स्वावलम्बन विकास केन्द्र

लघुवित्त सिक्न बंगलादेशमा अध्ययन अवलोकन भ्रमण

स्वावलम्बन विकास केन्द्रले नेपालका लघुवित्त संस्थाहरुलाई लघुवित्तको मूल्य, मान्यता तथा यसका अभ्यासबारे स्वदेश तथा विदेशका लघुवित्त संस्थाहरुको अध्ययन अवलोकन गराउने गरेको छ । यसै परिपे्रक्षमा लघुवित्तको जननी मानिने बंगलादेशमा लघुवित्तको अभ्यास, यसका मूल्य, मान्यता तथा नयाँ प्रयोगहरु बारे सिक्ने अभिप्रायले पछिल्लो पटक २०७९ चैत्र ५ देखि १२ सम्म अध्ययन, अवलोकन भ्रमणको आयोजना गरेको छ । 

 
बंगलादेशको अध्ययन अवलोकन भ्रमणमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का ९ जना सञ्चालक समिति सदस्य र एक जना उपनिर्देशकको सहभागिता रहेको थियो । भ्रमणको संयोजन स्वावलम्बन विकास केन्द्रका सहायक निर्देशक सोपन विष्टले गर्नु भएको थियो ।
भ्रमण टोलीले बंगलादेशमा ग्रामीण बैंक, इन्टीग्रेटेड डेभलपमेन्ट फाउण्डेसन (आईडीएफ) र आशा संस्थाको क्षेत्रीय कार्यालय, इलाका कार्यालय, शाखा कार्यालयका साथै, परियोजना स्थल तथा लघुवित्त सदस्यहरुको उद्यम व्यवसायको अध्ययन, अवलोकन गरेको थियो । भ्रमणको क्रममा टोलीले बंगलादेशको लघुवित्त नियामक निकाय माइक्रोफाइनान्स रेगुलेटरी अथोरिटी (एमआरए) र लघुवित्त क्षेत्रको लागि उपयुक्त नीति तथा कार्यक्रमका लागि वकालत र पैरवी गर्ने संस्था क्रेडिट डेभलपमेन्ट फोरम (सीडीएम) बारे पनि जानकारी लिएको थियो ।
भ्रमण टोलीले अवलोकन गरेको ग्रामीण बैंक बंगलादेश चटगाउँ विश्वविद्यालय अन्तर्गत सन् १९७६ देखि १९७९ सम्म इकोनोमिक्स रिसर्च तथा एक्सन प्रोजेक्ट र बंगलादेशको केन्द्रीय बैंकबाट सन् १९७९ देखि १९८३ सम्म लघुवित्त कार्यक्रम पाइलट परियोजनाको सफलता पछि लघुवित्त सञ्चालन गर्न बंगलादेशको सरकारले अध्यादेश मार्फत सन् १९८३ मा स्थापना गरेको हो । विश्वकै अग्रणी लघुवित्त संस्था ग्रामीण बैंकले हाल बंगलादेश भरी ९४ प्रतिशत भुभागका करिव १ करोड ३३ लाख गरीब र विपन्न सदस्यहरु माझ ऋण प्रवाह गरेको छ । यसै गरी अर्को संस्था इन्टीग्रेटेड डेभलपमेन्ट फाउण्डेसन (आईडीएफ) सन् १९९२मा स्थापना भएको हो । आएडीएफले वित्तीय सेवा सँगै आफ्ना ग्राहक सदस्यको उत्थानको लागि  प्रदान गर्ने गैर वित्तीय सेवाहरु अनुकरणीय छन् । यस्तै गरिब जनताको जीवनस्तर माथि उकास्दै सामाजिक रुपान्तरण गर्ने लक्ष सहित १९७८ मा स्थापना भई गैर सरकारी संस्थाको रुपमा काम गर्ने आशाले यहाँको गरिब तथा विपन्न बर्गको जीवनस्तर माथि उठाउन गरेको वित्तीय तथा गैर वित्तीय सेवा तथा कार्यक्रमहरु पनि अनुकरणीय छन् ।
