स्वावलम्बन विकास केन्द्र

संकट वुझौँ र समाधान खोजौँ ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्तको मुल मर्म कायम राख्दै कोरोना महामारी र लकडाउन संकटको सामना गर्न लघुवित्तकर्मीहरुलाई सुझाव दिएका छन् । स्वावलम्बन विकास केन्द्रले २०७७ श्रावण ७ गते नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको उच्च व्यवस्थापन तथा १० वटा शाखा प्रवन्धकहरुको सहभागितामा आयोजना गरेकोे छलफल कार्यक्रममा श्रेष्ठले यस्तो धारणा राखेका हुन् । कोरोना भाइरस महामारी र लकडाउनको कारण लघुवित्त क्षेत्रमा उत्पन्न समस्या र सिकाईबारे छलफल गरी आगामी कार्यदिशा निर्धारण गर्ने उद्देश्यले उक्त अनलाईन छलफल आयोजना गरीएको थियो ।

सो अवसरमा श्रेष्ठले कोरोना महामारी र लकडाउन पछि शाखा र सदस्यहरुमा परेको असरको विस्तृत विवरण तयार गरी आगामी कार्यदिशा तय गर्न पनि सुझाव दिएका छन् । रणनीति वनाउनु अघि प्रत्येक शाखा मार्फत आफ्ना सदस्यहरुको वर्गीकरण गर्न तथा विदेश र शहरवाट गाउँ फर्केका युवाहरुको विवरण संकलन गरी तिनलाई आत्मनिर्भर र स्वरोजगार वनाउने उपाय खोज्न पनि सुझाएका छन् ।

लकडाउन हटेकाले अव सुरक्षाको उपाय अपनाएर केन्द्र वैठक शुरु गर्नु पर्ने, सदस्यहरुको आत्मविश्वास वढाउन सजग हुनु पर्ने, व्यवसाय नराम्ररी प्रभावित भएर ऋण तिर्नै नसक्ने अवस्थामा पुगेका सदस्यहरुलाई ऋण तिर्न दवाव नदिने र त्यस्ता सदस्यहरुको क्षमता विष्लेषण गरी ६ महिना सम्मकोलागि पुनर्तालिकीकरण गर्नु पर्ने उनको सुझाव थियो ।

छलफलमा नेरुडे लघुवित्त वित्तीय संस्थाका अध्यक्ष डा. भेष प्रसाद धमला, संचालक मणी कुमार अज्र्याल, प्रवन्ध निर्देशक सुधिर कुमार श्रेष्ठ तथा विभागीय प्रमुखहरुकोे पनि सहभागिता थियो ।

सो क्रममा अध्यक्ष डा. धमलाले गरिबी निवारणमा ठुलो योगदान गरेको लघुवित्त क्षेत्र पछिल्लो समय उपेक्षित भएको उनको गुनासो थियो । यसकालागि लघुवित्त संस्थाहरुले आफ्ना उपलब्धिहरु सबैले देख्ने गरी वाहिर ल्याउनु पर्ने धारणा पनि राखेका थिए । लघुवित्तहरुको संख्या धेरै हुँदा यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा वढेको उनको धारण थियो । ‘अव लघुवित्तले आफ्नो साख जोगाइ राख्न संख्या घटाएर सेवा विस्तारमा जोड दिनु पर्छ’, डा धमलाको भनाई थियो ।

उक्त अवसरमा ब्यवस्थापनका तर्फवाट संस्थाको आगामी रणनीति थोरै साधन र स्रोतबाट धेरै भन्दा धेरै सदस्यहरुलाई सेवा प्रवाह गर्ने खालको हुनु पर्नेमा जोड दिईएको थियो । यसको लागि प्रविधि मैत्रि भएर प्रभावकारी सेवा विस्तार गर्न र मितव्ययी भएर काम गरे मात्र संस्था वलियो हुने र संकटवाट मुक्त हुने संचालक तथा व्यवस्थापकको धारणा थियो । यो संगै व्याजदरको १५ प्रतिशत सिमा तोकेर लघुवित्त क्षेत्रलाई मौद्रिक नीतिले समस्यामा पारेकोे वक्ताहरुको गुनासो थियो ।

छलफलको पहिलो सत्रमा लकडाउन अवधिमा शाखाहरुबाट भए गरेका कामको विवरण, सदस्य र कर्मचारी तहमा देखापरेका चुनौतिहरु लगायत शाखाहरुको समग्र प्रशासनिक तथा वित्तीय अवस्था वारे सहभागी १० वटै शाखा प्रमुखहरुले प्रस्तुति दिएका थिए । प्रस्तुतीका क्रममा शाखा प्रवन्धकहरुले लकडाउनको अवधिमा पनि शाखाहरुको ९० प्रतिशत व्याज असुली भएको, ५० प्रतिशत किस्ता असुली भएको, थप लगानी हुन नसकेको, भाका नाघेको कर्जा वढेको जस्ता तथ्य प्रस्तुत गरेका थिए ।

स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले संयोजन गर्नु भएको उक्त छलफलमा केन्द्रका निर्देशक सतिस कुमार श्रेष्ठ, वरिष्ठ अधिकृत सोपन विष्ट, अधिकृत रेणु प्रजापति, प्रज्वल तुलाधर, चन्द्रकान्त पण्डित र सहायक अधिकृत दिपेन्द्र जोशीको पनि सहभागिता रहेको थियो ।

समाचार

सुचना