स्वावलम्बन विकास केन्द्र

लघुवित्तमा दुई वर्षे उद्यमशीलता विकास अभियान प्रारम्भ : २८ जना प्रशिक्षक तयार

लघुवित्त तथा सहकारी संस्थाका करिब ५ हजार ग्राहक सदस्यलाई उद्यमी बनाउने लक्ष सहित स्वावलम्बन विकास केन्द्रले उद्यमशीलता विकास अभियानको शुरुवात गरेको छ । हाल लघुवित्त संस्थाहरुमा ठूलो संख्यामा निष्कृय सदस्यहरु रहेको र ऋण लिएका सदस्यहरुले पनि दिगो रुपमा उद्यम व्यवसाय अंगाल्न नसकेको अवस्थालाई मध्यनजर गर्दै लघुवित्त संस्थाहरुको सहकार्यमा यो अभियान शुरु भएको हो ।

तीन चरणमा हुने यो अभियान अन्तर्गत पहिलो चरणमा २० जना लघुवित्तकर्मीहरुलाई उद्यमशीलता विकास स्रोत व्यक्तिका रुपमा तयार गर्ने, दोस्रो चरणमा उक्त २० जना स्रोत व्यक्तिले आ–आफ्नो संस्थाका थप २० जना शाखा प्रवन्धकलाई उद्यमशीलता विकास वारे तालिम दिने र ती प्रत्येकले आफ्नो शाखाका कम्तिमा २०जना ग्राहक सदस्यलाई उद्यमी बनाउने छन् । साथै शाखा प्रबन्धकले आफ्नो शाखाको २ वर्षे व्यावसायिक योजना निर्माण गरी कार्यान्वयन गर्नेछन् । यो सम्पूर्ण प्रकृयालाई स्वावलम्बन विकास केन्द्रले अनुगमन गर्ने छ ।

यसै उद्देश्यलाई परिलक्षित गरी २०७९ फागुन ३० देखि चैत्र ३ सम्म ४ दिने उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सो तालिममा १८ वटा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका २४ जना र स्वावलम्बन विकास केन्द्रका ४ जना गरी कुल २८ जना बरिष्ठ अधिकारीहरु सहभागी भएका थिए ।

उद्यमशीलता विकास अभियानको उद्घाटन समारोहमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले स्थानीय साधन, स्रोत र सीपको प्रयोग गरी लघुउद्यमशीलता विकास गर्ने र लघुवित्तको गिरेको साख फर्काउने बेला आएको बताउनु भयो । “अहिले दिन प्रति दिन लघुवित्तबारे नकारात्मक समाचारले पत्रपत्रिका र सामाजिक सञ्जाल रंगिएका छन् । जे सोचेर लघुवित्त शुरु गरियो त्यसको ठिक विपरीत भयो । सदस्यको क्षमता र आवश्यकता भन्दा वढी मनलाग्दी ऋण दिने काम भयो । सीप दिने तर्फ ध्यान पुगेन । ऋण सदुपयोग भयो भएन पनि हेरेका छैनौँ । जसरी हुन्छ धेरै भन्दा धेरै ऋण प्रवाह गर्ने होडमा लाग्यौँ । लक्षित वर्ग सेवाबाट वञ्चित भयो धनी वर्गमा लगानी भयो । शुरुमा लघुवित्तले समाजिक आर्थिक परिवर्तनको शुरुवात गरेको थियो । अहिले सदस्यहरु स्वरोजगार भन्दा पनि एउटा संस्थाबाट ऋण लिएर अर्कोलाई तिर्न बाध्य छन् । अहिले लघुवित्तकर्मी भन्दा पनि लाज लाग्न भयो । यो अवस्था हाम्रै कुकर्मले आएको हो । हाम्रै कुकर्मले विरोधीलाई पनि मञ्च प्राप्त भएको छ । अब के गर्ने ? अहिलेका सबै कुकर्म बन्द गर्ने । अहिले अवस्थालाई उल्ट्याउनु पर्यो । “घर घरमा उद्यम फैलाऊँ गरीबीलाई शुन्य बनाऊँ” भन्ने तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको नारालाई चरितार्थ लागु गर्नु पर्यो । अझै पनि नेपालमा १० लाख परिवार गरीबीको रेखामुनी छन् । त्यो बर्गलाई समेटनु पर्यो । उनीहरुको आवश्यकता र क्षमता हेरी सानो सानो लगानी गर्नु पर्यो । स्थानीयरुपमा उपलब्ध श्रोत र साधनको परिचालन गरी सदस्यलाई सम्पन्न बनाउनु पर्यो । घरघरमा ऋण मात्रै फैलाउने होइन् अब उद्यम फैलाउनु पर्यो । त्यसैले यो तालिम आयोजना गरेको हो । तालिम पछि कार्यक्षेत्रमा फर्केर सदस्यको घर घरमा पुगेर उद्यम र उद्यमी पहिचान गर्नुहोस् । अहिले करिब आधा जसो सदस्य निष्कृय छन् । सदस्य निष्कृय किन भयो त्यसको कारण पत्ता लगाउनु पर्यो । ऋण सदुपयोग गर्ने क्षमता बनाई दिनु पर्यो । यहाँ आउँदा तपाईहरुको आर्थिक र समय पनि खर्च भएको छ । यसको सदुपयोग गर्नु परयो । यो तालिममा सिक्ने र सिकेको कुरा लागु गर्न सच्चा मनले अघि बढ्नुस् ।” श्रेष्ठले भन्नु भयो ।

