स्वावलम्बन विकास केन्द्र

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको घोषणपत्र कार्यान्वयनका लागि मार्गचित्र निर्माण

२०८० फागुन ५ र ६ गते सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले तयार पारेको १२ बुँदे घोषणापत्र कसरी कार्यान्वयन गर्ने भन्नेबारे मार्गचित्र तयार भएको छ । स्वावलम्बन विकास केन्द्रले २०८१ साउन १२ गते काठमाडौँमा आयोजना गरेको नेपालमा लघुवित्तको सवलीकरण (Symposium on Strengthening Microfinance in Nepal) विषयक गोष्ठिबाट उक्त मार्गचित्र तयार गरिएको हो ।

मार्गचित्र निर्माण गर्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजक समितिका सदस्यहरु लगायत सम्मेलनमा सहभागी लघुवित्त संस्थाका संस्थाका अध्यक्ष, प्रमुख कार्यकारी, नायव प्रमुख कार्यकारी तथा उच्च व्यवस्थापनका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

गोष्ठिको उद्घाटन समारोहमा सम्बोधन गर्दै चौथो राष्ट्रिय लघवित्त सदस्य सम्मेलन आयोजक समितिका अध्यक्ष शंकर मान श्रेष्ठले अहिले लघुवित्त क्षेत्रमा देखा परेका समस्याहरु आफैबाट शुरु भएको कारण यसको समाधानका लागि लघुवित्त परिवार यसरीनै एकजुट भएर समाधान खोज्नु जरुरी भएको धारणा राख्नुभयो । “लघुवित्त क्षेत्रमा हाल देखा परेका अधिकांस समस्याहरु लघुवित्तकर्मीको आफ्नै कारणले उब्जेका  हुन् । समस्याहरुको समाधान पनि हामी आफैले खोज्नु पर्छ । बाहिरको कोही आएर समाधान गरी दिनेवाला छैन । हामी सँग अपार क्षमता पनि छ । विश्वकै अनुभव यहाँका धेरै संस्थाहरु सँग छ । हामीले लघुवित्तको लक्षित वर्ग, समाज, देश तथा आफै प्रति ईमान्दारिता, नैतिकता र निष्ठा प्रस्तुत गर्नु जरुरी छ ।” श्रेष्ठले भन्नुभयो । उहाँले अरु देशमा एक दुई वटा संस्थामा समस्या देखा परे पनि नेपालमा समग्र लघुवित्त क्षेत्रमा नै समस्या देखा परेको उल्लेख गर्नुभयो । “हामी कहाँ प्रणाली नै विग्रियो । मूल्य, मान्यता, सिद्धान्त र तौरतरिका सबैलाई तिलान्जली दियौँ र परिणाम यस्तो आयो । एक पटक हिजोको स्वर्णीम युग सम्झौँ त ? उ बेला जताततै आनन्दनै आनन्द र सकुनै सकुन थियो । इमान्दारिता थियो र सम्मान पनि थियो । अब दोषारोपण गर्ने भन्दा पनि समाधान तिर लाग्ने हो । त्यसको लागी लघुवित्तकर्मी सच्चिनु पर्छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको १२ बुँदाको मात्रै कार्यान्वयन गर्न सके पनि अहिलेको समस्याबाट सहजै पार पाउन सकिन्छ ।” श्रेष्ठले भन्नुभयो । साथै उहाँले घोषणपत्र कार्यान्वयनको लागि मार्गचित्र बनाउने उद्देश्यले कार्यशाला गोष्ठिको आयोजना गरेको उल्लेख गर्दै यसको भरपुर सदुपयोग गर्न आवाहन गर्नुभयो ।

