स्वावलम्बन विकास केन्द्र

लघुवित्तको प्रभावकारिता बढाउन गरीबी मापन विधि अवलम्बन गरी अघि बढ्न आवश्यक

गरीब तथा विपन्न बर्गलाई वित्तीय पहुँच पुर्याएर उनीहरुको आर्थिक र सामाजिक अवस्था माथि उठाउने मुख्य लक्षका साथ शुरु भएको लघुवित्त कार्यक्रमले तीन दशक पुरा गरेको छ । यो अवधिमा गरीब र विपन्न समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गरेको छ । तर हाल सम्म कति ग्राहक सदस्यलाई गरीबीको रेखा भन्दा माथि उठाउन सक्यो भन्ने आँकडा छैन् । साथै गरीबी निवारणको प्रमुख अभियान पनि योजनाबद्ध तरिकाले कार्यान्वयन हुन सकेको छैन् । यही आवश्यकतालाई मध्यनजर गर्दै स्वावलम्बन विकास केन्द्रले लघुवित्तमा गरीबी मापन विधि ९एचयनचभकक यगत एयखभचतथ क्ष्लमभह० को आवश्यकता र महत्व बुझाउने कार्य अघि बढाएको छ । यही सन्दर्भमा २०७९ कार्तिक २२ मा “लघुवित्तमा गरीबी मापन विधिको प्रयोग” विषयक अनलाइन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्य लघुवित्तकर्मीहरु माझ गरीबी मापन विधिको अवधारणा, उद्देश्य, आवश्यकता तथा फाईदाहरू बारे जानकारी गराउनु थियो । गरीबी मापन सूचकांक (पीपीआई) गरीबीको स्तर पहिचान गर्न प्रयोगमा आएको एक अन्तर्राष्ट्रिय स्तरको सहज र सरल विधि हो । यसले गरीबी निवारण गर्न सकिने सम्भावनाहरू बारे पनि आँकलन गर्न सघाउँछ । साथै यसले सरकार तथा सामाजिक रूपमा सम्बद्ध संस्थाहरूलाई गरिबीको रेखामुनि रहेका मानिसहरूलाई सहयोग गर्ने रणनीति र कार्यक्रम तयार गर्न पनि मद्दत गर्छ ।

अभिमुखीकरणको अवसमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तमा गरीबी मापन विधिको प्रयोग अपरिहार्य रहेकोले स्वावलम्बन विकास केन्द्रले यसलाई अघि बढाउन समन्वयकारी भूमिका खेल्न लागेको बताउनु भयो । “नेपालमा गरीबी मापन विधि तालिम आरएमडीसीको समन्वयमा एक दशक पहिले दुई ब्याच तालिम सञ्चालन गरिएको थियो र प्रमुख कार्यकारी अधिकृतहरुको लागि यो विधिमा प्रयोग गरिने सूचकहरू बारे सम्बादको आयोजना पनि गरिएको थियो । यद्यपि, जीवन विकास बाहेक कुनै पनि संस्थाले गरीबी मापन विधि अवलम्बन गरेनन् । हाल कति सदस्य गरीबीबाट बाहिर निस्किए भन्ने प्रश्न गर्दै विभिन्न व्यक्ति, संघसंस्था र संगठनहरूबाट लघुवित्त वित्तीय संस्थाको आलोचना गर्न थालेका छन् । यो विधिले ती आलोचकहरूलाई जवाफ दिन सक्छ । गरीबी मापन विधिले हामीलाई गरीबीको स्तरबाट माथि उठेका लघुवित्तका सदस्यहरूको तथ्याङ्क पनि दिनेछ । लघुवित्तले पहिला भएका सहभागितामुलक सम्पति स्तरीकरण र पूर्व समुह प्रशिक्षण जस्ता विधिहरू प्रयोग गर्न छाडेका छन् । त्यसैले अब सीईओहरूले गरीबी मापन विधि प्रयोग गर्नु पर्छ ।” श्रेष्ठले भन्नु भयो ।

