स्वावलम्बन विकास केन्द्र

सहकारी संस्थाहरु गरीव केन्द्रित नहँुदा गरीब झन् झन् गरीब हुदै

सहकारी संस्थाहरुले दिने सेवा गरीव केन्द्रित हुन नसक्दा गरीबहरु झन् झन् गरीब हुदै गएको प्रति विज्ञहरुले चासो र चिन्ता ब्यक्त गरेका छन् । स्वावलम्बन विकास केन्द्रले २०७८ बैशाख ३ गते आयोजना गरेको सहकारी मार्फत लघुवित्त कार्यक्रम सञ्चालनका अवसर, चुनौती र आगामी कार्यदिशा विषयक पाँचौ अनलाईन संवाद श्रृंखलाका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

वेविनारका वक्ता सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले सहकारी मार्फत सञ्चालित लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, सञ्चालनमा अवसर, चुनौती र आगामी कार्यदिशा वारे प्रस्तुति गरेका थिए ।

सो अवसरमा गिरीले नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रको तीन खम्वा मध्ये एक खम्वा मानेको वताउदै हाल नेपालमा करीव ३० हजार सहकारी संस्था रहेको, उनीहरु मार्फत करीव ३ खरव बचत परिचालन भएको, ६४ हजार भन्दा वढी रोजगारी सिर्जना भएको र मुलुकोे कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रले ५ प्रतिशत योगदान गरेको जस्ता तथ्यहरु प्रस्तुत गरेका थिए । साथै गिरीले कारोवारको आधारमा संरक्षित पूँजीकोष बितरण गर्न पाउने, १८ प्रतिशत भन्दा वढि लाभांस दिनु पर्ने दवाव नहुने, पर्याप्त बचत संकलन गर्न सकिने र महंगो व्याजमा वाह्य ऋण लिन नपर्ने, सामाजिक कार्य र ब्यवसाय बिकासको लागि कोषको ब्यवस्था हुने जस्ता सहकारीका सकारात्मक पक्ष रहेको बताए ।

वेविनारका वक्ता महेन्द्र कुमार गिरीले धेरै सकारात्मक पक्षका विच नेपालमा सहकारीहरुले गरीबी निवारणमा उल्लेख्य योगदान गर्न नसकेका दृष्टान्त पेश गरे । “हाल करिव ३० हजार सहकारी मध्ये १ सय देखि १ सय ५० सहकारी संस्थाले मात्रै लघुवित्त कार्यक्रम सञ्चालन गरेका छन् । कति जना सदस्य गरीवीको रेखावाट माथि उठे भन्ने आँकडा कसै संग छैन् । करिव ३५ प्रतिशत सहकारी सदस्यले वचत मात्रै गरेका छन्, कुनै पनि व्यवसाय गरेका छैनन् । जोखिम छ भन्ने थाहा हुदा हुदै सहकारीले ठुलो कर्जा प्रवाह गरेका छन् । नेतृत्वमा व्यक्तिवादी चरित्र हावी हुँदा गरीबको बचतमा जोखिम छ ।” गिरीले भने ।

प्रस्तुतीकै क्रममा गिरीले सहकारी मार्फत लघुवित्त कार्यक्रम संचालन गर्दा सहकारीले १४ प्रतिशत भन्दा वढी व्याज लिन नपाउने, सन्दर्भ व्याज दरको उतार चढाव भैरहने, सदस्य वनाउन र ऋण लगानी गर्न सञ्चालक समिति मार्फत गर्नु पर्ने तथा कार्यक्षेत्र विस्तार गर्न, साधारण सभा सम्पन्न गर्न लगायतका विषयमा झन्झटिला नीतिगत समस्याहरु रहेको उल्लेख गरे ।
गिरीले सहकारी संस्थाहरुमा सुशाशन कायम गर्नु पर्ने, कर्मचारीलाई सदस्य वनाउने लक्ष तोक्न नहुने, सदस्यहरु माझ वित्तीय साक्षरता र उद्यमशीलता वढाउने साथै नीति, विधि र प्रविधिको सहयोगले सेवा प्रभावकारी वनाउन सुझाव दिए ।

सो अवसरमा महेन्द्र कुमार गिरीले आफ्नो संस्था सहारा नेपालले गरेको केहि सफल कामको दृष्टान्त प्रस्तुत गरेका थिए । सहारा नेपालले सरकारलाई कर तिर्ने संगै स्थानीय सरकार संग मिलेर सामाजिक उत्तरदायित्व अन्तर्गत १८ वटा भन्दा वढी जेष्ठ नागरिक चौतारी निर्माण गरी दिवा सेवा प्रदान गरेको, १८०० विपन्न आवास निर्माणमा सहजीकरण गरेको, ३ हजार भन्दा वढी वायोग्यास प्लान्ट निर्माण गरेको, ८ हजार भन्दा वढी सोलार जडान गरेको र ९०० वटा स्यालो ट्यूवेल जडान गरेको वताए । गिरीले करीव २८ हजार सदस्यको स्वास्थ्य सुविधामा २८ करोड रुपैया खर्च गरेको, १४ हजार भन्दा वढी सदस्यलाई कृषि प्राविधिक सेवा प्रदान गरेको, विदेशवाट फर्केका ३ हजार भन्दा वढी युवाहरुलाई स्वरोजगार वनाउन अटो रिक्सा खरिदमा करिव ३० करोड लगानी गर्नुका साथै समुदायलाई कृषिमा आत्मनिर्भर वनाउने लक्ष सहित उपयुक्त व्यवसाय छनौट देखि वजारीकरण गर्ने सम्मको समन्वय गर्न प्राविधिकहरु सहितको एग्रो विजनेश यूनिट खडा गरेर काम शुरु गरेकोे जानकारी दिए ।

वेविनारमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले करिव ७ दशक लामो इतिहास वोकेको सहकारी क्षेत्रले हाल गरीब तथा निमुखाहरुको जीवनस्तर उकास्न नसकेको प्रति चिन्ता ब्यक्त गरे । श्रेष्ठले थपे “फेरेडेरिक विलियम राइफीसेनले जर्मनीमा भोकमरी हुँदा वाहिर अरु कसैको सहयोग विना आफ्नै समुदायमा एकले अर्कोलाई सहयोग गर्ने गरी सहकारीको अवधारणा ल्याएको हो । यस्तो सहयोग गरीब तथा निमुखालाई प्राथमिकता दिएर अगाडी वड्ने अवधारणा हो । जो पछाडि परेको छ उसलाई सहयोग गर्ने र अघि वढाउने भन्ने हो तर हाम्रोमा त्यसो हुन सकेको छैन् । गरीबहरुले खाइ नखाइ जम्मा गरेको पैशा हिनामिना गरेको घटना–परिघटनाहरु भएका छन् । ८० प्रतिशत सहकारी संस्थामा रकम हिनामिनाको समस्या आएको छ । गरीबहरुले गरेको वचतको सुरक्षाकवच वन्नु पर्नेमा सञ्चालकहरुबाट नै यस्तो हुनु निकै दुख लाग्दो कुरा हो । सहकारी सदस्यहरु झन झन गरिब हुदै गएको अवस्था छ ।” श्रेष्ठले भने ।

अहिले सहकारीमा भाखा नाघेको कर्जा वढेको सन्दर्भमा श्रेष्ठले केहि टाठावाठा सञ्चालक र उनीहरुलाई प्रभावित पार्न सक्ने ऋणीहरु धेरै हुँदा सहकारीमा यस्तो समस्या आएको वताए । श्रेष्ठले गरीबीको रेखावाट माथि उठेका सदस्यहरु पनि पछिल्लो समय गरीबीको रेखा मुनी झर्न थालेकोले सहकारीहरुलाई सजग हुन आग्रह गरे । “सुशासन कायम राख्ने कार्यमा प्रमुख कार्यकारी तथा संञ्चालकहरुले ध्यान दिनु पर्यो, धनि र गरीब विचको खाडल वढ्दै गएको छ सहकारीले यो ग्याप पुरा गर्नु पर्छ । यहाँहरुले आफ्नो संस्थामा लेखा जोखा गरेर हेर्नुस गरीब माथि उठेको छ कि छैन ? सदस्य र संस्थाको प्रगति संग संगै हुनु पर्छ । यस्ता विषयमा संञ्चालकहरुलाई अभिमुखीकरण गराउन प्रमुख कार्यकारीहरुले भूमिका अहम हुन्छ ।” श्रेष्ठले थपे ।

अध्यक्ष श्रेष्ठले लघुवित्त कार्यक्रम संचालन गर्ने सहकारी संस्थाहरुका कारण थोरै भए पनि सहकारीको गरिमा कायम रहेको र लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारीहरुले नेपालको गरीबी निवारणमा ठुलो योगदान गरेको वताए । अव हरेक संस्थाले आफ्ना सदस्यहरुको आर्थिक अवस्था विश्लेषण गरी स्तरीकरण गर्नु पर्ने र कमजोरहरुलाई प्राथमिकताका साथ अगाडी वढाउन सघाउने नीति लिन आग्रह गरे । सदस्यको भलाईको लागि गरिने जुन सुकै लगानीले सकारात्मक प्रतिफल दिने हुदा सदस्यको जीवनस्तर सुधार्न लगानी गर्नु पर्ने श्रेष्ठको जोड थियो ।

कार्यक्रमका सहजकर्ता किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रवन्धक डम्वर वहादुर शाहले सहकारीमा ब्यक्तिवादी चरित्र हावी हुदा निर्णय गर्ने अधिकार केही सिमित ब्यक्तिमा हुन पुगेको र त्यसले सुशासनमा समस्या पैदा गरेको वताए । यसै गरी सहकारीमा ठुलो संख्यामा सदस्यहरु निस्कृय रहेको र उनीहरुलाई उद्यमी वनाएर हरेक संस्थाले कति सदस्यको जीवनस्तर माथि उठायो भन्ने आँकडा राख्नु पर्ने धारणा राखे ।

यसै गरी कार्यक्रममा सहभागीहरुले सहकारीहरु आफ्नो मर्म र सिद्धान्त अनुरुप नचलेको, गरीबी निवारणमा उल्लेख्य योगदान नदेखिएको, नाफामुखी हुदै गएको जस्ता सवालहरु उठाएका थिए ।
सहकारीको वर्तमान अवस्था, लघुवित्त सञ्चालक सहकारी संस्थाहरुले भोगेका चुनौति वारे छलफल गर्दै भावि कार्यनीति वनाउन सघाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले उक्त अनलाईन वेविनारको आयोजना गरेको हो । वेविनारमा २० वटा सहकारी तथा लघुवित्त संस्थावाट ९४ जना पूरुष र २१ जना महिला सहित १सय १५ जनाको सहभागिता रहेको थियो ।

समाचार

सुचना