सो अवसरमा केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले आफ्नो स्वागत मन्तब्यमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको १२ बुँदे घोषणापत्रलाई कार्यान्वयन गर्न सहज बनाउने गरी मार्गचित्र निर्माण गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले गोष्ठिको आयोजना गरेको जानकारी दिनुभयो । “विगतमा तीनवटा सम्मेलन सम्पन्न भए । सबैमा घोषणापत्र तयार भए । तर कार्यान्वयनको पाटो सन्तोषजनक रहेन । अव चौथो सम्मेलनको घोषणपत्र कार्यान्वयन पहिलाको जस्तै नहोस् र कार्यान्वयनमा पनि एकरुपता आओस् भनेर स्वावलम्बन विकास केन्द्रले यो गोष्ठि आयोजना गरेको हो ।” गिरीले भन्नुभयो ।              
गोष्ठि तीनवटा सत्रमा वाँडीएको थियो । पहिलो सत्रले घोषणापत्रको १ देखि ४ नम्बर सम्मको बुँदामा, दोस्रो सत्रमा ५ देखि ८ र तेस्रो सत्रमा ९ देखि १२ गरी चौथो  राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको घोषणपत्रका सबै बुँदाहरु कसरी कार्यान्वयन गर्ने भन्नेबारे छलफल भएको थियो । पहिलो सत्रको सहजीकरण युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. का कार्यकारी निर्देशक डा. गोपाल दहितले गर्नु भएको थियो । उक्त सत्रमा बक्ताहरुको रुपमा नेपाल बैकर्स संघका अध्यक्ष राम बहादुर यादव, फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का नायव प्रमुख कार्यकारी अधिकृत दानाराज पन्त, किसान बहुउद्देश्यीय सहकारी संस्था लि. का महाप्रबन्धक डम्बर बहादुर शाह र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.का विभागीय प्रमुख हिरा कुमारी थान्दार हुनुहुन्थ्यो ।

दोस्रो सत्र जीवन विकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले सहजीकरण गर्नु भएको थियो । उक्त  सत्रमा वक्ता छफलकर्ताको रुपमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत सोगतवीर चौधरी, चमेली बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साह, उपकार लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेल र जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी रहनु भएको थियो ।


गोष्ठिको तेस्रो सत्रमा घोषणापत्रका अन्तिम ९ देखि १२ सम्मका चारवटा बुँदामा छलफल भएको थियो । उक्त सत्रको सहजीकरण सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले गर्नु भएको थियो । वक्ताहरुमा छिमेक लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत दिपकनीधि तिवारी, मानुषी लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य, लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद शर्मा र बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल के.सी. हुनुहुन्थ्यो ।

सत्रमा भएको छलफल पछि सबै सहभागीहरु तीन समूहमा विभाजित भएर घोषणपत्रका १२ बुँदालाई कसरी कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्रको मस्यौदा तयार पारेका थिए । समूहगत रुपमा तयार पारेको मार्गचित्रको मस्यौदालाई पुनः मूल सत्रमा प्रस्तुत गरी परिमार्जन सहित पारित गरिएको थियो ।
पारित गरिएको मार्गचित्र अनुसार सम्मेलनको पहिलो बुँदा अन्तर्गत चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको मर्मलाई लघुवित्त गर्ने संस्थाका सञ्चालक, फिल्ड कर्मचारी तथा समुदाय सम्म पुर्याउन श्रोत व्यक्ति तोकेर विभिन्न कार्यक्रम गर्ने, लघुवित्त अभियन्तालाई योगदानको आधारमा सम्मानित गर्ने, लघुवित्तका असल र सफल कार्यलाई बाहिर ल्याउने जस्ता विषयहरु छन् । यसै गरी उक्त सत्रले सम्मेलनको नारा अनुसार के हँुदा सदस्य समृद्ध हुने र के हुँदा लघुवित्त सेवा स्वस्थ हुने भन्ने मापदण्ड पनि निर्धारण गरेको छ ।

दोस्रो नम्बरको बुँदामा उद्यमशीलता विकासको लागि हरेक लघुवित्त  संस्थामा आवश्यक सबै प्रकारका पूर्वाधारहरु बनाउने, सम्भावित सदस्य उद्यमी र सदस्यलाई उद्यमी बन्न आवश्यक पर्ने सीप तथा तालिमहरुको पहिचान गर्ने, हरेक केन्द्रमा कम्तिमा एउटा नयाँ उद्यमी बनाउने अभियान चलाउने, सदस्यको व्यावसायिक सीप र क्षमता बढाउन अध्ययन अवलोकन भ्रमणहरुको व्यवस्था गर्ने, खाली जमीनमा उच्च मूल्य दिने विरुवा रोप्ने र उद्यमशीलताको सन्देश फैलाउने आदि जस्ता सुझावहरु समेटिएका छन् ।
घोषणपत्रको तेस्रो बुँदा अनुसार सदस्यलाई हानि हुने काम नगर्न कर्मचारी तथा व्यवस्थापनको कमजोर पक्ष सुधार गर्ने, सदस्य सँग असल व्यवहार गर्ने र पक्षपात नगर्ने, “सदस्य संस्थाको मुटु हो” भन्ने भावना अनुरुप काम गर्ने । केन्द्र बैठक पाक्षिक रुपमा गर्ने, सदस्य पहिचान गर्र्दा पीआरए, पीडब्लूआर विधि तथा सामाजिक सञ्जाल ट्रयाकीङ विधि अपनाउने तथा गुनासो सुनुवाईलाई प्रभावकारी बनाउने जस्ता विषयहरु रहेका छन् ।