भ्रमण टोलीले मदारीपुर जिल्लामा रहेको ग्रामीण बैंकको पाँचोर्शिबचोर शाखाको अवलोकन गरेको थियो । जनवरी २०२३ सम्मको तथ्यांक अनुसार यस शाखामा ७ जना कर्मचारी, ५४ वटा केन्द्र, ४३०० सदस्य, २,७८१ ऋणी सदस्य, लगानीमा रहेको रकम ७ करोड ४५ लाख, बचत ७ करोड २२ लाख  टाका रहेको छ भने गत आर्थिक वर्षमा शाखाको नाफा ४३ लाख टाका छ । यहाँे शाखाको ९९ प्रतिशत असुली दर रहेको छ । ऋण तथा परियोजना मूल्यांकन प्रक्रियाको कडा परिपालनाको साथै यसका सदस्यहरूको ऋणको आकारमा क्रमिक बृद्धि गराउने नीतिका कारण असुली दर उत्कृष्ट रहेको हो ।
भ्रमण टोलीले ग्रामीण बैंकको गोलकण्डा बुमा केन्द्र पनि अवलोकन गरेको थियो । यो केन्द्रमा हाल ६० जना सदस्य रहेका छन् । ग्रामीण बैंकका सबै केन्द्रहरूमा नियमितरुपमा साप्ताहिक बैठकहरू हुने गरेका छन् । यहाँ धेरै पुराना सदस्य छन् जसले क्रमिक रूपमा कर्जाको आकार बढाउदै लगेका छन् । यसको एक उदाहरण हुन् विगत १५ वर्ष देखि ग्रामीण बैंकको सदस्य रहेकी शेफाली राणा । सुरुमा ५ सय टाका ऋण लिएकी राणाले अहिले १ लाख टाका ऋण लिइरहेकी छिन् । क्षमता र अनुभव बटुल्दै आवश्यकता अनुसार विस्तारै ऋणको आकार बढाउँदै जाँदा यहाँ सदस्यको उन्नति भएको छ भने शाखा पनि दिगो भएको छ । ग्रामीण बैंकका अन्तर्राष्ट्रिय कार्यक्रम प्रमुख गोलाम मोर्सेद मोहम्मदका अनुसार कर्जाको आकारमा क्रमिक बृद्धि र कर्जा प्रवाह गर्नु अघि कडाईका साथ गरिने कर्जा विश्लेषण तथा मूल्याङ्कन प्रकृयाले गर्दा कोभिड–१९ जस्तो ठूलो महामारीको समयमा पनि ग्रामीण बैंकको असुली दर उत्कृष्ट नै रहेको छ । उहाँका अनुसार जनवरी २०२३ सम्मको तथ्यांक अनुसार कर्जा असुलीदर ९७.१४ प्रतिशत रहेको छ ।
ग्रामीण बैंकको हाल मुलुकभरी ८१,६७८ वटा गाउँहरुमा २,५६८ वटा शाखा, १,३५,१५५ केन्द्रहरु, १४,५८,८६९ समूह र १ करोड ३० लाख सदस्यहरु रहेका छन् । ग्रामीण बैंकसँग सदस्यको लागी धेरै थरी बचत र सार्वजनिक निक्षेप कार्यक्रमहरु छन् । यिनै कार्यक्रमहरु मार्फत शाखा स्तरबाटै आवश्यक पूँजी निर्माण गर्ने स्मार्ट कोष व्यवस्थापन प्रणाली छ । शाखा कार्यालयहरूले आफ्ना सदस्यहरूलाई आवश्यक ऋण उपलब्ध गराउँछन् र बढी भएको रकम ग्रामीण बैंकको प्रधान कार्यालयमा पठाउँछन् । बैंकले यस्तो अतिरिक्त रकम सरकारी ऋणपत्र र ग्रामीण म्युचुअल फण्डमा लगानी गर्छ जुन ढाका स्टक एक्सचेन्जमा पनि सूचीकृत छ ।
सन् २०२३ सम्म निक्षेप र लगानीमा रही रहेको रकम बिचको अनुपात १५६ प्रतिशत रहेको छ भने निक्षेप एवं आन्तरिक श्रोतवाट जुटेको रकम र लगानीमा रही रहेको रकमको अनुपात १७६ प्रतिशत रहेको छ । त्यसै गरी लगानीमा रही रहेको रकम भन्दा निक्षेप बढी भएका शाखाको संख्या १,९५८ रहेको छ । ग्रामीण बैंकको लागि बजारमा तरलताको अभाव हँुदा यस्तो कोष विशेष काम आउँछ । त्यसैगरी, सदस्यहरूले आफ्नो किस्ता तिर्न नसक्ने अवस्था भयो र बैंकले ५० प्रतिशत कर्जा जोखिम व्यवस्था गरेको अवस्थामा व्यक्तिगत रुपमै सदस्यको विशेष मूल्याङ्कन गरी सो को आधारमा कर्जा तालिका फेरबदल गरी सदस्यहरूलाई किस्ता तिर्न सहज होस् भन्ने हेतुले सहुलियत कर्जा उपलब्ध गराउने कार्यादेश रहेको छ । यो सुविधा ग्रामीण २ मोडेल लागू भए पछि सुरु भएको हो ।
