स्वावलम्बन विकास केन्द्र

१४बुँदे घोषणापत्र पारित गर्दै कोशी प्रदेशको प्रादेशिक लघुवित्त सदस्य सम्मेलन सम्पन्न

लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै गरीब र विपन्न मैत्री बनाउने र गरीब तथा विपन्न समुदायको जीवनस्तर माथि उकास्ने अठोट गर्दै प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । कोशी प्रदेशको विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बँुदे घोषणापत्र समेत पारित गरेको छ ।

घोषणापत्रले “घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य बनाऊ” भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता बृद्धि गर्न लघुवित्त संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने, लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोबल उच्च राख्न असल कर्मचारीलाई बार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने लगायतको घोषणा गरेको छ । यसको साथै हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्यहरुसंग असल व्यवहार गर्ने, युवावर्गलाई स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने, सदस्यहरुलाई वित्तीय सेवाको अलावा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने, सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने, सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने लगायतका विषयहरु समेटेको छ ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एक दिने सम्मेलनको उद्घाटन माननीय महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री भगवती चौधरीले गर्नु भएको थियो । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त सेवा भावले शुरु भएको गरीबी निवारण विरुद्धको अभियान भएकोले यसवाट गरीब तथा विपन्न बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्न सक्ने धारणा राख्नु भयो । तर यसको लागि जुन उद्देश्यको लागि ऋण लिएको हो सोही काममा ऋण लगानी गर्नु पर्ने उहाँको सुझाव थियो । साथै उहाँले लघुवित्त कार्यक्रमले नेपालको महिला सशक्तिकरणको लागि अतुलनीय भूमिका खेलेको र अझै यसलाई समाजिक रुपान्तरणको लागि स्वच्छ र सेवामुखी व्यवसायको रुपमा अघि बढाउनु पर्ने धारणा राख्नु भयो ।

सम्मेलनको समापन समारोहमा बोल्दै संघीय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न बर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने धारणा राख्नु भयो ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मूल्य, मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित हुँदै जाँदा, सदस्यहरुको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिँदा अहिले लघुवित्तमा विचलनहरु आएको उल्लेख गर्नुभयो । हाल लघुवित्तमा देखा परेको बिचलन र तिनले उब्जाएका समस्याहरुको समाधान गर्न समयमै लघुवित्तकर्मीहरु लघुवित्तको सिद्धान्त, मर्म र भावना अनुसार सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्न सुझाव दिनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पहिला लघुवित्तको संख्या आवश्यकता भन्दा वढी भएको कारण समस्या आएको बताउदै आगामी दिनमा लघुवित्तलाई सही बाटोमा ल्याउन नीति निर्माण तहबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भयो ।

सम्मेलनका संयोजक तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले लघुवित्त कार्यक्रमले गरीब तथा विपन्न बर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै पछिल्लो समय केही व्यक्ती यस क्षेत्रलाई नीजि स्वार्थको लागि बदनाम गराउन लागि परेको उल्लेख गर्नुभयो । साथै उहाँले लघुवित्तको आवश्यकता र महत्वलाई थप प्रष्ट पारी अघि बढ्न सम्मेलन आयोजना गरेको र यसले लघुवित्तको आगामी यात्रा अझ प्रभावकारी बनाउने बताउनु भयो ।

सोही अवसरमा ८ जना ऋणी सदस्यले लघुवित्तको सहयोग पछि आफु उद्यमी बनेर जीवन परिवर्तन गर्न सफल भएको अनुभव सुनाउनु भएको थियो ।

सम्मेलनमा तीन वटा विषयगत सत्र मार्फत लघवित्तबाट महिला तथा विपन्नबर्गमा परेको प्रभाव, लघुवित्तको मर्म तथा वित्तीय साक्षरता एवं ग्राहक संरक्षण र नेपालमा लघुवित्तको महत्व र आवश्यकताबारे घनीभूत छलफल भएको थियो ।

कोशी प्रदेशमा रहेका लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाहरुको आयोजनामा सम्पन्न यस सम्मेलनमा करीब तीन दर्जन लघुवित्त तथा लघुवित्त कार्यक्रम गर्ने सहकारी संस्थाका सदस्य, संञ्चालक तथा प्रमुख कार्यकारी, कर्मचारी, विज्ञ लगायत अन्य सारोकारवाला गरी ५सय १५ जनाको सहभागिता रहेको थियो । सर्वपक्षिय छलफल तथा अथितीहरुका सुझावको आधारमा सम्मेलनले १४ बँुदे घोषणापत्र पारित गरेको हो ।

प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलन –२०७९
घोषणापत्र(Decleration)

१ “घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य बनाऊ” भन्ने तेश्रो राष्टिय लघुवित्त सदस्य सम्मेलन र प्रथम प्रादेशिक लघुवित्त सदस्य सम्मेलनको नारालाई मूर्तरुप दिन लघुवित्त तथा सहकारी संस्थाका सदस्यहरुले आ–आफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताको रुपमा कार्य गर्ने ।
२. लघुवित्त विपन्नको सहारा तथा दुःखीबाट सुखी बनाउने भएकोले यसका कमी कमजोरीलाई सुधार गरी संस्थाहरुको संरक्षण गर्ने ।
३. ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता बृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम ल्याई लागु गर्ने । 
४. लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने ।
५. हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने र नियमित अन्तरकृया गर्ने साथै हरेक संस्थाले फिल्डमा काम गर्ने आफ्ना कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई बार्षिक रुपमा पुरस्कृत गर्ने व्यवस्था गर्ने ।
६. सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने ।
७.  हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीहरुले सदस्य हरुसंग असल ब्यवहार गर्ने ।
८. सदस्यको छोरा छोरीहरुलाई बैदेशिक रोजगारीमा जानु भन्दा स्वदेशमा स्वरोजगार बन्न अभिप्रेरित गर्ने ।
९. सदस्यहरुलाई वित्तीय सेवाको अलवा वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरी सक्षम बनाउने ।
१० सदस्यहरुले कर्जाको सदुपयोग गर्ने र संस्थाले सदुपयोगिताको जाँचमा प्राथमिकता दिने ।
११. संस्थाले सदस्यहरुलाई वित्तीय सूचना नियमित रुपमा प्रदान गराउने र सदस्यले लिएको कर्जा समयमा नै तिरी असल ऋणी बन्ने ।
१२. लघुवित्तको मर्म अनुसार ग्राहक सदस्यहरुले सानो कर्जावाट व्यवसाय प्रारम्भ गर्ने र अनुभव प्राप्त गरेपछि कर्जाको आकार वढाउदै लाने ।
१३ ग्राहक सदस्यहरुले एउटै व्यवसायमा सिमित नभईकन वहु व्यवसाय गरी आम्दानीको श्रोत वढाउने
१४. सदस्यहरुले नियमित बचतबाट पुँजी निर्माण गरी आर्थिक रुपमा सक्षम बन्ने ।

समाचार

सुचना