स्वावलम्बन विकास केन्द्र

विद्यालय तह वाट उद्यमशीलता विकास गरी स्वरोजगार अभियानमा सहकार्य गर्न लघुवित्त संस्थाहरुलाई आह्वान

लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरुले स्वदेशमै सीपयुक्त जनशक्ति उत्पादन गरी रोजगारी सृजना गर्न र मुलुकलाई आत्मनिर्भर वनाउन विद्यालय स्तरबाटै उद्यमशीलता विकास अभियानमा सहकार्य गर्न यस क्षेत्रमा उद्यमशीलता विकासको नेतृत्व गरी रहेका अभिन्ताहरुले आह्वान गरेका छन् ।

स्वावलम्बन विकास केन्द्रले २०७९ साल जेठ ०९ गते १९ औँ सम्बाद श्रृखला अन्तर्गत आयोजना गरेको विद्यार्थीहरुमाझ उद्यमशीलता विकासमा जनज्योति माध्यमिक विद्यालय सुर्खेतको अनुभव विषयक वेविनारको अवसरमा अभियन्ताहरुले यस्तो आह्वान गरेका हुन ।

वेविनारका वक्ता प्रमुख जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले विद्यालयमा उद्यमशीलता विकासबारे वराहताल गाउँपालिका ५, सुर्खेत स्थीत जनज्योति माध्यमिक विद्यालयको अनुभव प्रस्तुत गरेका थिए । सो अवसरमा सिग्देलले विद्यार्थीहरुलाई उद्यमी र आत्मनिर्भर वनाउने कार्यको शुरुवात विद्यालय तह देखिनै गर्नु पर्ने र यसको लागि विद्यालयमा पढाई संगै विद्यार्थीहरुको रुचि र क्षमता अनुसार उद्यम, व्यवसाय गर्न लगाउनु पर्ने धारणा राखे । यसो गर्न सके देशमा विद्यमान वेरोजगारीको अन्त्य हुनुको साथै मुलुक परनिर्भर हुनु नपर्ने सिग्देलको धारणा थियो । “हामिले हाम्रो जनशक्तिलाई अहिले खाडी देशको लागि उत्पादन गरी रहेका छौँ । शिक्षालाई रोजगारी संग जोड्न सकेका छैनाँै । उद्यमी वन्न सक्ने सीप सिकाउन सकेनौँ र विदेश जान वाध्य पारेका छौँ । अव युवा जनशक्ति विदेशीनबाट रोक्न २, ३ कक्षाबाटै भाई बहीनीहरुको क्षमता चिनेर उनीहरुले चाहेको उद्यम गर्न पे्ररित गरौँ । यसले विद्यार्थी श्रम वजारमा आउने वेला सम्म रोजगारी खोज्दै हिडनु पर्ने अवस्था आउँदैन । देश भरी २० लाख विगहा उर्वर भूमि बाँझो छ । हामी खाद्यान्न देखि दाँत कोट्याउने सिन्का, दुना, टपरी विदेशवाट आयात गर्छौ । यसलाई निरुत्साहित गर्न अब विद्यालयलाई उत्पादन क्षेत्रको रुपमा अघि वढाऔँ । मुलुक भरका विद्यालयमा अध्ययन गर्ने ९२ लाख विद्यार्थीले एउटा उत्पादन गर्न सके हामीले अहिले नै आयातको डरलाग्दो अवस्थाबाट मुक्ति पाउन सक्छौँ । विद्यार्थीले गर्ने उत्पादनमा धेरै लगानी नहुने हुँदा यसले विश्व वजार संग प्रतिस्पद्र्या गर्न सक्छ र धेरै कुरा आयात गर्नु पर्दैन ।”

