स्वावलम्बन विकास केन्द्र

तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको दोश्रो समीक्षा सम्पन्न :११ बुँदे घोषणापत्र कार्यान्वयन गरी वर्तमान संकट समाधान गर्नु पर्नेमा जोड

तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले तय गरेको ११ बुँदे घोषणापत्र कार्यान्वयनको पछिल्लो अवस्थाबारे छलफल गर्न २०७९ फागुन १५ मा सम्मेलनमा सहभागी संस्थाका प्रमुखहरुको सहभागितामा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रमले हाल सम्म भएको प्रगति बारे छलफल गर्नुको साथै लघुवित्तमा देखिएको संकट समाधान गर्न ११ बुँदे घोषणापत्रको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने र यसले लघुवित्तको वर्तमान संकट समाधानमा समेत सहयोग गर्ने निष्कर्ष निकालेको छ ।

सो अवसरमा सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले अहिले लघुवित्त संस्था र कर्मचारीको तहमा भएका कमी कमजोरी आत्मसात् गरी लघुवित्तको शुद्धिकरण, सुदृढीकरण तथा सबलीकरणमा ध्यान दिने बेला आएको बताउनु भयो । “तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको मर्म बारे आन्तरिक रुपमा समेत पर्याप्त सन्देश प्रवाह भएको छैन् । बुझाई फराकिलो हुन सकेको छैन् । हामी आफूले यसमा धेरै छलफल गरी यसको मर्म उद्यमशीलता विकास गरी लघुवित्तलाई गरीब र विपन्न बर्गको जीवनस्तर उकास्ने एक प्रभावकारी अस्त्रको रुपमा अभ्यास गर्नु पर्यो । “घर घरमा उद्यम फैलाऊँ, गरीबीलाई शून्य बनाऊँ” भन्ने नारा घर घरमा पुग्नु पर्यो र सोही अनुसार काम गर्नु पर्यो । अहिले जति पनि समस्या छन् र समाचार आएका छन् त्यसमा देखिने भनेको सदस्यलाई लघुवित्तले कर्जा मात्रै दिने काम गर्यो अरु केही गरेको छैन भन्ने प्रष्ट हुन्छ । ऋण कसरी प्रवाह भयो, त्यो सही ठाउँमा पुग्यो पुगेन, त्यसको सदुपयोग भयो भएन र सदुपयोग भएर सदस्यको जीवनस्तर माथि उठ्यो उठेन भन्ने जस्ता कुरामा ध्यान पुग्न सकेको छैन् । अहिलेको अवस्थामा कमजोर र किस्ता तिर्नै नसक्ने अवस्थामा रहेका सदस्यलाई असुलीको लागि जोड गर्ने अवस्था छैन् । कर्मचारीहरुलाई पनि सदस्यसँग गर्नु पर्ने व्यवहार सम्बन्धमा अझ राम्रो संग सिकाउनु पर्यो । एक महिना भित्र आफ्नो शाखामा पुगेर सदस्यको अवस्था र कर्मचारीको काम गर्ने तौरतरिका बुझौँ । आफ्नो शाखा, केन्द्र र सदस्यलाई वर्गीकरण गरौँ । खास गरेर मिटर ब्याजीको रुपमा लघुवित्तको जुन परिचय बन्दै छ त्यो चिर्नु जरुरी छ । यसको लागि अहिले मुख्य कुरा घोषणापत्र कार्यान्वयनमा जोड दिनु पर्र्यो ।” श्रेष्ठले भन्नु भयो ।

समीक्षाको अवसरमा सम्मेलनमा सहभागी संस्थाहरूले सम्मेलनको घोषणापत्र कार्यान्वयनको प्रगति बारे जानकारी गराउनु भएको थियो ।

