स्वावलम्बन विकास केन्द्र

लघुवित्त संस्थाहरुमा सुशासन खस्कदै : समयमै सचेत हुन विज्ञको चेतावनी

लघुवित्त संस्थाहरुमा सुशासन कायम हुन नसक्दा कार्यगत विचलन आएको र यसले लघुवित्तको भविष्य सुरक्षित नहुने विज्ञहरुले चेतावनी दिएका छन् । ३ दशक लामो लघुवित्तको यात्रामा पहिलो दुई दशक उद्द्ेश्य परक एबं सुसाशित भै लोकप्रीयता हासिल गरे पनि पछिल्लो केही बर्ष देखि लघुवित्त संस्थाहरुमा सुशासन कायम हुन नसकेको वताउदै तत्काल यसको समाधान खोज्नु पर्ने धारणा निजहरुले राखेका छन् ।

स्वावलम्बन विकास केन्द्रले २०७८ असोज १० गते आयोजना गरेको ‟नेपालमा लघुवित्त संस्थाहरुमा सुशासनको अवस्था र चुनौति” विषयक पन्ध्रौँ सम्बाद श्रृखलाका बक्ताहरुले यस्तो धारणा राखेका हुन । सो अवसरमा  वक्ताहरुले सुशासनमा देखिएका चुनौतिहरु औँल्याउदै, यसले लघुवित्त संस्थाहरुमा परेका नकारात्मक असर र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने वारे चर्चा गरेका थिए ।

वेविनारलाई सम्वोधन गर्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले सुशासनको कमी हुदा लघुवित्त क्षेत्र उद्देश्यबाट विमुख हुदै गएकोे र यस तर्फ लघुवित्तकर्मीहरु समयमै सचेत हुनु पर्ने धारणा राखे । लघुवित्त संस्थाहरु अनुशासित नहुँदा लघुवित्त अभियानको प्रमुख उद्देश्य मुलुकको गरिबी निवारणमा पछिल्लो समय ठोस योगदान पुग्न नसकेकोे श्रेष्ठको धारणा थियो । ‟लघुवित्तको शुरुवात जुन उद्देश्यबाट भएको थियो अहिले लघुवित्तले बाटो विराएको अवस्था छ । लघुवित्तकर्मीहरु नसुध्रिए भविष्यमा कुनै वेला पनि ठुलो दुर्घटना हुन सक्छ । कुनै पनि संस्था वा क्षेत्र दिगो रहने वा नरहने भन्ने कुरा सुशासनले निर्धारण गर्ने हो । अहिले लघुवित्त क्षेत्रको वाहिरी आवरण हेर्दा राम्रो देखिन्छ । तर भित्रबाट हेर्दा धेरै समस्याग्रस्त छ । एउटै सदस्यलाई बहुकर्जा । अधिक कर्जा दिने गर्दा समस्या वढ्दै गएको छ । केही संस्थाहरुमा भाखा नाघेको कर्जा करिब २५–३० प्रतिशत सम्म पुगेको छ । कर्जाकोे उचित विश्लेषण नगरी भाखा नाघेको कर्जा उठाउन थप कर्जा दिने गलत परम्परा शुरु भएको छ । समस्या र कमजोरी लुकाउन कर्जा नवीकरण गरी नाफा वढाउने धेरै छन् । यहि अनुरुप गएमा कर्जा अनुसासन उलंघन हुदै जाने र जोखिम कर्जाको भार थेग्न नसक्ने अवस्था आउन सक्छ । साथै अहिले संचालकहरु जती धेरै मुनाफा त्यति धेरै खुशी हुने प्रचलन छ । नाफा वढाउन व्यवस्थापनले ग्राहकको आवश्यकता र क्षमता नहेरी वढी ऋण प्रवाह गर्ने गरेको पाइन्छ ।” श्रेष्ठले भने । साथै श्रेष्ठले सुशासनवाट विमुख संस्थाहरुको नियामक निकायबाट पनि सुरपरिवेक्षण हुनु पर्ने र गलत तगर्नेलाई कारवाही गर्नु पर्ने उल्लेख गरे । ‟लघुवित्तको कारणबाट कति जना ग्राहक गरिबीको रेखा माथि उठे भनेर लघुवित्तले भन्न सक्ने अवस्था छैन् । नेपाल राष्ट्र बैंकले पनि यसमा चाँसो दिएको छैन् । उल्टै लघुवित्त संस्थाले चाहे जति कर्जाको आकार वढाई दिने काम गरेको छ । हुनत लघुवित्त स्वनियमन हुनु पर्ने हो, तर त्यसो हुन सकेको छैन । अव राष्ट्र बैंकले लघुवित्तको लक्षीत बर्ग सम्म पुगी नियमन गर्न सक्ने गरी क्षमता वढाउनु पर्छ । लापरवाही गरी बहुकर्जा तथा अधिक कर्जा दिई वेईमानी गर्ने संस्थाको भारतमा जस्तै ईजाजत खारेज गर्ने व्यवस्था हुनु पर्छ । लघुवित्त स्वच्छ भए उद्यमशीलता वकास र रोजगारी सिर्जना गरी गरिबी निवारण गरेर मुलुकको अनुहार फेर्न सक्ने क्षमता रहेको छ । तर अहिले लघुवित्तले बाटो विराएको छ । अझै पनि सुधार्न सकिने अवस्था छ । त्यसैले स्वावलम्बन विकास केन्द्रले नियमितरुपमा यस्ता छलफल गर्ने फोरम प्रदान गर्दै आएको छ ।” श्रेष्ठको भनाई थियो ।

