स्वावलम्बन विकास केन्द्र

सदस्यहरुमा कोरोना भाईरस महामारी तथा लकडाउनको प्रभावको अध्ययन गरी रणनीति तय गरौँ ।

लघुवित्त अभियन्ता तथा विज्ञ शंकरमान श्रेष्ठले लघुवित्त संस्थाहरुलाई आफ्ना प्रत्येक ऋणी र सदस्यहरुको अवस्था वारे विस्तृत अध्ययन गरी सोहि अनुसार कोरोना विरुद्धको आगामी रणनीति अवलम्वन गर्नु पर्ने सुझाव दिनु भएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीको कारण भएको लकडाउनले लघुवित्त संस्थाका सदस्यहरुलाई एकनासले नभई फरक फरक किसिमका समस्या पारेको हुँदा केन्द्र र शाखाले समन्वय गरी सदस्यहरुको अवस्था बुझ्ने र सोही अनुरुप रणनीति वनाउनु आवश्यक रहेको, उहाँको धारणा छ । “लकडाउन खुकुलो भएकाले सम्भव भए घरमै गएर नभए टेलिफोन, इमेल वा अन्य विधिवाट भए पनि सदस्यको अवस्था बुझ्नु पर्छ” उहाँको भनाइ थियो । श्रेष्ठले कोरोनाको कारण ठुलो समस्यामा परेका सदस्यहरुलाई उद्धार गर्नु पर्ने अवस्था आए संस्थाहरुलाई तयार रहन समेत सुझाव दिनु भएको छ ।

स्वावलम्बन विकास केन्द्रले प्रदेश १ र २ का लघुवित्त सदस्य संस्थाहरुलाई लक्षित गरी  आयोजना गरेको कोरोना पछिको लघुवित्त, अवसर, चुनौती र आगामी कार्यदिशा विषयक अनलाइन भिडीयो छलफलमा श्रेष्ठले यस्तो सुझाव दिनु भएको हो । उहाँले कोरोना भाइरसको महामारीले लघुवित्त क्षेत्रमा हाल रहेका देखिएका विसंगतिहरु सुधार्ने अवसर पनि प्रदान गरेको भन्दै यो लघुवित्तको संस्कार ब्यापक रुपमा पुर्नस्मरण गर्नु र गराउनु पर्ने वेला भएको वताउनु भयो । लघुवित्त क्षेत्रमा विद्यमान दोहोरोपना निर्मुल गर्नु पर्ने तथा सदस्यहरुको वर्गीकरण गर्नु पर्ने जस्ता काम यही वेला गर्नु पर्ने उहाँको सुझाव थियो ।

लकडाउनवाट परेको समस्या समाधानका लागि लघुवित्त वित्तीय संस्थाहरु एवं सहकारी  संस्थाहरु संग छलफल गर्ने क्रममा असार १ गते प्रदेश १ र २ स्थित प्रमुख ९ वटा लघुवित्त सेवा प्रदान गर्ने संस्थाहरु सल्भ नेपाल लघुवित्त वित्तीय संस्था, नवोदय बहुउद्देश्यीय सहकारी संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, ग्रमिण स्वयमसेवक लघुवित्त वित्तीय संस्था, फरवार्ड कम्युनिटि लघुवित्त वित्तीय संस्था र सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था सहभागी थिए ।

सहभागी हरुले लघुवित्त क्षेत्रको वर्तमान अवस्था वारे आ आफ्ना अनुभवहरु आदान प्रदान गर्नु भएको छ । यसै गरी वन्दावन्दी (लकडाउन) को अवधिमा प्राप्त भएका सिकाईहरु पनि आदान प्रदान गर्नु भएको छ ।

स्वावलम्बन विकास केन्द्रले कोरोना भाईरसको महामारी लाई लक्षित गरी अनलाइन मार्फत भिडीयो छलफलहरु संचालन गरी रहेको छ । पुनः यस्तै छलफल प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लाई समेटेर असार ४ गतेका दिन आयोजना गरिदैछ ।

समाचार

सुचना