सिग्देलले विद्यालयमा उद्यमशीलता विकासको अवधारणा जनज्योति माध्यमिक विद्यालयमा सफल रुपमा परीक्षण भै सकेको वताए । “हामीले अहिले ‘पढ्दै कमाउँदै, कमाउदै पढ्ने’ अभियान अन्तर्गत कोष खडा गरी विद्यार्थीलाई व्यवसाय गर्न सघाई रहेका छौँ । विद्यार्थीलाई एउटा न एउटा व्यवसाय न गरी सुख पाउदैनौँ भनेका छौँ । त्यही अनुसार सीप दिने की लगानी गर्ने भन्ने हामी गर्छौ भनेका छौँ । यसको मुख्य लक्ष भनेको कम्तीमा १२ कक्षा पास हुने वेला हातमा सीप लिएर निस्कनुस भनेका छाँै । पैसा छैन भने पनि जनज्योतिमा पढ्न आउनुस सिक्दै कमाउदै पढ्नु होला भनेका छौँ र यही मर्म अनुसार नै काम गरेका छौँ । जनज्योतिबाट बाहिर गए पछि रोजगारी पाएनौ भने पनि विद्यालयले विभिन्न ठाउँमा समन्वय गरेर जागिर खोज्ने काम पनि गरेका छौँ । कृषि र भेटेरनेरी पढ्ने उच्च माध्यमिक तहका विद्यार्थीलाई एउटा न एउटा उद्यम गरेर आत्मनिर्भर वनाउन सकेका छाँै । ६ कक्षा भन्दा माथि पढ्ने नानीहरु आफै कमाउँदै पढन सक्ने अवस्थामा छन् भने शिशु कक्षा देखिनै उनीहरुलाई उद्यमहरु संग परिचित गराइन्छ । यसको परिणाम निकै उत्साहजनक आएकोले अहिले सरकारले पनि देश भरी १४० विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम लागु गरेको छ ।” सिग्देलको भनाई थियो । साथै उनले यस कार्यमा लघुवित्त तथा सहकारी संस्थाहरुले पनि सहकार्य गर्नु पर्नेमा जोड दिएका छन् । “जव सम्म हामी श्रम शक्तिलाई श्रम वजार सम्म वेच्न सक्दैनौँ । तव सम्म गरीब भै राख्ने छौँ । त्यसैले अव लघुवित्त कार्यक्रम गर्ने सहकारी संस्थाले आफ्नो सदस्य सम्म पुर्याउन उनीहरुलाई प्राविधिककोरुपमा काम गर्ने अवसरमा सहजीकरण गर्न सक्छन् । यस्तै जनज्योति माविका वाली विज्ञान र पशु विज्ञान पढेका र व्यवहारमा सिकेका धेरै विद्यार्थीहरु अव श्रम बजारमा जाँदैछन् । कहिले काहीँ सीप भएर पनि लगानी गर्ने पूँजी नहुँदा उद्यम, व्यवसाय शुरु गर्न कठिन हुन सक्छ । यसको लागि उनीहरुलाई आफुले चाहेको उद्यम, ब्यवसाय गर्न सहजै ऋण उपलब्ध गराउन आग्रह गर्छु । अहिले उनीहरुलाई लघुवित्त संस्थाको सदस्यहरुको वारीमा पठाएर पनि यसको शुरुवात गर्न सकिन्छ ।” सिग्देलले भने ।

बेविनारलाई सम्बोधन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्त संस्था तथा लघुवित्त सञ्चालन गर्र्ने सहकारी संस्थाहरुले आफ्नो कार्य क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरु संगको सहकार्यमा विद्यालयस्तरबाट उद्यमशीलता विकासको शुरुवात गर्नु पर्नेमा जोड दिए । “लघुवित्त संस्थाहरुलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्तिमा पनि आफ्नो कार्य क्षेत्रको एउटा सामुदायिक विद्यालय छनौट गरी त्यसवाट जनज्योति माध्यमिक विद्यालयकै मोडेलमा उद्याशीलताको विकासको लागि सहकार्यको शुरुवात गर्न जरुरी छ । अर्को कुरा हामी जनज्योजि माध्यमिक विद्यालयबाट पढेर श्रम वजारमा आएका विद्यार्थीहरुलाई लघुवित्त संस्थाहरुले अन द जब ट्रेनिङ (ओजेटि) अर्थात प्राविधिकको रुपमा प्रयोग गरी आफ्नो सदस्यको वारीमा पठाऔँ । यसले किसान र विद्यार्थीलाई दोहोरो फाइदा हुने छ । साथै त्यो दक्ष जनशक्तिलाई लघुवित्तको शाखा कार्यालयमा बसेर उद्यमको योजना बनाएर त्यसमा प्राविधिक सहयोग गर्नुका साथै सदस्यको वारीमै पुगेर सेवा दिने गरी एउटा यूनिटनै खडा गरौँ । आजको यो वेविनारबाट मुख्यतयाः यो तीनवटा काम गर्न आव्वाहन गर्छु । साथै भर्खरै सम्पन्न भएको हाम्रो तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको नारा “घरघरमा उद्यम फैलाऊँ, गरीबीलाई शुन्य वनाऊँ” रहेको छ । यसको मर्म भनेको हरेक लघुवित्त सदस्य उद्यमी वनोस र आफ्नो खुट्टामा उभिन सक्षम होस भन्ने हो । यसको साथै सबैले मनन गर्नु पर्ने कुरा हामीले श्रम वजार खोजेर हिड्ने होइनकी वजार सिर्जना गर्ने किसिमको जनशक्ति उत्पादन गर्न लागिपर्न सबै लघुवित्त सञ्चालन गर्ने संस्थाहरुलाई आग्रह गर्छु । ” श्रेष्ठको भनाई थियो ।

प्रस्तुति पछिको खुला छलफलमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य लुमीन कुमार श्रेष्ठ, छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष राम चन्द्र जोशी, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का उप निर्देशक दिनेश कुमार निरौला लगायतले अन्तरकृया गरेका थिए ।

वेविनारमा लघुवित्त संस्था, सहकारी संस्था, सामुदायिक विद्यालय, गैरसरकारी क्षेत्रका गरी ५१ वटा संस्थाका १सय ८९ जना प्रतिनिधिहरु सहभागी रहेका थिए ।

 

समाचार

सुचना