स्वावलम्बन विकास केन्द्र

लक्षित वर्गको हितमा केन्द्रित भएर लघुवित्तका आन्तरिक श्रोत परिचालन गर्न जोड

स्वावलम्बन विकास केन्द्रले २०७९ भाद्र ५ देखि ७ सम्म आयोजना गरेको “आन्तरिक श्रोत परिचालन तथा व्यवस्थापन” विषयक तीन दिने तालिमको अवसरमा लघुवित्तको मूल्य, मान्यता र सिद्धान्त अनुसार लक्षित वर्गको उत्थानको लागि थोरै श्रोतमा धेरै प्रतिफल कसरी लिने भन्ने विषयमा लघुवित्त संस्थाका शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई प्रशिक्षित गरिएको छ ।

सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले थोरै श्रोतमा धेरै प्रतिफल दिने हो भने लघुवित्तकर्मीहरू लघुवित्तको लक्षित वर्ग गरीब तथा विपन्न महिलाहरूको घर दैलोमा पुगेर उनीहरूलाई उद्यमी बनाउन मन, बचन र कर्मले काम गर्नु पर्ने धारणा राख्नु भयो । यसको लागि लघुवित्तको मर्म, भावना, सिद्धान्त शिरोपर गरेर अघि बढ्नु आवश्यक रहेको श्रेष्ठको भनाई थियो । “लघुवित्त शुरु गर्दा हाम्रो चाहना भनेको मुलुकको विपन्न वर्ग, आर्थिक र सामाजिकरुपमा पिछडिएको वर्गको उत्थान गर्नको लागि केही गरौँ भन्ने थियो हामीले कुनै ब्यक्तिगत लोभले लघुवित्तको शुरुवात गरेका हैनौँ । उ बेला नेपालमा गरीबी सरकारी तवरबाट मात्रै उन्मुलन हुदैन भन्ने ठानेर पनि यसको शुरुवात गरेको हो । शुरुवातमा लघुवित्तले गरीबी निवारणमा धेरै राम्रो प्रतिफल दियो । त्यो बेला लघुवित्तकर्मीहरूले थोरै सेवा सुविधामा लघुवित्तको विधि, प्रकृया र सिद्धान्तलाई शिरोपर गरी मन, बचन र कर्मले काम गरे । पछि लघुवित्त मुनाफा केन्द्रित हुँदै गयो । लघुवित्त सञ्चालक र कर्मचारी सुविधाभोगी हुन थाले । तपाईँहरू अहिले राम्रै आम्दानी गर्नु हुन्छ । लघुवित्तले सब थोक दिएको छ । अब त्यो गरीब र विपन्न वर्गको उन्नतिमा पनि रमाउन सिक्नुस् । गरीबको जीवनशैली परिवर्तन गर्दा प्राप्त हुने आनन्द बेग्लै छ ।” श्रेष्ठले भन्नुभयो ।

बंगलादेशको लघुवित्तको दृष्टान्त दिदै श्रेष्ठले भन्नुभयो “बंगलादेशले ग्रामीण बैंकले शुरुका दिनमा जे जस्तो मान्यता अनुसार लघुवित्त कार्यक्रम शुरु गरेको थियो त्यही मान्यतामा अडिग छ । यसको परिणाम अहिले संस्था पनि बलियो छ र कर्मचारीको भविष्य पनि उज्वल छ । कर्मचारीका छोराछोरीको भविष्य पनि सुरक्षित छ । तर नेपालमा लघुवित्तहरूले मूल्य, मान्यता, सिद्धान्तहरू सबै छाडी सक्यौँ । बंगलादेशमा लघुवित्तहरू थोरै श्रोतमा धेरै उपलब्धि हासिल गर्न सफल भएका छन् । हामीले प्रशस्त श्रोत भएर पनि लक्षित वर्गको लागि धेरै गर्न सकेका छ्रैनौँ । यसको कारण भनेको हाम्रो सोच र काम गर्ने तौर तरिका हो । हामीले सदस्यको भन्दा पनि सञ्चालक र कर्मचारीहरूको सेवा सुविधामा जोड दिने गरेको पाईन्छ । बंगलादेशमा ऋण दिने लघुवित्त संस्था सदस्यको आफ्नो मुटुमा बसेका छन । हाम्रोमा सदस्यले प्लेकार्ड बोक्न थालिसकेका छन् । लघुवित्त विरुद्धको अहिलेको आन्दोलन पनि हाम्रो चरित्र, सोच, व्यवहार तथा मुल्य मान्यतामा आएको स्खलन, हामीले गरेको व्यवहार र अपनाएको कार्यशैलीकै उपज हो ।”