भ्रमण टोलीले चटगाउँको उत्तर चाँडगाउँमा रहेको आईडीएफको लक्ष्मी आचार्य बाडी नामक केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । यहाँ कर्जाको आकार सानो छ । सबै भन्दा ठूलो रु ४ लाख टाका । ब्याज दर २४% घट्दो ब्यालेन्स मा छ भने औसत ऋणमा ४६ किस्ता छन् र २३ किस्ता पूरा गरे पछि सदस्य अर्को कर्जा लिन योग्य हुन्छन् । टोलीले आइडीएफले चटगाउँ डिभिजनमा गैर वित्तीय सेवा अन्तर्गत आफ्ना सदस्य तथा समुदायलाई प्रदान गर्दै आएको स्वास्थ्य सेवा कार्यक्रमबारे जानकारी लिएको थियो । यहाँ स्वास्थ्य सेवा प्रवाह गरी रहेका दुई जना मध्येका एक डा. मुक्त कानुन सँग अन्तरक्रिया गरेको थियो । डा. मुक्तका अनुसार चटगाउँ डिभिजन अन्तर्गत दुई जना डाक्टर, चार वटा स्वास्थ्य केन्द्र, चार जना स्वास्थ्य अधिकारी र ६५ वटा प्यारामेडिक्स मार्फत स्वास्थ्य सेवा प्रवाह भै रहेको छ । २५ हजार टाका भन्दा बढी ऋण लिने जोसुकै सदस्यले पनि यस्तो सेवा पाउँछ । यसको लागि एक पटकलाई १५२ टाका तिरेर स्वास्थ्य परिचयपत्र  बनाउनु पर्छ । यो परिचयपत्रको आधारमा केन्द्रमा उपलब्ध औषधि र स्वास्थ्य परिक्षण सेवा निशुल्क उपलब्ध हुन्छन् । तर स्वास्थ्य परिचयपत्र नभएकाहरुका लागि भने हरेक पल्ट परामर्श शुल्क प्यारामेडिकका लागि ५० टाका र चिकित्सकका लागि २०० टाका तिर्नु पर्छ ।
भ्रमण टोलीले चटगाउँ डिभिजनको सतकनियामा सञ्चालित समृद्धि कार्यक्रमबारे जानकारी लिएको थियो । आइडीएफले यो कार्यक्रम रोजगारी सिर्जना र गरीबी निवारणको लागि स्थापना भएको यहाँको सरकारी संस्था पालीकर्मा सहायक फाउण्डेसन (पीकेएसएफ) सँगको सहकार्यमा सञ्चालन गरेको हो । यो कार्यक्रमबाट ५ हजार ५ सय घरधुरीले दुई जना स्वास्थ्य अधिकारी, ११ जना स्वास्थ्य कार्यकर्ता र ९ वटा स्वास्थ्य केन्द्रबाट सेवा प्राप्त गर्दै आएका छन् । यहाँ स्वास्थ्य कार्यकर्ताले हरेक दिन बिहान ९ बजे देखि १२ बजे सम्म घरदैलो गरेर गर्भवती, कुपोषण, मधुमेह जस्ता विषयमा प्राथमिक स्वास्थ्य सल्लाह दिन्छन् । साथै यस कार्यक्रम अन्तर्गत निशुल्क रुपमा टेलिफोनको माध्यमबाट औषधि उपचार सेवा, स्वास्थ्य शिविर सञ्चालन, आँखा शिविर जस्ता सेवाहरु पनि प्रदान गर्दै आएको छ । साथै हरेक महिना ६० बर्ष माथिका बुढापाकालाई मासिक ५०० टाका, अपाङ्गहरुलाई २००० टाका र भिखारीलाई एक लाख टाका सम्म किस्ताबन्दीमा प्रदान गर्दै आएको छ । 