सो अवसरमा बोल्दै यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक डा. गोपाल दहितले ११ बुँदे घोषणापत्र प्रबन्ध समितिबाट पास गरेर पञ्चवर्षीय योजनामा समोश गरेको  र सम्मेलनको मुख्य नारालाई संस्थाको हरेक कार्यक्रममा प्राथमिकता दिने गरेको बताउनु भयो । साथै उहाँले वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रमको लागि बर्दियाको राजापुर नगरपालिका २ बरगड्डी गाउँका २०० घरधुरीलाई समेटेर अघि बढेको, बाँके र बर्दियामा कक्षा १२ का विद्यार्थीहरूलाई समेटेर १५ वटा तीन शून्य क्लबहरू गठन गरेको, कर्मचारी सँग नियमित अनलाईन छलफल र अन्तरकृया गरी सदस्य सँग काम गर्दा ध्यान दिनु पर्ने कुराहरूबारे सजग गराएको र दोस्रो चरणमा सदस्यलाई पनि वित्तीय साक्षरताद्वारा प्रशिक्षित गर्ने योजना रहेको बताउनु भयो ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्मर बहादुर शाहले किसानले हाल, तीन शून्य क्लब, वातावरणमैत्री स्वावलम्बन गाउँ विकास, विद्यालयसँग सहकार्य गरी बालबालिकाहरू माझ उद्यमशीलता प्रवद्र्धन लगायतका काम गर्दै आएको बताउनु भयो । पछिल्लो समय सहकारी शिक्षा कार्यक्रम आयोजना गरी करिव ७३ हजार सदस्य माझ लघुवित्तको महत्व बुझाउने लक्षका साथ अभियानमा जुटेको जानकारी दिनुभयो ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले कोशी प्रदेशमा प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न गरेर १४ बुँदे घोषणापत्र बनाई कार्ययोजना बनाएको जानकारी गराउँदै सम्मेलन आयोजक समितिको फोरमले यस प्रदेशमा लघुवित्तको प्रभावकारी उपस्थितिमा काम गर्ने जानकारी दिनु भयो । साथै उहाँले अहिले लघुवित्त संस्थाले आफ्नो सबै सदस्यको विवरण संकलन गरी वर्गीकरण गर्ने र कुन सदस्यलाई कस्तो प्रकारको सहयोग आवश्यक छ सोही अनुसार रणनीति बनाएर अघि बढ्नु पर्ने बताउनु भयो । साथै सञ्चारकर्मी लगायत अन्य सरोकारवालाहरूलाई लघुवित्तको महत्वबारे बुझाउनु पर्ने धारणा राख्नु भयो ।

यसै गरी जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत विमला योगीले तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन पछि लघुवित्त संस्थाको काम, सामाजिक र संस्थागत सुशासनको पक्षमा पनि राम्रो प्रभाव पारेको बताउनु भयो । साथै आफूले सम्मेलनको मर्म अनुसार आफ्ना असल ऋणी र सफल सदस्यहरूलाई एक ठाउँमा राखेर क्लस्टर बनाएर उद्यमशीलता विकास तथा वित्तीय साक्षरता तालिम दिन शुरु गरेको, सदस्य भेटघाट बढाएको, सदस्यको खेतबारीमै गएर कृषि विशेषज्ञ सेवा शुरु गरेको, वातावरणमैत्री स्वावलम्बन गाउँ को शुरुवात गरेको बताउनु भयो । योगीले अहिलेको आवश्यकता अनुसार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले हाल मह, दूध, गेडागुडी, तोरी, स्थानीय चामल लगायतको क्षेत्रमा सदस्यको उत्पादन बढाउने, बजार सुनिश्चित गर्ने र उत्पादनको उच्च मुल्य प्रदान गर्ने काम पनि शुरु गरेको बताउनु भयो  ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेलले विद्यालयमा उद्यमशीलता प्रवद्र्धन गर्न बाँके जिल्लाको जय जनता माध्यमिक विद्यालय सँग सहकार्य गरी विद्यार्थीहरुको लागि माछा पालन र तरकारी खेती शुरु गरेको र तीन शुन्य क्लब गठन गरेको, कोहलपुर १३मा वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम, फत्तेबाल आँखा अस्पताल सँग मिलेर सदस्यको लागि आँखा उपचार सेवा प्रदान जस्ता काम गरेको जानकारी दिनु भयो । साथै उहाँले ऋणीको अवस्था पहिचान गर्न हरेक शाखामा सदस्य र उद्यमको विवरण तयार भै रहेको, केन्द्र प्रमुख गोष्ठी गरेर सफल उद्यमीलाई पुरस्कार गर्ने र लघुवित्त अभियन्ताको रुपमा अघि बढाउने योजना रहेको लगायतका कार्यहरु पनि भैरहेको बताउनु भयो ।

सो अवसरमा ईनफीनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, प्रवीण कुमार लामा, धौलागिरी लघुत्ति वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा, छिमेक लघुवित्त वित्तिय संस्था लि. का नायब महाप्रबन्धक, दीपक निधि तिवारी, फरवार्ड माइक्रो फाइनान्सका मुख्य प्रबन्धक हिरा कुमारी थन्दारले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो ।

समीक्षा कार्यक्रममा विभिन्न लघुवित्त संस्थाका ४८ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

समाचार

सुचना