स्वावलम्बन विकास केन्द्र

झापामा उद्यमशीलता विकास तालिम सम्पन्न: ६५ जना लघुवित्तकर्मी लाभान्वित

लघुवित्त सञ्चालन गर्ने संस्थाहरुमा पछिल्लो समय खराब कर्जाको दर बढ्दो क्रममा छ । ग्राहक सदस्यहरुले अनुत्पादक क्षेत्र र घरायसी प्रयोजनका निम्ती ऋण उपभोग गर्ने प्रचलन पनि बढेको छ । जसले गर्दा संस्थाहरुलाई कर्जा असुलीमा समस्या सुरु भएको छ । सदस्यहरु ऋणको भारले थिचिएको छन् । अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहित गर्दै असल सदस्यलाई सफल उद्यमी बन्न र आर्थिक रुपमा आत्मनिर्भर बन्न सघाउनु पर्ने तड्कारो आवश्यकता देखिएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै स्वावलम्बन विकास केन्द्रले झापामा दुईवटा तीन दिने उद्यमशीलता विकास तालिम कार्यक्रमको आयोजना गरेको छ । मिति २०८१ साउन २४ देखि २६ सम्म चारपाने, झापामा सहारा नेपाल साकोस लि.का कर्मचारीहरुका निम्ती र मिति २०८१ साउन २७ देखि २९ सम्म नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.का कर्मचारीहरुको लागि केर्खामा आयोजना गरिएका थिए । शाखा प्रबन्धक तथा फिल्ड कर्मचारी लक्षित उक्त तालिमहरुमा सहारा साकोस लि.बाट ३० जना र नवोदयबाट ३५ जना गरी ६५ जना लघुवित्तकर्मीहरु लाभान्वित भएका थिए ।
तालिमका सहभागीहरुलाई संस्थामा रहेका असल ऋणीहरुको उद्यमशीलता विश्लेषण गर्नुका साथै उद्यमका जोखिमहरुको न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने उपायहरु बारे जानकारी गराईएको थियो । उद्यम, व्यवसाय सु–व्यवस्थित र दिगोपना दिनका लागि आवश्यक सीप तथा दक्षता प्रदान गर्ने मूल उद्देश्यले आयोजना गरिएको यस तालिममा स्थानिय तहमा कार्यान्वयनमा रहेका विभिन्न उद्यम विकास कार्यक्रमहरुबाट प्राप्त हुन सक्ने सम्भावित अवसरको उपयोग कसरी गर्ने र कर्मचारीहरुले दिर्घकालिन रुपमा उद्यमशीलता विकासका निम्ती खेल्नु पर्ने आवश्यक भूमिका तथा गर्नु पर्ने मुख्य कामहरुको सम्बन्धमा अभिमूखिकरण समेत गराइएको थियो । साथै संस्थाको विभिन्न सामाजिक कार्यक्रमहरुलाई उद्यमशीलता विकास सँग कसरी जोडन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराईएको थियो ।
तालिममा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई  लक्षित गरी उपयुक्त र जोखिम रहित उद्यम, व्यवसाय छनोट गर्ने, वस्तुको सहि मूल्य निर्धारण सहि उद्यम पहिचानका तरिका, विभिन्न उद्यको पक्षहरुको विश्लेषण, जोखिम न्यूनिकरण विधि आदि बारे पनि प्रशिक्षण दिइएको थियो ।
तालिम कार्यक्रमको सहजीकरण केन्द्रका निर्देशक सतिश श्रेष्ठ, वरिष्ठ अधिकृत रेणु प्रजापति, वरिष्ठ सहायक सरु मगरका साथै जीवन विकास लघुवित्त वित्तीय संस्था लि. का आन्तरिक लेखा अधिकृत ग्रिष्म श्रेष्ठ तथा सहारा नेपाल साकोस लि.का तालिम अधिकृत नविन लामिछानेले गर्नु भएको थियो ।
मिति २०८१ साउन २४ देखि २६ सम्म सहारा नेपाल साकोस लि.का कर्मचारीहरुको निम्ती प्रदान गरिएको तालिम कार्यक्रमको समापन समारोहमा प्रमूख अतिथि संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं स्वावलम्बन विकास केन्द्रका प्रबन्ध समितिका उपाध्यक्ष श्री महेन्द्र कुमार गिरी ज्यूले गर्नु भएको थियो । उहाँले सफल सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।
यस्तै मिति २०८१ साउन २७ देखि २९ सम्म नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि.का कर्मचारी एवं सञ्चालकहरुलाई प्रदान गरिएको तालिम कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि, संस्थाका अध्यक्ष श्री सरन कुमार पराजुली ज्यूले गर्नुका साथै सहभागीहरलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।

समाचार