स्वावलम्बन विकास केन्द्र

केन्द्रद्वारा लघु उद्यमी सदस्यहरुलाई डिजिटल साक्षरता सम्बन्धी तालिम कार्यक्रमको थालनी

हाल विश्व बजारमा डिजीटलाइजेशनको कारण हरेक किसिमका सामान उपभोक्तहरुको पहुँचका साथै सहज र सरल रहेको छ । विश्वका धेरै धनी देशमा रहेको व्यवसायहरु विश्वभरीको बजारमा फैलनका निम्ती डिजीटलाइजेशनको प्रयोग भई रहेको देखिन्छ । उपभोक्तहरुका आवश्यकता पुरा गर्ने र सन्तुष्टी प्रदान गर्ने क्रम तिब्र रुपमा बढ्दै गएको पाइन्छ । लघुवित्तका ग्राहक सदस्यहरुको लागि समेत डिजिटल बजारीकरण एक अपरिहार्य र उपयुक्त भएको कारण यस अवसरको उच्चत्तम उपयोग गर्नका निम्ती स्वावलम्बन विकास केन्द्रले लघुवित्त गर्ने संस्थाका उद्यमी सदस्यहरु माझ डिजिटल साक्षरता सम्बन्धि सचेतना बढाउन तथा डिजिटल बजारमा सहज पँहुच पुर्याउनका निम्ती उनीहरुको आवश्यक सीप एवं दक्षता अभिबृद्घि गर्नका लागि डिजिटल साक्षरता तालिमको शुरुवात गरेको छ ।
जस अनुसार मिति २०८१ साल असार ११ देखि १३ सम्म लघु उद्यमी ग्राहक सदस्यहरूका लागि “डिजिटल साक्षरता” विषयक ३ दिने प्रशिक्षण कार्यक्रम होटल हार्दिक, काठमाडौं मा आयोजना गरिएको थियो । डिजिटल बजारमा प्रबेश गर्नुको साथै बजार र व्यवसाय विस्तार गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ उक्त तालिमको आयोजना गरिएको थियो ।

तालिमको सहजीकरण केन्द्रका वरिष्ठ तालिम अधिकृत श्री रेणु प्रजापति, वातावरण तथा उद्यमशीलता विकास अधिकृत श्री विज्ञा ज्ञवाली; तालिम शाखाका श्री सरु मगरबाट भएको थियो । यसको साथै माइक्रोसेभ कन्सल्टेन्सी सर्भिसेज नेपालका सहायक प्रबन्धक श्री अंकुर श्रेष्ठ र लोकप्रिय ब्रान्डिङ विज्ञ श्री सौरभ थापा श्रेष्ठले समेत तालिमको सत्रहरु सहजीकरण गर्नु भएको थियो ।
तालिम कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै केन्द्रका कार्यकारी प्रमुख श्री बेचन गिरीले नुन देखि सुन सम्मका विभिन्न उत्पादनको बिक्रीलाई सक्षम बनाउन डिजिटल बजारको प्लेटफर्महरु सक्षम भएको हुँदा लघुवित्तका उद्यमी सदस्यहरुले यसको महत्व र प्रभावकारीता बुझेर सोही अनुसार नयाँ विकसित डिजिटल उपकरणहरुको प्रयोगमा आफूलाई दक्ष र सक्षम बनाउनु पर्नेमा जोड दिनु भयो । साथै लघुवित्तले समेत डिजिटलाइजेशन प्रविधिको विकासबाट फाईदा लिन सक्ने अभिव्यक्ति दिनु भएको थियो ।
तालिम सत्रहरूमा, सहभागीहरूले डिजिटलाइजेसन प्रक्रिया अवलम्बन गरी सफल व्यवसाय वा उद्यमहरूको विकास, व्यवस्थापन गर्ने, व्यवसायको दीर्घकालीन लक्ष्यहरूको लागि बजारको आधारहरु तय गर्ने, बास्तविक उपभोक्ताहरूको पहिचान गर्ने आदि विषयमा ज्ञान र सीप विकास गर्ने कोशिश गरिएको थियो । सहभागीहरुले गुगल ई–मेल खाता खोल्न र– सरकारी बैधानिकताका लागि व्यवसाय दर्ता गर्ने, प्यान नं. आवद्ध हुने प्रक्रिया आदिबारे समेत जानकारी प्राप्त गरे । यसको साथै मोबाइल बैंकिङका लागि एपहरू कसरी डाउनलोड गर्ने र मोबाइल बैंकिङका विभिन्न कार्यहरू, अनलाइन कारोवारका जोखिमहरू जस्तै ओटिपी, स्क्याम अलर्टहरू, अनाधिकृत पैसा स्थानान्तरण र साईबर–आक्रमणहरु द्वारा ह्याकिङ (फिसिङ) षडयन्त्रहरू बारे समेत जानकारी गराइएको थियो ।

तालिम सत्रमा सहभागीहरुलाई हाल चलन चल्तिमा रहेका ई सेवा, खल्ती, आईएमई पे जस्ता विभिन्न डिजिटल भुक्तानी माध्यमहरु को प्रयोग गर्ने अभ्यास समेत गराइएको थियो । तालिमले समेटेको अर्को महत्वपूर्ण विषय भनेको डिजिटलाइजेसनको अवसर र फाईदा   जसबाट उद्यमीहरुको आय आर्जनका साथै व्यवसायमा भएको कारोवार सुरक्षित राखी उक्त तथ्यलाई सम्भावित वित्तीय जोखिम व्यवस्थापन, कानूनी सुरक्षा, रणनीतिक योजना निर्माण आदिमा प्रयोग गर्न सकिने बारे सूचना एवं जानकारी गराइएको थियो ।
तलिमका दौरान हाल देशमा चलनचल्तीमा रहेका विभिन्न ई–कमर्स प्लेटफर्महरूमा बिक्रेताको आवश्यक मापदण्ड, सूचिकृत हुने प्रकृया र औपचारिकताहरू बारेमा समेत जानकारी गराईएको थियो । साथै डिजिटल बजारको लागी आवश्यक ब्रान्डिङ र प्याकेजिङको महत्व र यस बाट हुने फाइदा, ब्रान्डिङ र प्याकेजिङ गर्ने तरिका बारे पनि सहभागीहरूलाई सिकाइएको थियो । उत्पादन विवरणको यथेष्ट जानकारी, मूल्य एवं खरिदकर्ताको विश्वास र विश्वसनीयता र प्रतिस्पर्धी बजारमा व्यापार वृद्धि गर्न आवश्यक महत्वर्पूण विषयहरु समेत तालिममा समावेश गरिएको थियो । साथै सफल व्यवसायहरूको शुरुवात र व्यवस्थापन गर्न चाहिने दीर्घकालीन लक्ष्यहरू तय गर्न समेत सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।

तलिममा केन्द्रका विभिन्न ७ वटा संस्थागत सदस्यबाट जम्मा १८ जना लघु उद्यमी सदस्यहरुको सहभागीता रहेको थियो । तालिममा सहभागी हुने संस्थाहरुमास् नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लि., उपकार लघुवित्त वित्तीय संस्था लि., महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था लि., छिमेक लघुवित्त वित्तीय संस्था लि., स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि., जीवन विकास लघुवित्त वित्तीय संस्था लि. रहेका थिए ।
तालिम कार्यक्रम सिंगापुरमा मुख्य कार्यालय रहेको ग्लोबल माइक्रोफाइनान्स कन्सल्टेन्सी फर्म (माईक्रो सेभ) सँगको सहकार्यमा आयोजना गरिएको थियो ।

समाचार