाफामुखी भए भन्ने गुनासो आएको छ । जसकारण हामीले मौन्द्रिक नीतिलाई नकुरेर तत्कालै परिपत्र जारी गरेर २० प्रतिशत भन्दा वढी मुनाफा वाड्न नपाउने व्यवस्था गरेका छौँ । त्यस्तै गरीब तथा अति विपन्न बर्ग सम्म पुग्नु पर्छ भनेर बारम्बार भन्दै आएका छौँ र व्याजदर पनि समायोजन गर्दै आएका छौँ । कुनै वेला २४ प्रतिशत व्याजदर थियो अहिले १५ प्रतिशत भन्दा वढी लिन नपाउने व्यवस्था छ र यसो गर्दा लघुवित्त कर्मीहरुले वढि हस्तक्षेप भयो भन्ने गुनासो वढेको छ ।” गौतमले भने । साथै गौतमले लघुवित्त संस्थाहरुको एनपीएल वढ्दै जाने र कर्जाको गुणस्तर खस्कदै गएको वताउदै हरेक संस्थालाई कर्जा सुचना प्रभावकारी वनाउन सुझाव दिए ।

सो अवसरमा वोल्दै छलफलका बक्ता सानिमा बैंक लिमिडका प्रमुख कार्यकारी अधिकृत एबं नेपाल बैकर्स एशोशिएसनका अध्यक्ष भुवन दाहालले लघुवित्तहरु नाफामुखी भएको देखिएको वताए । “वाणिज्य बंैकहरुलाई पनि व्याजदर धेरै भयो भन्ने आरोप छ । तर वाणिज्य बैंकले वढिमा १५ प्रतिशत लिने हो । तर लघुवित्तहरुको धेरै नै छ । झट्ट हेर्दा मुनाफा आर्जन गर्ने उद्देश्यका साथ स्थापना भएका वाणिज्य बैक १४, १५ प्रतिशतको प्रतिफलमा चल्नु पर्ने तर सेवाभावले वा गरीबी निवारण गर्ने उद्देश्यले स्थापना भएका लघुवित्तको प्रतिफल ३०, ४० प्रतिशत हुने यो कुरा अमिल्दो छ । यसैलै लघुवित्तहरु नाफा केन्द्रित छन भन्ने आरोप लाग्ने गरेको छ ।” दाहालले भने ।

कार्यक्रमका अर्का बक्ता नेपाल माइक्रोफाइनान्स बैंकर्ष एशोशीएशनका अध्यक्ष एबं विजग लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघुवित्तको लक्ष र उद्देश्य पनि समय अनुसार परिमार्जन गर्दै लैजानु पर्ने वताए । विगतको ३ दशकमा समय र संस्थागत संरचना धेरै परिवर्तन भएकोले यो जरुरी रहेको लम्सालको धाराणा थियो । हामी आर्थिक पाटोमा केन्द्रित हुने कि सामाजिक पाटोलाई जोड दिने भन्ने कुरामा प्रष्ट हुनु जरुरी रहेको लम्सालको भनाइ थियो । “नेपाल राष्ट्र बैंकले र कम्पनी दर्ता कार्यालयले लघुवित्त संस्थालाई वित्तीय संस्थागत संरचना अनुसार परिभाषित गरेको देखिन्छ । तर उद्देश्य गरीबमा जाने वा सामाजिक पक्षमा केन्द्रित हुनु पर्ने वनाइ दिएको छ । दुर्गममा जाउ, गरीब संग काम गर भन्ने अनि फेरी निश्चित प्रतिशत भन्दा वढि व्याज लिन नपाउने भन्दै व्याज दर तोकि दिने ? यो कुन प्रकारको नीति हो ? प्रश्ट हुनु पर्यो ।” लम्सालले थपे । साथै लम्सालले सबै लघुवित्त संस्थाहरुले आक्रमक व्यापार गर्ने गरेको र यसले जोखिम वढाएको धारणा राखे ।

छलफलमा यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहितले लघुवित्तमा केहि विकृतिहरु आएको स्वीकार गर्दै सबै संस्थाहरु एकै किसिमको नभएको वताए । “राम्रो काम गर्दा गर्दै लघुवित्तलाई धेरै आरोप लाग्ने गरेको छन् । त्यो मध्येको एउटा हो लक्ष र उद्देश्यमा आएको विचलन । तर सबैलाई एउटै डालोमा राख्न मिल्दैन् । अहिले पनि धेरै संस्था मुलधार मै छन् र आफ्नो वाटो विराएको छैनन् । तर चिन्ता हामी वाटो विराउदै छौँै भन्ने हो । अहिले पनि लघुवित्तको लगानीको ठूलो हिस्सा धेरै विपन्न बर्गमै छ । केहि थोरै लगानी धनी बर्गमा पनि हुन थालेको छ र यो नै मुख्य समस्या वनेको छ । अहिले समुह गठन गर्ने, सदस्य पहिचान गर्ने विधिहरु वेवास्ता गरेको कारण, लघुवित्त संस्था लक्ष वाहिर गएकी भन्ने देखिन्छ । मुख्यतया लक्षित बर्ग पहिचानको विधि, कर्जा विश्लेषण र कर्जा सदुपयोगितामा ध्यान नदिदा कर्जाको गुणस्तर खस्किएको र यसले मुख्य समस्या पैदा गरेको छ ।” डा. दहितको धारणा थियो ।

कार्यक्रमका सहजकर्ता सशक्तिरण विकास केन्द्रका कार्यकारी निर्देशक डा. नरहरी ढकालले लघुवित्तको वित्तीय ध्येय, सामाजिक ध्येय, वातावरणीय ध्येय भएको र यो तीनवटै कुरामा सन्तुलन कायम गरेर अघि वढ्नु पर्ने धारणा राखे । “लघुवित्तकर्मीले आत्ममुल्यांकन गर्नु आवश्यक छ । हाम्रो आर्थिक सुचक मात्र सुधार भएको छ । तर सामाजिक योगदान देखिने गरी भएको छैन । गरीव सम्म त पुगैकै छैन, सुविधा सम्पन्न ठाउँमा मात्र वित्तीय सेवा दिने गरेका छन् यो सैद्धान्तिक विचलन हो की होइन ?” डा. ढकालले प्रश्न गरे ।

खुला छलफलका क्रममा बोल्दै छिमेक लघुवित्त वित्तीय संस्थाका निबर्तमान प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले गरीवकोमा जाँदा कर्जा मात्रै दिएर नहुने । उसलाई शिक्षा स्वास्थ्य, वजार व्यवस्था सम्वन्धी ज्ञान सीप दिनु पनि जरुरी भएकोले लघुवित्तकर्मी र नियामक निकाय दुबैले यसलाई पनि ध्यान दिनु पर्ने धारणा राखे ।

यसै गरी आरएमडिसीका निमित्त प्रमुख कार्यकारी अधिकृत पृथ वहादुर थापाले गरीबलाई जसले पनि चिन्ने हुनाले लघुवित्त सेवा प्रवाह गर्न गरीबको परिभाषा आवश्यक नरहेको र हाल गरीबलाई भनेर ल्याएको लघुवित्त प्र्रणाली धनिको लागि भएको गुनासो पोखे ।

अनलाइन जुम माध्यमबाट आयोजना गरेको उक्त छलफल कार्यक्रममा लघुवित्त क्षेत्रका १सय ३३ जनाको सहभागिता रहेको थियो ।

समाचार