स्वावलम्बन विकास केन्द्र

आन्तरिक लेखापरीक्षकको क्षमता विकासका लागि तालिम कार्यक्रम सम्पन्न

लघुवित्त क्षेत्रलाई सुदृढ बनाउने प्रयास स्वरुप, स्वावलम्बन विकास केन्द्रले मिति २०८० पुस ०४ देखि ०६ सम्म “आन्तरिक लेखापरीक्षण र नियन्त्रण” विषयमा तीन दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । जसमा १५ वटा लघुवित्त संस्थाहरू र लघुवित्त कार्यक्रम सञ्चालन गर्ने सहकारीहरुका २४ जना आन्तरिक लेखापरीक्षकहरूको सहभागिता रहेको थियो । उक्त तालिम सहभागीहरुलाई आन्तरिक लेखापरीक्षकहरूको भूमिका र महत्वबारे परिचित गराउनुका साथै आन्तरिक लेखापरीक्षण र नियन्त्रणको प्रक्रिया, लघुवित्त क्षेत्रमा विद्यमान जालसाजी, त्रुटिहरू र त्यसको न्यूनीकरण गर्ने तरिकाहरूमा केन्द्रित थियो । तालिमको उद्देश्य आन्तरिक लेखापरीक्षकहरूलाई नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र र आन्तरिक राजस्व विभाग लगायत सरोकारवाला निकायका निर्देशन र मापदण्डहरुबारे अद्यावधि गराउनु रहेको थियो ।
तालिम कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले आन्तरिक लेखापरीक्षक लघुवित्तको मेरुदण्ड हुनुको साथै लेखापरीक्षकहरुले सही निर्देशन दिए लघुवित्तमा भई रहेका जालसाजी र त्रुटिहरू न्यूनिकरण गर्न ठूलो सहयोग पुग्ने धारणा राख्नु भएको थियो । उहाँले सहभागीहरुलाई आफूले भोगेका जालसाजी र त्रुटिहरू तथा त्यसको न्यूनिकरण गर्न प्रयोग भएका रणनीतिहरूबारे अनुभवहरू साटेर समेत तालिमलाई थप प्रभावकारी बनाउन आग्रह गर्नु भयो ।