वेविनारका वक्ता लघुवित्त तथा सहकारी विज्ञ विष्णु प्रसाद पाठकले लघुवित्त तथा सहकारीमा संस्थागत सुशासनको कमी चुनौति वन्दै गएको धारणा राखे । ‟लघुवित्त संस्थाहरुले सञ्चालक, व्यवस्थापक, ग्राहक सदस्य, नियामक निकाय र अन्य विभिन्न सरोकारवालाहरुको सहभागिताबाट रोजगारी सिर्जना तथा गरिबी निवारणको लक्ष हासिल गर्नु पर्ने हो । तर अहिले यसले वाटो विराएको छ । मुनाफा केन्द्रित भएको छ । यसमा नाताबाद कृपावाद पनि छ, राजनीतिक दल वा यूनियन प्रतिको झुकाव राखेर धेरै थरीका स्वार्थ पूरा गर्न पनि प्रयोग भएको देखिन्छ, वित्तीय प्रतिवेदन समेत नक्कली वनाउने गरिन्छ । नियामक निकायको प्रभावकारी भूमिका देखिदैन, अनुगमनको कमजोर अवस्था छ । मुख्य कुरा सुशासनको लागि आवश्यक पर्ने भनेको सहभागिता, उत्तरदायित्व एवं जिम्मेवारी वहन, नियमको पालना, सहकार्य, समावेशिता, प्रभावकारीता र क्षमता जस्ता कुराहरु पालना गर्नु पर्छ । साथै संस्थामा असल प्रणाली वसाउने कुरा छ, संस्थाको आन्तरिक र बाहिरको लेखा परीक्षण अनि फिल्ड अनुगमन र सार्वजनिक लेखा परीक्षण पनि महत्वपूर्ण छन् । हेर्दा यी कुराहरु सहज छन् तर पालना गर्न मानिस निस्वार्थ, नैतिकवान, इमान्दार र उत्तरदायी हुनु पर्छ । यसबाट विमुख भए विभिन्न समस्याहरु आउने छन् । अहिले हामीले यिनै चुनौति भोगेका छौँ र वाटो विराएका छौँ ।” पाठकको भनाई थियो ।