तालिमको सहजीकरण स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिस श्रेष्ठ र वरिष्ठ अधिकृत रेणु प्रजापति, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव, व्यवस्थापन विज्ञ दिपेश श्रेष्ठ, आरएमडीसी लघुवित्त वित्तीय संस्थाका वरिष्ठ अधिकृत रुपवहादुर खड्का,  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका मानव श्रोत प्रमुख उमेश मान डंगोलले गर्नु भएको थियो ।

तीन दिने तालिमको अवसरमा आन्तरिक श्रोत परिचालनको महत्व र आवश्यकता तथा यसलाई प्रभाव पार्ने तत्वहरू, आन्तरिक श्रोत परिचालन सुदृढीकरण तथा मापन गर्ने विधिहरू, ग्राहक सँगको व्यवहार र सकारात्मक सोच, शाखा प्रबन्धकहरूलाई सञ्चार सीप सुदृढीकरण, तथा तनाव व्यवस्थापन विधि, बिक्री कला लगायतका विषयमा विज्ञ प्रशिक्षकहरूले प्रस्तुति गरेका थिए । सो अवसरमा प्रशिक्षार्थीहरूले ९ वटा सैद्धान्तिक र अन्य केही व्यवहारिक सत्रहरूबाट सिक्ने अवसर पाएका थिए ।

तालिमको अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले कुनै पनि संस्था सफल हुनको लागि आफू सँग भएको श्रोतको सही ढंगले परिचालन र व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो ।

तालिम समापनको अवसरमा केन्द्रका निर्देशक सतिस श्रेष्ठले आफ्नो शाखा वा संस्थामा भएको प्रतिष्ठान सामाजिक उत्तरदायित्व कोष अन्तर्गतको पैसा सदस्यको भलाईमा खर्च गर्न सुझाव दिनु भयो । साथै उहाँले तालिमको सिकाई व्यवहारमा लागु गर्ने अपेक्षा गर्नु भयो । “स्वावलम्बन विकास केन्द्रले कोरोना महामारी पछि आयोजना गरेको तालिम कार्यक्रममा यहाँको उत्साहजनक उपस्थिति भएको छ । यसले हामीलाई थप ऊर्जा दिएको छ र हामीले यस्ता तालिम कार्यक्रम क्षेत्रियस्तरमा पनि आयोजना गर्ने सोच बनाएका छौँ । साथै तीन दिनको अवधिमा तपाईँहरूले धेरै सिक्नु भएको छ । एउटा सकारात्मक सोचको विकास भएको छ । यहाँ सिकेको कुरा कार्यक्षेत्रमा लागु गर्न सहजता मिलोस् र यसमा व्यवस्थापनको सहयोग मिलोस्” श्रेष्ठले भन्नुभयो ।

तालिममा १३ वटा लघुवित्त तथा सहकारी संस्थाका ३० जना शाखा प्रवन्धक, तथा अधिकारीहरू सहभागी भएका थिए । सहभागीहरूले “आन्तरिक श्रोत परिचालन तथा व्यवस्थापन” तालिमको अवसरमा प्राप्त ज्ञानहरू निकै आवश्यक र व्यवहारिक भएको बताउँदै तालिमका सिकाईहरू आफ्नो कार्यस्थलमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

 

समाचार

सुचना