स्वावलम्बन विकास केन्द्र

१३ जना लघुवित्तकर्मीले पुरा गरे १० दिने प्रशिक्षक प्रशिक्षण तालिम

स्वावलम्बन विकास केन्द्रको समन्वयमा २०८१ बैशाख १२ देखि २१ सम्म ९ वटा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका १३ जना लघुवित्तकर्र्मीले प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमि भक्तपुरबाट १० दिने प्रशिक्षक प्रशिक्षण तालिम पुरा गरेका छन् । तालिममा लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका तालिम तथा उद्यमशीलता विकास विभागका अधिकारीहरुको सहभागिता रहेको थियो ।

 

तालिम उद्घाटनको अवसरमा बोल्दै प्र्रतिष्ठानका कार्यकारी निर्देशक डा. अनोज भट्टराईले प्राविधिक प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षक प्रशिक्षण कार्यक्रम अन्तर्गत कुशल तथा दक्ष श्रोत व्यक्तिहरु उत्पादन गर्ने लक्ष अनुरुप काम गर्दै आएको र यसपटक देखि स्वावलम्बन विकास केन्द्रको संयोजनमा लघुवित्तकर्मीहरुलाई प्रशिक्षण विधामा दक्ष बनाउने शुरुवात भएको जानकारी दिनु भयो ।
तालिम कार्यक्रम समापनको अवसरमा केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले तालिममा सिकेको सीप लघुवित्त क्षेत्रलाई मूल्य मान्यता अनुरुप अघि वढाउन र लक्षित वर्गमा वित्तीय साक्षरता फैलाउनमा प्रयोग गर्ने अपेक्षा रहेको बताउनु भयो । साथै उहाँले तालिमको सिकाई कार्यक्षेत्रमा फर्केर आफ्ना सहकर्मीहरुलाई सिकाउन, बुझाउन पनि आग्रह गर्नु भयो ।

सो अवसरमा प्राविधिक प्रशिक्षण प्रतिष्ठानका तालिम निर्देशक अरविन्द चौधरीले कार्यस्थलमा फर्केर तालिमहरु गरे मात्रै सिकाइको औचित्य र उपादेयता हुने धारणा राख्नु भयो ।
स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्था तथा लघुवित्तकर्मीको क्षमता विकासमा स्वावलम्बन विकास केन्द्रले विभिन्न अवसरहरु प्रदान गर्ने क्रममा  प्राविधिक प्रशिक्षण प्रतिष्ठान सँगको सहकार्यमा १० दिने प्रशिक्षक प्रशिक्षण तालिम संयोजन गरेको जानकारी दिनु भयो । साथै उहाँले दक्ष तथा अनुभवी प्रशिक्षक र सरकारी मान्यता प्राप्त प्रशिक्षण कोर्ष भएको कारण लघुवित्त संस्थाहरुले वर्तमान कठिन अवस्थाको वावजूद पनि १० दिन लामो तालिमको अवसर जुराएको र यसको उचित उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

तालिमको सहजीकरण प्राविधिक प्रशिक्षण प्रतिष्ठानका मिना खरेल, राजु श्रेष्ठ र विश्वास गुरुङले गर्नु भएको थियो । सहजकर्ताहरुले कुशल तथा सफल प्रशिक्षक बन्न आवश्यक चारवटा विषयहरु, पाठ्यक्रम वा शैक्षिक सामाग्रीको डिजाइन गर्न, निर्माण गर्न, लागु गर्न र त्यसको मूल्यांकन गर्नमा सक्षम हुने गरी सैद्धान्तिक, व्यवहारिक तथा अभ्यास कक्षाहरु सञ्चालन गर्नु भएको थियो । उक्त पाठ्यक्रममा सीप तथा ज्ञानको पहिचान गर्ने, अन्तिम कार्यसम्पादन उद्देश्य लेखन तथा मूल्यांकन, पाठयोजना निर्माण र प्रयोग, पाठ्यक्रम निर्देशिकाको निर्माण र प्रयोग, लगबुकको प्रयोग, प्रस्तुतिकरण निर्देशिकाको निर्माण तथा प्रयोग लगायतका विषयहरु समेटिएका छन् । साथै प्रशिक्षकमा हुनु पर्ने सीपहरु प्रस्तुतिकरण, प्रश्न गर्ने तरिका, पृष्ठपोषण लिने तरिका आदि बारे पनि सिकाईएको थियो । तालिमको अवसरमा प्रशिक्षण कार्यलाई वातावरणमैत्री तथा र लैङिकमैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयहरु समेटिएका थिए ।

तालिम समापन अवसरमा सहभागीहरुको तर्फवाट बोल्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका मुक्ति यादव र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका टिका काफ्लेले असल स्रोतव्यक्ति कसरी वन्ने वारे १० दिन सम्म सिकेको कुरा कार्य स्थलमा उपयोगी हुने धारणा राख्नु भएको थियो ।

स्वावलम्बन विकास केन्द्रका चार जना अधिकारी दिक्षित

२०८० बैशाख १२ देखि २१ गते सम्म सञ्चालन भएको १० दिने प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमवाट स्वावलम्बन विकास केन्द्रका चार जना अधिकारी दिक्षित भएका छन् । उक्त कोर्ष पुरा गर्नेमा केन्द्रका बरिष्ठ अधिकृत रेणु प्रजापति, अधिकृत द्वय चन्द्र कान्त पण्डित र विज्ञा ज्ञवाली र बरिष्ठ सहायक सरु मगर रहेका छन् ।

केन्द्रले आफ्ना कर्मचारीहरुको क्षमता विकास कार्यक्रम अन्तर्गत उनीहरुलाई आगामी दिनमा स्रोत व्यक्तिको रुपमा विकास गर्न र थप क्षमता विकास गर्न उक्त अवसर प्रदान गरेको हो ।
नेपाल सरकार प्राविधिक प्रशिक्षण प्रतिष्ठान भक्तपुरले प्रदान गरेको उक्त तालिम कोर्ष नेपाल सरकारले मान्यता प्रदान गरेको कोर्ष हो ।

समाचार