यसै गरी चौथो बुँदामा वर्षेनी असल अभ्यास र सफलताको कथाको संग्रह तयार पारी प्रचार प्रसार गर्ने, सदस्यहरुसँग सम्बन्ध, भेटघाट र अनुगमनलाई बढाउने, फिल्ड कर्मचारी, शाखा प्रमुख, केन्द्रीय कार्यालयको विभागीय प्रमुख, नायव र कार्यकारी प्रमुखको मासिक कार्यतालिका बनाएर लागू गर्ने, पत्रकार, जनप्रतिनिधि, आदि माझ वित्तीय साक्षरता बढाउने, सदस्यहरुको वर्गीकरण गर्ने, सोही अनुसार कर्जा र अरु थप सेवा दिने जस्ता विषयहरु पारित भएका छन् ।
घोषणपत्रको पाँचौ बुँदा कार्यन्वयन गर्नसदस्य संरक्षण सिद्धान्त अनुसार सदस्यसँगको व्यवहार सम्मानजनक बनाउनको लागि कर्मचारीको आचार संहिता तयार गरी लागु गर्ने, गुनासो सुनवाई इकाई गठन गरी प्रभावकारी बनाउने, सदस्यको सन्तुष्टि मापन गर्ने, सदस्यको आवश्यकता र क्षमता हेरी ऋण प्रवाह गर्नु पर्ने, सदस्यको हितलाई ध्यानमा राखि सोही अनुसार कर्मचारीको क्षमता विकास गर्ने जस्ता विषयहरु पारित भएका छन् ।
छैटौँ बुँदाको कार्यान्वयनको लागि सदस्यका गुनासाहरु समयमै सम्बोधन गर्ने, लघुवित्त कार्यक्रमबारे सदस्यहरुलाई बुझाउने, बचत तथा ऋण मात्र नभई क्रेडिट प्लसको क्रियाकलापमा जोड दिने र कारोवारमा पारदर्शिता ल्याउने जस्ता विषयहरु पारित भएका छन् ।