तालिमको सहजीकरण गोकुल प्याकुरेल र राजन के. सी. ले गर्नु भएको थियो । सो अवसरमा उद्यमशीलता, नेपालमा यसको अवस्था, सफल र असफल उद्यम र उद्यमीबारे जानकारी, उद्यम र उद्यमीको वर्गीकरण, व्यवसाय छनौट विधि, व्यावसायिक योजना किन र कसरी बनाउने भन्ने लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनु भएको थियो ।

तालिमको दोस्रो दिन सहभागीहरू चार समुहमा भएर स्वावलम्बन लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको काभ्रे जिल्ला स्थित विभिन्न शाखा र सदस्यहरुको परियोजना अध्ययन अवलोकन गरेका थिए । सो अवसरमा ग्राहक सदस्य र उनीहरुले गरेको व्यवसायको सूचना संकलन गरी व्यावसायिक योजना निर्माणको अभ्यास गरेका थिए ।

यस अभियानले लघुवित्तका ग्राहक सदस्यलाई उद्यमी बनाउन सिकाउनुको साथै उनीहरूले गरी रहेको उद्यम व्यवसायको अवस्थाबारे बुझाउने, व्यवसाय प्रवद्र्धनमा सघाउने, सम्भावित र दिगो व्यवसाय ⁄उद्यमहरु सुझाउने, चालु अवस्थामा रहेको उद्यममा व्यावसायिकता विकास गर्ने, उत्पादन बढाउन, बजारीकरण सुनिश्चित गर्न र उच्च मुल्य प्राप्त गर्न सघाउने छ ।

तालिम पछि सहभागीहरूले लघुवित्त सदस्य र तिनका उद्यम, व्यवसाय चिन्ने, त्यसको अवस्था बुझ्ने र व्यवसायमा देखिएका सम्भावना र चुनौतीहरू आँकलन गर्न सकिने सीप र शिक्षा यो तालिमबाट पाएको र यसले योजनाबद्ध ढंगबाट सदस्यलाई उद्यमी बनाउन र लघुवित्तको लगानी पनि सुरक्षित गर्न सकिने कुरा सिकाई भएको उल्लेख गरे । साथै अहिलेको समयमा यो तालिम निकै सान्दर्भिक भएको बताए । सहभागीहरूले हरेक लघुवित्त संस्थाले उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेर काम गर्न सके समाजमा लघुवित्त प्रतिको नकारात्मक हेराई हटेर जाने धारणा राखे ।

 

समाचार

सुचना