समृद्धि कार्यक्रम अन्तर्गत युवा लक्षित सेवाहरु पनि छन् । यसमा ५ हजार युवाहरुलाई विभिन्न किसिमको सीप मूलक तालिमहरु प्रदान गरेको छ । साथै यस क्षेत्रमा ४० वटा शैक्षिक केन्द्रहरु मार्फत नर्सरी देखि कक्षा २ सम्मका बालकबालिकाहरुको लागि बेलुकी ३ वर्ष देखि ५ बजे सम्म अध्ययन अध्यापनको सेवा प्रवाह गरेको छ । साथै विद्यालय बीचैमा छाडेका वालवालिकाहरुको लागि पनि वैकल्पिक शिक्षाको रुपमा ट्यूसन कक्षा पनि चलाई रहेको छ । संस्थाले बेलाबखत तालिमहरु आयोजना गरेर यसरी निशुल्क शिक्षा प्रदान गर्ने शिक्षकहरुको क्षमता विकास पनि गर्दै आएको छ ।
टोलीले चटगाउँ डिभिजनको लाल पारा जिलोंगामा रहेको आशा (एएसए)को मोइत्री नामक केन्द्रको पनि अवलोकन भ्रमण गरेको थियो । त्यहाँ ३० जना सदस्य मध्ये २८ जना ऋणी सदस्यहरू थिए । सबैभन्दा ठूलो ऋणको आकार १ लाख ५० हजार पाकी मोर्जी अख्तरले लिनु भएको छ । ब्याज दर २४% घट्दो ब्यालेन्समा छ । आशामा समूह जमानीको चलन छैन् । केन्द्रमा केन्द्र प्रमुख, सचिव र क्यासियर रहने व्यवस्था छ । सदस्यहरूले किस्ता अनलाइन तिर्छन् । ऋणको किस्ता रकम र पासबुक ऋण अधिकृतलाई दिए पछि ऋण अधिकारीले आफ्नो स्मार्ट फोनमा रहेको एप्सवाट रकम र अन्य आवश्यक सूचना प्रविष्ट गर्दछ । एपले तिर्न बाँकी रकम र सदस्यको बचत ब्यालेन्स गणना गरेर देखाउँछ । यस्तो जानकारी सदस्यले आफूसँग रहेको पासबुक मार्फत पनि राख्न पाउँछन् । यस केन्द्रको असुली दर शतप्रतिशत रहेको छ भने ऋण लगानीमा रही रहेको ऋण २० लाख टाका छ ।
आशाका वरिष्ठ शाखा प्रबन्धक सुदीप बरुवाका अनुसार सन् २०२३ को फरबरी सम्म आशाको ऋण लगानी ३९३ अर्ब ९६ करोड छ र लगानीमा रही रहेको रकम २५० अर्ब ८९ करोड टाका रहेको छ । आशाले ३,०७३ शाखा मार्फत ७३ लाख सदस्यलाई सेवा प्रदान गरेको छ । साथै बरुवाले आशामा सदस्यलाई प्रदान गर्ने कर्जाको वर्गीकरण गरेको जानकारी दिनु भयो । जस अनुसार नयाँ सदस्यको लागि ९९ हजार टाका सम्म, ९९ सय हजार देखि तीन लाख टाका सम्मको विशेष कर्जा र ३ लाख टाका भन्दा माथि ऋण लिन ग्रेजुएट सदस्य हुनु पर्ने व्यवस्था छ । यहाँ पनि कर्जाको ब्याज दर २४% घट्दो ब्यालेन्स दरमा छ तर विशेष ऋणको ब्याजदर भने १८% घट्दो ब्यालेन्स तोकिएको छ । विशेष ऋण उत्पादनमूलक दिगो किसिमका व्यवसाय जस्तै गाईको क्रस प्रजनन, च्याउ खेती, गड्यौला मल र समुद्रको तटमा बगरे खेती जस्ता क्षेत्रमा उपलब्ध गराइन्छ ।
आशामा साप्ताहिक बैठक अभ्यासमा छ । तर भुक्तानीको प्रकृया भने साप्ताहिक सँगै मासिक पनि छ । आशाले प्रत्येक शाखामा १ जना सदस्यका लागि छात्रवृत्ति कार्यक्रम, लाल पारा जिलोंगामा फिजियोथेरापी लगायत स्वास्थ्य कार्यक्रम र सोट्टा महेशकालीमा स्वास्थ्य केन्द्र जस्ता कार्यक्रम पनि सञ्चालन गरेको छ । स्वास्थ्य कार्यक्रमका लागि आशाले २ जना फिजियोथेरापिस्ट, १ जना एमबिबिएस डाक्टर र ५ जना नर्स नियुक्त गरेको छ । आशाको मुख्य मान्यता भनेको एउटा असल सदस्यले अर्को सदस्यको खराब ऋणमा दण्डित हुनु हुँदैन भन्ने हो । त्यसैले केन्द्रमा समूह गठन प्रक्रिया त छ तर यसमा समूह दायित्व छैन । साथै, यो गैरसरकारी संस्था भएकोले यसले कमाएको सबै नाफा सदस्यहरूलाई फाइदा पुग्ने गरी गैर वित्तीय सेवा प्रदान गर्न प्रयोग गरिन्छ ।
