स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको ३३औँ साधारण सभा सम्पन्न : नयाँ सभ्यता निर्माणको लागि लघुवित्त अभियानलाई अझ गरीबमैत्री र उत्पादनशील बनाउन जोड दिने

बिक्रम सम्बत् २०८१ मंसिर १७ गते स्वावलम्बन विकास केन्द्रको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सदस्य संस्थाहरु, सरोकारवाला तथा साझेदारहरु सँगको सहकार्यमा लघुवित्त अभियानलाई शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन सहितको नयाँ सभ्यता विकासमा काम गर्ने योजना अघि सारेको छ । यसका लागि लघुवित्तलाई अझ गरीबमैत्री र उत्पादनमूलक बनाउन भूमिका खेल्ने तर्फ पनि जोड दिइएको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०८०।८१को आय ब्यय विवरण, कार्य प्रगति विवरण तथा २०८१⁄८२को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष श्रेष्ठले केन्द्रको पहलमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन, १४औँ समाजिक व्यवसाय दिवस, नेपाल कन्ट्री  फोरम, तीन वटा तीन शून्य क्लब सम्मेलन लगायत कार्यक्रम सम्पन्न गर्नुको साथै उद्यमशीलता विकास कार्यक्रम मार्फत १६ वटा संस्थाका ३६५ जना लघुवित्तकर्मी र ६ हजार भन्दा वढी लघुवित्त सदस्यहरु लाभान्वित भएको जानकारी दिनु भयो । साथै केन्द्रले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको १२ बुँदे घोषणा पत्र कार्यान्वयनको लागि मार्गचित्र निर्माण गर्न गोष्ठी र सामाजिक व्यवसाय दिवस नेपाल फोरमको परिमार्जित ८ बुँदे कार्ययोजना कार्यान्वयनको लागि फिल्ड अवलोकन भ्रमणको आयोजना समेत गरेको जानकारी दिनु भयो । सो अवसरमा अध्यक्ष श्रेष्ठले लघुवित्तलाई अझ सशक्त, सवल, रमाइलो र उत्पादनमूलक बनाउन केन्द्रले पहल गरिरहेको जानकारी दिनु भयो । ‟जुन लघुवित्तलाई अझ प्रभावकारी बनाउन केन्द्रले गत आर्थिक वर्षमा २ करोड रुपैयाँ भन्दा वढी घाटा खाएर कार्यक्रमहरु आयोजना गरेको छ । यो लघुवित्त मार्फत देशमा परिवर्तन ल्याउनको लागि हो । लघुवित्तलाई सही बाटोमा ल्याउन केन्द्रको प्रयास निरन्तर छˮ उहाँले भन्नुभयो । साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार केन्द्रले भावी रणनीतिमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको ूस्वस्थ लघुवित्त, समृद्ध सदस्यू नारालाई मूर्तरुप दिन, तीन शून्यको अवधारणा स्थानीय सरकारहरु, सरोकारवाला संस्थाहरु एवं जनमानसमा पुर्याउन अन्तर्क्रिया गर्ने, युवावर्गमा वातावरणीय चेतना जगाउन एवं उद्यमशीलता बढाई स्वरोजगार बनाउन तीन शून्य क्लब प्रवद्र्धनमा जोड दिने । गरीबी र जलवायु परिवर्तनको जोखिममा रहेका विपन्न समुदायमा वातावरणीय सन्तुलन कायम गरी जलवायु परिवर्तनको जोखिम न्यूनिकरणमा टेवा दिन र उद्यमशीलता विकास गरी उनीहरूलाई आत्मनिर्भर बनाउन वातावरणमैत्री स्वावलम्बी गाउँ प्रवद्र्धन अभियानलाई विस्तार गर्ने, लघुवित्त क्षेत्रमा देखिएका चुनौतिहरु सम्बन्धमा सरोकारवाला संस्थाहरु बीच अन्तर्कृया एवं छलफल गरी उपाय पहिल्याउन सहजीकरण गर्ने जस्ता योजना अघि सारेको छ । यसको साथै वर्तमान लघुवित्तको अवस्था बुझेर लघुवित्त संस्था र लघुवित्तकर्मीहरुको क्षमता विकासमा पनि जोड दिने पनि उल्लेख गरेको छ ।

सो अवसरमा प्रस्तुत अध्यक्षको प्रतिवेदन लगायत केन्द्रको नीति तथा कार्यक्रमहरु सर्वसम्मतिले पारित गरेको छ ।  साधारण सभाको अवसर पारी १४औँ सामाजिक व्यवसाय दिवस नेपाल कन्ट्री फोरमको कार्यबाही प्रतिवेदन पनि विमोचन गरिएको थियो ।

समाचार