वेविनारका अर्का बक्ता नेपाल माइक्रोफाइनान्स बैकर्स एसोशिएसनका पूर्व अध्यक्ष धर्मराज पाण्डेले लघुवित्तमा आधारभुत कुराबाट हाम्रो समस्या आएको वताए । ‟सदस्य चयन, आवश्यकता विश्लेषण, समुह निर्माण, समुह गठन अघि र पछिको तालिमहरु प्रक्रियागतरुपमा सम्पन्न गर्ने र बचतका कार्यक्रम पनि संगसंगै लाने कुराहरु लघुवित्तको सुन्दर पक्ष हुन र सुशाशन संग सम्वन्धित कुरा हुन । अझ उ वेला प्रतिज्ञा गराएर नैतिकरुपमा समेत वल पुर्याउने गरिन्थ्यो । अहिले लघुवित्त संस्थाहरु यस्ता मर्म, सिद्धान्त र प्रचलित मान्यताबाट विमुख भएका छन् । एउटाले केन्द्र बैठक सकेकोे ठाउँमा अर्को लघुवित्त संस्थाका कर्मचारी गएर ऋण प्रवाह गर्ने काम हुन थाल्यो । अर्थात लघुवित्तको नीति, नियम तथा प्रकृयाको पालन भएको छैन, मुख्य समस्या यही बाट शुरु भएको हो । यसमा मुख्य कमजोरी नियामक निकाय र कार्यान्वयन गर्ने संस्थाको छ । मुलुकमा कति लघुवित्त संस्था आवश्यक छन् भन्ने विश्लेषण गरी ईजाजत दिने काम भएको छैन् । त्यो नियामक निकाएको मुख्य कमजोरी हो । साथै वोर्ड सदस्यहरु पनि सचेत हुनु पर्ने अवस्था छ । त्यस पछि व्यवस्थापन र कर्मचारीहरु पनि लघुवित्तको मर्म र सिद्धान्त अनुसार ग्राहक सदस्य प्रति उत्तरदायी भएर अघि वढ्नु जरुरी छ । नियामक निकायले लघुवित्तक हरेक प्रक्रिया संग परिचित भएर अघि वढ्नु पर्ने हो ।” पाण्डेले भने ।

वेविनारका वक्ता फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले थोक कर्जा प्रवाहक संस्थाहरुले पनि सुशासनको लागि भूमिका खेल्नु पर्ने धारणा राखे । ‟थोक कर्जा प्रदायकसंस्थाहरुले सम्वन्धित संस्थाको सम्पति र कर्जाको गुणस्तर कस्तो छ भन्ने हेर्नु पर्छ । भाखा नाघेको कर्जा र त्यसको अपलेखनको प्रकृयाबारे पनि गहिरो अध्ययन गर्नु पर्ने हुन्छ । यसको लागि किस्ता र व्याज पनि हेर्नु पर्ने जरुरी हुन्छ । लेखा परीक्षणको प्रतिवेदन र साधारण सभा नियमित छ की छैन भन्ने कुरा पनि महत्वपूर्ण मानिन्छ । यो सगै सुशासनका कुराहरु जस्तै सञ्चालक समितिको नियमित बैठ्क वसे नवसेको, उपसमितिहरुको विचमा छलफल भए नभएको, छलफलहरुमा पर्याप्त अन्र्तक्रिया र सहभागिता भए नभएको तथा निर्णयहरु उपर छलफल भए नभएको र निर्णयको कार्यान्वयन भए नभएकोबारे हेर्नु पर्ने जरुरी हुन्छ ।” पन्थीको भनाई थियो ।

वेविनारका सहजकर्ता छिमेक समाज सेवा केन्द्रका अध्यक्ष राम चन्द्र जोशीले लघुवित्तमा शुसाशन कायम गर्न प्रमुख कार्यकारी अधिकृतको प्रमुख भूमिका हुने वताए । ‟शुसाशनको लागि प्रमुख कार्यकारी अधिकृत पहिला आफू अनुशासनमा वसेर लघुवित्तको मर्म र भावना अनुरुप काम गर्नु पर्छ । अनि वोर्ड र कर्मचारीलाई पनि सही बाटोमा हिँडाउन सक्नु पर्छ र सकिन्छ । अर्को कुरा प्रमुख कार्यकारी अधिकृतले ग्राहक सदस्य प्रति उत्तरदायी र जिम्मेवार भएर उनीहरुको अवस्था माथि उकास्ने खालका कार्यक्रममा जोड दिनु पर्छ । त्यसै अनुसार कर्मचारी प्रशिक्षीत र परिचालन गर्नु पर्छ । यसो भएको खण्डमा सुशासन पनि कायम हुन्छ र संस्था पनि आर्थिक रुपले वलियो तथा दिगो हुन्छ । यस्ता महामारी संग डराउनु पर्ने अवस्था रहदैन ।” जोशीले भने ।

खुला छलफलको क्रममा नेपाल ग्रामीण विकास समाज केन्द्रका अध्यक्ष मणी कुमार अज्र्याल, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष राम कुमार श्रेष्ठ, प्रमुख कायकारी अधिकृत उदयराज खतिवडा लगायतले आफ्नो धारणा राखेका थिए । वेविनारमा ३१ वटा लघुवित्त, सहकारी, विकास बैंक तथा गैरसरकारी संस्थाका १२५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समाचार