टोलीले आईडीएफ पुगेर कार्यकारी निर्देशक जहिरुल आलमसँग पनि अन्तरक्रिया गरेको थियो । उहाँले बंगलादेश पछि नेपालले विश्वमै लघुवित्तको सबैभन्दा राम्रो अभ्यास भएको बताए । “अहिले नेपालको लघुवित्त क्षेत्रमा केही समस्या देखा परेको र ती समस्या सही नीति, रणनीति र कुशल व्यवस्थापनले समाधान गर्न सकिन्छ । अभ्यासले व्यवस्थापन गर्न सकिन्छ । बहुकर्जाको कारण बंगलादेशमा पनि विगतमा यस्तै समस्या आएको थियो । कुनै बेला बहुकर्जाकोे दर २५ प्रतिशत सम्म पुगेको थियो । लघुवित्त संस्थाको संख्या धेरै भएको र नेपालमा केन्द्रीय बैंकले लघुवित्त संस्थाको संख्या घटाउन प्रतिबद्ध रहेको कुरा पनि सुनेको छु ।” आलमको भनाई थियो । साथै उहाँले बंगलादेशमा लघुवित्तहरुले वित्तीय सँगै ठूलो मात्रामा गैर वित्तीय सेवा प्रवाह गरी रहेको र त्यो व्यवस्थापन गर्न कठिनाइ आउन सक्ने तर्फ चिन्ता व्यक्त गर्नु भयो ।
भ्रमण टोलीका एक सदस्य, सहारा साकोसका बोर्ड सदस्य उपेन्द्र ओलीले १० वर्ष अघिको तुलनामा अहिले बंगलादेशको लघुवित्तमा गैर वित्तीय सेवामा व्यापक विस्तार भएको र समग्र लघुवित्त क्षेत्र नै अझ राम्रो भएको उल्लेख गर्नु भयो । साथै उहाँले आइडीएफको स्वास्थ्य सेवा पनि निकै अनुकरणीय रहेको धारणा राख्नु भयो ।
सोही अवसरमा अर्का बोर्ड सदस्य लक्ष्मी आचार्यले बंगलादेशमा लघुवित्तले गैर वित्तीय सेवाहरु ग्रामीण क्षेत्रमा केन्द्रित गरेको र जुन नेपालका लागि पनि अनुकरणीय भएको उल्लेख गर्नु भयो ।
त्यसैगरी भ्रमण टोलीका अर्का सदस्य, सहारा साकोसका उपनिर्देशक दिनेश निरौलाले बंगलादेशका लघुवित्तले पछिल्लो समय आफ्ना सदस्यहरुलाई गैर वित्तीय सेवाहरु व्यापक रुपमा दिन थालेको र आफ्नो अघिल्लो भ्रमणको तुलनामा हाल सदस्यको जीवनस्तरमा उल्लेख्य सुधार आएको अनुभव ब्यक्त गर्नु भयो ।
स्वावलम्बन विकास केन्द्रका सहायक निर्देशक सोपान विष्टले नेपालमा विभिन्न संघर्ष समितिहरू र विभिन्न स्वार्थ बोकेका व्यक्तिहरूले लघुवित्तमा समस्या निम्त्याएको उल्लेख गर्नु भयो । “अहिले नेपालको लघुवित्तलाई समाजमा सद्भावको खाँचो छ । लघुवित्तले समाजको लागी के गरेको छ भन्ने प्रश्नको जवाफ दिन सकेको छैन । यदि बंगलादेशी लघुवित्तले गरीबी सूचकांक (पीपीआई) जस्ता प्रभाव मूल्याङ्कन विधि तथा उपकरणहरू विकास गर्न प्राविधिक सहयोग प्रदान गर्छ भने, हामी नेपालका लघुवित्तको वास्तविक तस्वीर र लघुवित्तका कारण सदस्यहरूको जीवन तथा समाजमा आएको आर्थिक र सामाजिक रूपान्तरण देखाउन सक्छौँ । लघुवित्तले नेपालमा पनि सामाजिक प्रतिष्ठा पुनः प्राप्त गर्न सक्छ ।” विष्टले भन्नु भयो ।

समाचार

सुचना