सदस्यका छोराछोरी र युवाहरुलाई उद्यमशीलता, नवप्रवर्तन, स्वरोजगारी र रचनात्मक कार्यमा क्रियाशील बनाई उद्यमीपुस्ताको रुपमा विकास गर्ने भन्ने सातौँ बुँदा कार्यान्वनको लागि परम्परागत र रैथाने पेशा, ज्ञान तथा सीपहरुलाई उद्यममा परिणत गर्न सघाउने, युवाहरुलाई स्थानीय उत्पादन र मौलिक खानेकुराहरुको पहिचान, प्रवद्र्धन तथा जगेर्ना गर्दै ब्यवसाय सिर्जना गर्न सघाउने, पढ्दै कमाउदै अवधारणा लागु गर्ने, युवाहरुमा भएको सिर्जनशीलताको सम्भावना उजागर गर्ने तथा उद्यमशील सोचको विकास गर्ने, उद्यमशीलता विकासका लागि स्थानीय तालुकवाला सरकारी निकाय सँग सहकार्य गर्ने, तथा दोश्रो पुस्ताका युवाहरुलाई उद्यमशीलताको अभिमुखिकरण तथा सीपमुलक तालिम मार्फत उद्यमी बनाउन सहजीकरण गर्ने जस्ता विषयहरु पारित भएका छन् ।
घोषणापत्रको आठौँ बुँदा अनुसार तीन शून्य क्लबको गठन र प्रवद्र्धनको कार्यान्वयनकालागि पनि ठोस कामहरु गर्ने तय भएको छ । जस अनुसार संस्थाहरुले गर्ने हरेक सामाजिक कार्यमा तीनशून्य क्लबमा आवद्ध युवाहरुलाई अग्रणी भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्ने, फोहोरलाई मोहोर बनाउन युवाहरुको क्षमता विकास गर्ने, संरक्षण र आयआर्जनका काममा युवाहरुलाई जोड्ने  र लघुवित्तको दोश्रो पुस्ताका रुपमा क्लबमा आबद्ध सदस्यहरुलाई विकास गर्ने लगायतका विषय पारित भएका छन् ।
घोषणापत्रको नवौँ बँुदा वातावरणमैत्री आत्मनिर्भर गाउँ निर्माण गर्ने भन्ने बुँदाको कार्यान्वयनमा हरेक संस्थाले आफ्नो कार्यक्षेत्रको कम्तिमा एउटा गाउँलाई वातावरणमैत्री आत्मनिर्भर गाउँ निर्माण गर्ने, वातावरण संरक्षणको लागि बृक्षारोपण र सरसफाई अभिायान सञ्चालन गर्ने, सबै संस्थाहरुले हरित ऋणको प्रोडक्ट बनाउने, प्रत्येक संस्थाले व्यवसाय विकास सेवा डेस्क स्थापना गर्ने र प्राकृतिक विपद् खतराको पहिचान तथा नक्साङ्कन गरी न्यूनीकरणमा सघाउने जस्ता विषयहरु रहेका छन् । यसै गरी घोषणापत्रको १०आँैै बुँदा सदस्यमैत्री डिजिटल लघुवित्त सेवामा जोड दिने विषयमा डिजिटल रुपमा व्यवसाय योजना तर्जुमा गर्न भरपर्दो प्रणालीको विकास गरी केन्द्रमार्फत सदस्यहरुको व्यावसायिक योजना निर्माण गर्न सघाउने, डिजिटल वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने र कक्षा सञ्चालन म्यानुअल तयार गर्ने, डिजिटल प्रविधि पूर्वाधार निर्माणमा लगानी गर्ने विषय सिफारिस भएका छन् ।

यसै गरी लघुवित्त सेवा उपभोग पछि सदस्यहरुमा आएको आर्थिक सामाजिक परिवर्तन को विश्लेषण गर्ने भन्ने ११आँै बँुदाको कार्यान्वयनको लागि संस्थाहरुको कोर वैंकिङ प्रणालीमानै पी.पी.आई. लगाएत अन्य सामाजिक तथा आर्थिकसूचक मापन गर्ने मापदण्डहरु समावेश गरी विश्लेषण गर्ने संयन्त्रको विकास गर्ने सुझाव आएको छ ।

घोषणापत्रको सबै निष्कृय सदस्यलाई सक्रिय बनाउने भन्ने अन्तिम बुँदाको कार्यान्वयनको लागि सबै केन्द्रमा गुनासो सुनुवाई प्रभावकारी र संस्थागत बनाउने, कम्तिमा वर्षको एक पटक सदस्यहरुको घरदैलोमा संस्थाको प्रतिनिधि वा कर्मचारी पुगी भावनात्मक सम्बन्ध विस्तार गर्ने, संस्थाहरुमा नयाँ सदस्य बनाउने भन्दा भएकालाई सक्रिय बनाउन जोड दिने जस्ता निष्कर्ष यस सत्रले निकालेको छ ।
सहभागीहरुले घोषणापत्र कार्यान्वयनको लागि उक्त गोष्ठि समय सान्दर्भिक र प्रभावकारी रहेको र अझ स्पष्ट रुपमा काम गर्न सहयोगी सिद्ध भएको धारणा राख्नुभयो । सहभागीहरुको तर्फबाट धारणा राख्ने क्रममा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका माधवप्रसाद शर्माले १२ बुँदे घोषणापत्रका बुँदाहरु कार्यान्वयन गर्न एउटा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक समिति सदस्य उमा जोशी बोहराले लघुवित्तले आफ्नो कार्य क्षेत्रका सरोकारवाला निकाय तथा स्थानीय तहका संघसंस्थाहरूसँगको साझेदारीमा घोषणापत्रको कार्यान्वयन प्राथमिकतामा राखेका कामहरू गर्नुपर्ने धारणा राख्नुभयो । गोष्ठिमा २६ वटा लघुवित्त गर्ने संस्थाका ४३ जना उच्च व्यवस्थापन तहका कर्मचारी तथा सञ्चालकहरुको सहभागिता रहेको थियो ।

समाचार