अन्तरक्रियाको सहजीकरण जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डल र बरिष्ठ प्रबन्धक सुदीप कुमार मण्डलले गर्नु भएको थियो । सो अवसरमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना ग्राहकहरूलाई लघुवित्त सेवा उपलब्ध गराउनु अघि र पछि गरिबीको स्तर नाप्नका लागि अपनाएको विधि, पद्धति र प्रकृयाबारे प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले गरीबी मापन विधिले सामान्यतया लघुवित्त संस्थाबाट ऋण लिए पछि सदस्यले गरेको सामाजिक–आर्थिक प्रगतिको अवस्था मापन गर्ने र समय–समयमा अद्यावधिक गरी आफ्ना ग्राहक सदस्यको अवस्था बुझ्न सकिने बताउनु भयो । “कर्मचारी र लघुवित्तका सबै सरोकारवालाहरुको मिहिनेत, लगनशीलता र प्रतिबद्धताका कारण अधिकांश लघुवित्त संस्थाहरुले ठूलो प्रगति गरेका छन् । तर लघुवित्त संस्था गरीब केन्द्रित हुन सकेनन् भन्ने आरोप छ । हामीले गरेका राम्रा कामको बारे अरुलाई जानकारी गराउन सकेका छैनौँ । हामीले के गरेका छौँ भन्ने कुरा देखाउन यो जरुरी छ । हामीले अब आफैले गरेको कामको प्रभाव के पर्यो, त्यसको परिणामहरु मापन गर्नुपर्छ ।” मण्डलले भन्नु भयो ।

उहाँले जीवन विकासले केही सूचकहरू विकास गरी गरीबी मापन विधिको शुरुवात गरेको जानकारी दिनु भयो । “जीवन विकासले सदस्यहरूमा गरिबीको स्तर जाँच गर्न दस वटा सूचकहरू बनाएको छ । शुरुमा कार्यविधि बनाएर परीक्षणको रुपमा एउटा शाखाबाट यसको शुरुवात गरिएको थियो । यसलाई अझ सहज र व्यावसायिक बनाउन अहिले हामीले सर्वेक्षण सञ्चालन एपहरू प्रयोग गरेका छौ ं। जीवन विकासले आफ्ना सदस्यहरूको जीवनस्तरमा भएको प्रगतिको स्तर जाँच गर्न प्रत्येक दुई वर्षमा पीपीआई सञ्चालन गर्ने योजना बनाएको छ । हामी नयाँ आर्थिक वर्षको प्रारम्भ पछि पीपीआई सञ्चालन गर्नेछौँ । दोस्रो पटक पीपीआई सञ्चालन गरेपछि हामीले हाम्रा सदस्यहरूलाई लघुवित्त सेवा उपलब्ध गराएपछि कति प्रगति गरे भन्ने नाप्न सक्नेछौँ । पीपीआईले सदस्यहरूले गरेको वित्तीय प्रगति मापन गर्दैन । यसले सदस्यको छुट्टै भान्छा, शौचालय, सुत्ने कोठा र अन्य आधारभूत सुविधाहरू लगायत समग्रमा सदस्यहरूको जीवनस्तरमा भएको प्रगति मापन गर्छ । यो विधि अनुसार काम गरे हामीले समग्र लघुवित्त क्षेत्रले गरिबी न्यूनीकरण र विपन्नको जीवनस्तर वृद्धिमा परेको प्रभाव निर्धारण गर्न सक्छौँ ।” मण्डलले भन्नुभयो । पीपीआई लागु गर्दा आउन सक्ने समस्या र कठिनाईबारे मण्डलले भन्नुभयो “यदि कर्मचारीहरू सदस्यहरूको घरमा नगएर विवरण राख्छन् भने यसले सही परिणाम ल्याउन सक्दैन् । यसको लागि हामीले सफ्टवेयरमा उनीहरूको स्थान ट्रयाक गर्ने प्रणाली विकास गरेका छौँ । त्यसैगरी, डाटा सङ्कलनकर्ता र गणनाकर्ताले प्रश्नावली भर्दा गल्ती गर्न सक्छन् । गल्तीहरू कम गर्नको लागि हामीले भरिएको प्रश्नावली शाखा प्रबन्धकबाट प्रमाणित गर्न आवश्यक छ । हामीले प्रश्नावली भर्नको लागि समय सीमा विकास गर्न पनि आवश्यक छ ।”