स्वावलम्बन विकास केन्द्रका सहायक निर्देशक सोपन विष्टले लघुवित्तहरुका आन्तरिक लेखापरिक्षण प्रक्रियामा भएका लापरवाहीका कारण जालसाजीका घटनाहरु बढ्दै गएको र यसले संस्थाको प्रतिष्ठामा नकारात्मक असर परेको बताउनु भयो ।
तालिमको सहजीकरण विषयगत विज्ञहरु, नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल, आन्तरिक राजस्व विभागका कर अधिकृत श्याम आचार्य, कर्जा सूचना केन्द्रका महिमा डंगोल, पीएम एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्स पारसमणी अर्याल, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थी र नायब प्रमुख कार्यकारी अधिकृत दान राज पन्तले गर्नु भयो ।
सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले आन्तरिक लेखापरीक्षकको महत्वलाई जोड दिदै लघुवित्तको कार्यसम्पादनलाई असर गर्ने प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्नु भयो । साथै नेपाल राष्ट्र बैंकले नीतिगत अनुगमनको क्रममा आन्तरिक लेखापरीक्षणलाई महत्वपूर्ण विषयको रुपमा हेर्ने गरेको जानकारी दिनु भयो । साथै उहाँले हाल लघुवित्तमा अस्वस्थ प्रतिस्पर्धा, सदस्यहरूको पृष्ठभूमिको उचित जानकारी नराख्ने, लघुवित्त सिद्धान्तको पालना नगर्ने, अनुत्पादक क्षेत्रमा बढ्दो लगानी, लघुवित्त संस्थाको कार्य सम्पादनमा कमी जस्ता प्रमुख समस्या रहेको जानकारी गराउनु भयो । यी समस्याहरुलाई सम्बोधन गर्दै राष्ट्र बैंकले नीतिमा समय सापेक्ष संशोधन तथा परिमार्जन गर्नुको साथै कर्जा सूचना प्रणालीको शुरुवात, ग्राहक संरक्षण र वित्तीय सचेतनामा जोड दिने जस्ता कदमहरू चालेको बताउनु भयो । उहाँले लघुवित्त गर्ने संस्थाले लक्षित वर्ग केन्द्रित भई प्रतिस्पर्धी बन्ने, उपयुक्त व्यवसायिक मोडल छनोट गर्ने, उत्पादकत्व बढाउन जोड दिने, समय सापेक्ष नीति तथा योजना बनाउने र नियामक निकायसँग समन्वयन गरी काम गर्नु पर्नेमा जोड दिनु भयो । साथै, उहाँले जोखिम न्यूनीकरण गर्न आन्तरिक लेखापरीक्षकहरूलाई ऋण मूल्याङ्कनमा विषेश ध्यान दिन सुझाव दिनु भयो ।
आन्तरिक राजस्व विभागका कर अधिकृत श्याम आचार्यले कर तथा मूल्य अभिवृद्धि करको विषयमा विस्तृत चर्चा गर्नु भयो । आफ्नो सत्रमा उहाँले समयमा कर र वैदेशिक संस्थासँग कारोबार गर्ने संस्थाहरुलाई रिर्भस मूल्य अभिवृद्धि कर तिर्दा संस्थालाई हुने फाईदामा ध्यान दिनु पर्ने बताउनु भयो ।
लघुवित्त क्षेत्रमा देखिएको प्रमुख समस्या कर्जासँग सम्बन्धित भएको कारण लेखापरिक्षकहरुमा कर्जा सूचना केन्द्रका नयाँ व्यवस्थाहरुबारे महिमा डंगोलले आफ्नो सत्रमा जानकारी दिनु भएको थियो । सो अवसरमा उहाँले कर्जा सूचना केन्द्रमा रहेको विवरणको आधारमा अघि बढ्न सुझाव दिनु भयो ।
चार्टर्ड एकाउन्टेन्स पारसमणि अर्यालले लघुवित्तमा आन्तरिक लेखापरीक्षकहरूले वर्षभरिको हिसावकिताब राख्ने काममा मात्रै सिमित नभई लघुवित्त संस्थाहरूको वित्तीय तथा सञ्चालन गतिविधिको स्वतन्त्र मूल्याङ्कन पनि गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आन्तरिक लेखापरीक्षकको स्वतन्त्र कार्य शैलीले उनीहरूलाई जालसाजी र त्रुटिहरू पहिचान गर्न सघाउने बताउनु भयो । भेषराज पन्थीले आफ्नो सत्रमा आन्तरिक लेखापरीक्षकले जाँच गरेका विषयहरूको बारेमा जानकारी, मूल्याङ्कन, सिफारिस र परामर्श प्रदान गर्ने तथ्यबारे चर्चा गर्नुभयो । एक प्रभावकारी र स्वतन्त्र लेखा परीक्षक बन्नको लागि जोखिम व्यवस्थापन, समस्या समाधान गर्ने, सञ्चार, परियोजना व्यवस्थापन, जस्ता सीपहरु हुनुपर्ने बताउनु भयो ।
दान राज पन्तले आन्तरिक लेखापरीक्षकहरूले तयार गर्नुपर्ने चेकलिस्टको बारेमा विस्तृत जानकारी दिनु भयो । आफ्नो सत्रमा उहाँले आन्तरिक लेखा परीक्षण प्रतिवेदन, प्रतिवेदनको महत्व, प्रतिवेदनको प्रकार, प्रतिवेदनमा समावेश हुने विषय बस्तुहरुबारे विस्तृत जानकारी दिनु भयो । उहाँले संस्थाले नीति र निर्देशनहरु प्रभावकारी रुपमा पछ्याउँदैछ भनी सुनिश्चित गर्न आन्तरिक लेखापरीक्षकलाई वर्षमा कम्तिमा २ पटक लेखापरीक्षण गर्न सुझाव दिनु भयो ।
तालिमको समापन सत्रमा सहभागीहरूले तालिम अवधिमा सिकेका ज्ञान र सीपहरुबारे आफ्नो धारणा राखेका थिए । सो अवसरमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका राजु ढोडारीले अहिले भैरहेको जालसाजी र त्रुटिहरू नियन्त्रण गर्नका लागी वित्तीय साक्षरता तालिम दिनु महत्वपूर्ण रहेको बताउनु भयो । किसान बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रकास कुमार जि.सीले तालिम लेखापरिक्षण सम्बन्धि रहेका भ्रम र दुविधाहरु हटाउन सहयोगी हुनुको साथै  फिल्डमा गएर प्रष्ट रुपमा काम गर्ने साहास दिएको बताउनु भयो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तेज नाथ गौतमले तालिमबाट सिकेका ज्ञान र सीपहरु संस्थाको परिवेश अनुसार प्रयोगमा लेराउन प्रतिबद्ध भएको बताउनु भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका पुरन अधिकारीले तालिक पुरा गरे पछि थप जिम्मेवारी बोध भएको बताउनु भयो । सोही क्रममा, उहाँले तालिमको शैली अन्तरक्रियात्मक भएको कारण निकै प्रभावकारी रहेको बताउनु भयो । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका सुवास धितालले स्वावलम्बन विकास केन्द्रलाई आन्तरिक लेखापरीक्षण सम्बन्धी तालिम समय समयमा आयोजना गर्न अनुरोध गर्नु भयो । सो अवसरमा तालिम पुरा गर्ने सबै २४ जना सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरीएको थियो ।

समाचार

सुचना