अर्का सहजकर्ता सुदीप मण्डलले नेपालमा गरीबी मापन विधिको शुरुवात लगायत, यसको आवश्यकता र महत्व, प्रकृया र फिल्डमा यसको प्रयोग कसरी गर्ने भन्ने बारे प्रष्ट पार्नु भएको थियो । “पीपीआई ग्रामीण फाउन्डेसन, बंगलादेशले सिजीएपीको सहयोगमा सन् २००५ मा शुरु गरेको थियो । सन् २०१० मा नेपाल जीवनस्तर सर्वेक्षण गरिएको थियो र पीपीआईको लागी प्रश्नावली को नयाँ सूचकहरुको विकास गरिएको थियो । त्यसै गरी सन् २०१३ देखि २०१६ सम्म आरएमडीसीले गुड रिटर्नको सहयोगमा पीपीआई सम्बन्धी तालिम कार्यक्रम नेपालमा आयोजना गरेको थियो । पीपीआई विश्वका ४६ देशहरूमा प्रयोगमा छ । पीपीआईमा एक सदस्यको लागि दस वटा प्रश्नावलीहरू छन् । हरेक प्रश्नावलिमा जवाफको आधारमा अंकहरु (क्अयचभ) दिइन्छ । समग्र स्कोर उसको गरिबीको जीवनस्तर निर्धारण गर्न प्रयोग गरिन्छ । प्रारम्भमा हामीले भौगोलिक स्थान र सर्वेक्षणको प्रकार, नमुना वा विधि निर्धारण गर्नुपर्छ । त्यसपछि हामीले प्रश्नावलीहरू विकास गर्नुपर्छ र घरदैलो पुगेर सर्वेक्षण गर्नुपर्छ । समग्र सर्वेक्षण सञ्चालन गर्नु अघि पाइलट सर्वेक्षण गर्नु राम्रो हुन्छ । नमुना सर्वेक्षण प्रभावकारी र समय सापेक्ष हुने भए पनि यसले देशको समग्र चित्र प्रस्तुत गर्दैन । त्यसैले जीवन विकासले प्रत्येक सदस्यको वास्तविक तस्वीर पत्ता लगाउन जनगणना सर्वेक्षण विधि सञ्चालन गरेको छ । साथै प्रत्येक सदस्यको विशेषता अनुरूप केही फरक प्रश्नावली पनि बनाएको छ । हाम्रो सर्वेक्षण अनुसार हामीले एउटै शाखामा दुई अति गरिब परिवारका सदस्यहरू भेट्टाउन सफल भयौँ । अव उनको सामाजिक–आर्थिक अवस्थालाई कसरी उकास्ने भन्नेमा हामी काम गरिरहेका छाँं । दुई वर्षपछि अर्को ब्याचको सर्वेक्षण सञ्चालन हुँदा हाम्रो कामले उसलाई अघिल्लो अवस्थाबाट उत्थान गरेको छ कि छैन थाहा पाउनेछौँ ।” उहाँको भनाई थियो ।

मण्डलले सर्भे गर्दा कर्मचारीले ध्यान दिनु पर्ने कुरा पनि सुझाउनु भएको छ । जसमा पीपीआई सर्वेक्षण अनिवार्य सदस्यहरूको घरमा सञ्चालन गरिनु पर्ने, एक सर्वेक्षण फारम सम्पूर्ण सदस्यको लागि हुनु पर्ने, प्रश्न घरपरिवारका सके सम्म धेरै सदस्यलाई सोध्नु पर्ने, प्रश्नावली र उत्तरलाई अन्तिम रूप दिएपछि फेरबदल नगर्ने, सर्वेक्षण अघि सर्वेक्षणको संक्षिप्त पृष्ठभूमि उपलब्ध गराउनुपर्ने, सर्वेक्षणको उद्देश्य र उपलब्ध गराइएको जानकारी कसरी प्रयोग गरिन्छ भन्ने बारे सदस्यहरूलाई जानकारी गराउनु पर्ने, सदस्यको मनोबल घटाउने गरी प्रश्न गर्न नहुने लगायतका कुराहरु रहेका छन् ।

कार्यक्रममा १६ वटा लघुवित्त संस्था तथा लघुवित्त गर्ने सहकारी संस्थाका २१ जनाको सहभागिता रहेको थियो ।

समाचार